पर्वतीय महोत्सवमा जलवायु संकटको चिन्ता

समाधान संवाददाता २०८० मंसिर २७ गते १३:२१

पोखरा ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालमा आयोजना गरेको पर्वतीय महोत्सव मंगलबार सकिएको छ । पाँच दिने महोत्सव १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।


महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेमगरले नेपालले अरुले गरेका गल्तीको असर भोग्नुपरेको उल्लेख गरे । जलवायु परिवर्तनका कारण भविष्यमा अझ ठूला संकट र विपत्ति आउन सक्ने भन्दै उनले चिन्ता जनाए ।


‘नेपालका बस्तीभन्दा नदीको सतह माथि हुने अवस्था आइसकेको छ । हिमतालहरु फुट्ने खतरा बढेको छ,’ मन्त्री आलेमगरले भने । नेपालको परिचय नै विश्वमाझ हिमाल र हिमाली जीवनशैली भएको जनाउँदै उनले यसको संरक्षणमा योजनावद्ध प्रयास चाहिनेमा जोड दिए । पर्वतीय संग्रहालयको विकासमा प्रदेश सरकारले यथोचित ध्यान दिई बजेट विनियोजन गर्ने उनको प्रतिवद्धता छ ।

Advertisement


नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पर्वतीय पर्यटन प्रवद्र्धन गर्न र संग्रहालयको प्रचार गर्न महोत्सव आयोजना गरिएको उल्लेख गरे । संघका प्रमुख कार्यकारी अधिकृत जिनेश सिन्दुराकारले पर्वतीय संग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर हरेक महिना केही न केही कार्यक्रम गर्ने योजना सुनाए । महोत्सव सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्ने अवसरका रुपमा लिनुपर्ने विचार राखे ।


शुक्रबारदेखि सुरु भएको महोत्सव १० हजारले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् । यसपालिको महोत्सवको समीक्षा गर्दै आगामी वर्ष थप प्रभावकारी तवरले महोत्सव गरिने उनको भनाइ छ ।
‘पहिलो पटक पाँच दिन महोत्सव ग¥यौं । यसपालिको महोत्सव र यसपूर्वका महोत्सवहरुको समीक्षा र दर्शकको अपेक्षा अनुरुप आगामी वर्षका महोत्सव थप प्रभावकारी तवरले आयोजना गर्ने छौं,’ उनी भन्छिन्, ‘अर्काे वर्ष पनि यही बेला महोत्सव हुन्छ, यहाँहरुलाई अहिल्यै निम्तो छ ।’

Advertisement


महोत्सवको अवसरमा पर्वतीय जनजीवन र आरोहीसँग सम्बन्धित डकुमेन्ट्रीहरु प्रदर्शन गरिएको थियो । महोत्सवमा विज्ञहरुले जलवायु परिवर्तनका कारण, असर र भावी रणनीतिबारे छलफलसमेत गरेका थिए । महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको थियो । महोत्सवमा भएको छेलो प्रतियोगितामा किरण सुनार पहिलो, युवराज गुरुङ दोस्रो र राजेश गुरुङ तेस्रो बने । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार पाएका छन् ।

तपाईको प्रतिक्रिया