जुनियर तथा युवा रेडक्रसको राष्ट्रिय गोष्ठी पोखरामा

समाधान संवाददाता २०८० मंसिर २६ गते १३:१५

पोखरा ।
देशभरका जुनियर तथा युवा तथा शिक्षक नायकमा मानववीय सेवा एवं स्वयंसेवी भावना विकास गर्नका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जुनियर तथा युवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी गर्न लागेको छ ।


‘विश्वव्यापी रुपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तीकृतः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने नाराका साथ ७ र ८ पुसमा पोखरामा राष्ट्रिय गोष्ठी गर्न लागेको रेडक्रस केन्द्रीय जुनियर युवा विभागका सभापति विष्णुप्रसाद नेपालले जानकारी दिए ।


उनले रेडक्रसका गतिविधि, जुनियर तथा युवा रेडक्रसका नीति, कार्यक्रमका साथै अनुभव आदानप्रदान गर्नका निम्ति गोष्ठी गर्न लागेको बताए । कोभिड १९ को प्रकोपका कारण ४ वर्षयता गोष्ठी हुन सकेको छैन । नेपाल रेडक्रसमा ६ हजार ५ सय ३८ जुनियर तथा युवा सर्कलमा ८ लाखभन्दा बढी सदस्य छन् ।

Advertisement


गोष्ठीमा देशका ७७ जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधि, शिक्षक नायक, केन्द्रीय पदाधिकारी तथा सदस्य, दातृ निकायका प्रतिनिधि, जिल्ला तथा सर्कलका प्रतिनिधि र कर्मचारी गरी ३ सयभन्दा बढी प्रतिनिधिले भाग लिने छन् ।


‘२२ फागुन २०२१ मा ‘म सेवा गर्छु’ भन्ने मुल मन्त्रका साथ जुनियर तथा युवा रेडक्रस गठन भएको हो,’ उनले भने, ‘अहिले विश्वविद्यालय, विद्यालय तथा समुदायमा जुनियर तथा युवा रेडक्रस गठन भई मानवीय सेवा तथा युवाको क्षमता विकासमा सक्रिय छन् ।’

Advertisement


नेपाल रेडक्रस सोसाइटी कास्कीम सभापति डण्डराज शर्माले जुनियर तथा युवा रेडक्रसको गोष्ठी रेडक्रस अभियानको महत्वपूर्ण पक्ष भएको सुनाए । उनले सम्बन्धित क्षेत्रका विषय विज्ञले प्रदान गर्ने रक्तदानको महत्व, जलवायु सचेतना र यसका लागि जुनियर युवाको भूमिका, जुनियर युवाको अनुभव आदान प्रदान, साइबर सुरक्षा सचेतना, परिवर्तक अभियानः द चेञ्ज मेकर, वास इन स्कुल लगायत सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गोष्ठीका आकर्षण हुन् ।


नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा हुने गोष्ठीको व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले लिएको छ ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सुरेन्द्र गुरुङले गोष्ठीमा जुनियर तथा युवा रेडक्रस नीति तथा कार्यप्रणाली निर्देशिका र युवा सहभागिता रणनीतिसम्बन्धमा छलफल हुनुका साथै गत वर्षमा भएका गतिविधिको समीक्षा गरी आगामी वर्षको लागि मार्गदर्शन गर्ने जानकारी दिए । उनले गोष्ठीलाई भव्य, सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि आतिथ्यता गर्ने जुनियर युवा सर्कलको तर्फबाट मुल आयोजक समिति गठन गरेको बताए ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति शर्माको नेतृत्वमा गोष्ठी अनुगमन तथा सुपरीवेक्षण समिति लगायतका समिति गठन गरी परिचालन गरिएको छ ।


राष्ट्रिय गोष्ठी सुरु हुनुअघि पुस ७ गते विहान महेन्द्रपुलबाट निकालिने झाँकीसहित प्रभातफेरी र्‍याली रानीपौवा हुँदै कार्यक्रम स्थल शिवशक्ति मावि फुलबारीको प्रांगणमा पुगी सभामा परिणत हुनेछ । जुनियर युवा सर्कलका संरक्षक तथा विद्यालयका प्रधानध्यापक शम्भुराज बास्तोलाले रेडक्रस सोसाइटी केन्द्र तथा जिल्ला शाखा कास्की लगायत सबै क्षेत्रको सहयोगले विद्यालय परिवारलाई आत्मबल बढेको बताए ।

तपाईको प्रतिक्रिया