मेलामा ग्यास दुर्घटनाबारे सचेतना

पोखरा ।
गत फागुनको पहिलो हप्ता कांग्रेस नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीको घरमा दुःखद घटना भयो । खाना पकाउने एलपी ग्यास चुहिँदा भएको दुर्घटनाले चन्द्रकी आमा हरिकला भण्डारीको निधन भयो । नेता भण्डारी लामो उपचारपछि तंग्रिएर राजनीतिमा सक्रिय भएका छन् ।
सो दुर्घटनापछि ग्यासको सुरक्षित प्रयोग, ग्यास सिलिन्डरको गुणस्तरसँगै आगोले पोलेपछि हुने उपचारबारे राष्ट्रिय बहस सुरु भयो । घटनाले प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्दा होसियारी अपनाउनुपर्छ भन्ने सन्देशचाहिँ प्रवाह गर्यो । आगोले पोलेपछिको उपचारका लागि बर्निङ केयर सेन्टर निर्माणको कुरा पनि उठ्यो । तर, निर्माण कहिले हुने हो पत्तो छैन ।
तथ्याङ्कले भन्छ, पछिल्ला दिनमा ग्यासबाट हुने दुर्घटना बढ्दो छ । पछिल्लो ३ वर्षमा देशभर १० जनाको मृत्यु ग्यास दुर्घटनाकै कारण भएको छ । ४५ जना घाइते भएका छन् । दैनिक चलाउने ग्यासबारे धेरैलाई ज्ञान छैन । एलपी ग्यास महासंघका वरिष्ठ सल्लाहकार धर्मराज बर्तौला ग्यास कम्पनीसँगै सरकारले पनि सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देख्छन् ।
व्यवसायीले चाहिँ आफ्नो तर्फबाट सक्दो जानकारी पस्किरहेको उनको जिकिर छ । यही सिलसिलामा उनको स्वामित्वमा रहेको गृहलक्ष्मी ग्यास कम्पनीले पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा स्टल नै राखेर उपभोक्तालाई ग्यासबाट हुन सक्ने क्षति र दुर्घटनाबारे सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
‘कम्पनीको खास काम व्यापार गर्ने हो । तर, हामी उपभोक्ताको जीवनप्रति पनि गम्भीर छौं,’ अध्यक्ष बर्तौलाले भने, ‘बजारमा ग्यास किन्दा कतिपय ग्राहक ठगिनुभएको छ । गलत व्यक्तिले ग्यास बेचिरहेका छन् । ठूलो समूहमा एकैपटक सन्देश प्रवाह गर्न महोत्सव रोजेका हौं ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति व्यापार मेला भने पनि सबै स्टल व्यापारका लागि मात्रै नभएको बताउँछन् । ‘औद्योगिक व्यापार मेला हो । तर सबै स्टल व्यापारका लागि मात्रै छैनन्,’ उनले भने, ‘आजभोलि पैसा र समय खर्च गरेर अरुको हितमा काम गर्ने पाउन मुसिकल छ । तर हाम्रा उद्योगी व्यवसायीले त्यही गर्नुभएको छ ।’
मेलाको स्टलमा ग्यास दुर्घटना रोक्न अपनाउनुपर्ने विधि, आगो लागेपछि निभाउने उपाय लगायत सिकाइएको प्रजापतिले बताए । पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु भएको मेला पुस १ गतेसम्म जारी रहनेछ । मेलामा नेपालमै बनेका सामानहरु समेटिएको ‘मेड इन नेपाल’पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन समेटिएको औद्योगिक, पेभेलियन, हस्तकलाका सामग्रीसहित अटो, बैंक तथा वित्तीय संस्थाका स्टल छन् ।
सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सेवाबारेको जानकारी पस्कने स्टल, गण्डकी प्रदेश सरकारको व्यावसायिक दक्षता मापनसम्बन्धी जानकारी पस्कने अभियान, पुस्तक तथा स्टेसनरी व्यवसायीको तर्फबाट पुस्तकको बिक्री तथा प्रदर्शनीसहित दैनिक उपभोग्य वस्तुहरुको प्रदर्शन तथा बिक्री भइरहेको आयोजक संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए ।








पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
ओलीको टोलीमा गण्डकीका ४ दर्जन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया