माविस्तरीय प्याब्सन स्पोर्टस मिट सुरु

पोखरा ।
पोखरामा सोमबारबाट माविस्तरीय (कक्षा ९–१२) लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अगनाइजेसन (प्याब्सन) कास्कीको आयोजनामा यो स्पोर्टस मिट ३ दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले सुरुआत गरे । निर्देशक आचार्यले विद्यार्थीमा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्दै शिक्षकहरुका बीच समेत यस प्रकारका कार्यक्रम ल्याइनुपर्ने जोड दिए । जिल्ला शिक्षा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्यले शिक्षाको विकासका लागि खेलकुद सिकाईको अभिन्न पाटो रहेको उल्लेख गरे ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले बालबालिकाको सर्वांगिण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले राष्ट्रको गौरव बढाउन खेलकुद अपरिहार्य रहेको उल्लेख गरे ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीले समेत बोलेका थिए ।
सो अवसरमा प्याब्सन कास्कीले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थी तथा विद्यालयलाई ट्रफी तथा प्रमाणपत्रसमेत वितरण गरिएको छ । स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिस हुने स्पोर्टस मिट प्रचारप्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुलटेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र–छात्रा डबल्समा १४–१४ टिमको सहभागिता छ ।
सोमबार भएको छात्र भलिबलमा सोसियल पब्लिकले वेष्ट पोइन्टलाई २५–१८, २५–१४ ले, पश्चिमाञ्चलले विद्या निकेतनलाई २५–११, २५–१४ ले, केफले प्रतिभालाई २६–२४, २८–२६ ले, टप्सले पोखरा लनर्सलाई २५–४, २५–९ ले, स्पाइरल ग्यालेक्सीले हाभर्डलाई २५–१२, २५–१८ ले हराएका छन् । रेन्बोले एक्स आर्मीलाई २५–११, २५–१४ ले, ताराकुञ्जले बालप्रभातलाई १५–२५, २५–२१ र २५–१९ ले, गुरुकुलले पोखरा युनाइटेडलाई २५–१२ र २५–१५ ले जित्दै दोस्रो चरणमा प्रवेश गरेको भलिबल संयोजक मोहनलाल पौडेलले जानकारी दिए ।
छात्रा भलिबलतर्फ टप्सले विभूतिलाई २५–४, २५–६ ले, गुरुकुलले पश्चिमाञ्चललाई २५–२२, २५–१४ ले, नेसनल इन्भेन्टिभले नेपाल आदर्शलाई २५–२१, २५–१४ ले, केफले पोखरा युनाइटेडलाई २५–१६, २५–१२ ले र प्रतिभाले सवलाइमलाई २५–१५, २५–१३ को सोझो सेटमा पराजित गरे । बास्केटबल छात्रतर्फ सोमबार ८ खेल भएका छन् ।
तपाईको प्रतिक्रिया