प्याराग्लाइडिङ उडानमा सिन्डिकेट अन्त्य

सञ्जय रानाभाट २०८० मंसिर २९ गते १८:१९


पोखरा ।
नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले आफ्ना पाहुना आफैं उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय गरेको छ । उक्त निर्णयले अहिले प्याराग्लाइडिङ पाइलटहरु २ धारमा उभिएका छन् । केही प्याराग्लाइडिङ पाइलटले उक्त निर्णय समय सान्दर्भिक भनेका छन् भने केहीले निर्णयको विरोध गरेका छन् । प्याराग्लाइडिङ क्लबका पाइटल त २ दिनदेखि आन्दोलनमै छन् । उनीहरुको आन्दोलनले पोखराको प्याराग्लाइडिङ कसरी अगाडि बढ्छ भन्ने बहस सुरु भएको छ ।

Advertisement


नाको निर्णय प्रशंसालायक भएको पाइटल गणेश मल्ल बताउँछन् । उनले यो निर्णयले बजार प्रतिस्पर्धात्मक हुने बताए । पर्यटकलाई गुणस्तरीय सेवा कसरी दिने भन्ने तिर प्याराग्लाइ र यससम्बन्धी कम्पनी लागि आशय थियो । ‘यसअघिको सिन्डिकेड व्यवस्थाले धेरै प्याराग्लाइडिङ कम्पनी खुले । कम प्रचार गर्नेहरुले पनि पालोमा काम पाए । तर, यो क्षेत्रमामात्र डिपेन्ड हुने पाइटलमा पालो कुर्ने, बस्नेमात्र भयो । यसअघिको निर्णयले कम्पनीमात्र खुल्ने प्रतिस्पर्धा बढ्यो,’ मल्लले भने ।


पाइलटलाई लगानी गरेर मार्केटिङ नै नगरी पैसा कमाउने प्रवृत्तिप्रति मल्लको रोष हो । यद्यपि नाको निर्णयले बजारमा शुल्क घटाउने खराब प्रतिस्पर्धा हुने पनि उनको चिन्ता छ । ‘अहिले प्याराग्लाइडिङ गरेको १२ हजार रुपैयाँ छ । तर, अब यो निर्णयले ६÷७ हजारमा पनि उडाइदिन्छु भन्ने पनि आइसकेको छ । यस्तो चाहिँ गर्नु हुँदैन । यस्तो अस्वस्थ प्रतिस्पर्धा रोक्न बरु नाले अन्य कुनै कदम चाल्न आवश्यक छ,’ उनले भने । अहिले ५२ वटा कम्पनी नासँग आवद्ध छन् । तीमध्ये २१ वटा कम्पनीले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधबारमात्र आफुखुसी शुल्क तोक्न र आफैले सञ्चालन गर्न पाउने गरी खुला गरेको नाका अध्यक्ष सुनील भट्टराईले बताए ।


उनले १६ महिनादेखिकै प्रावधान नियमित गर्न चाहे पनि २१ वटा कम्पनीले त्यो निर्णय नमान्ने भएपछि यस्तो निर्णय गरेको सुनाए । जुन निर्णयले अब कम्पनीले प्याराग्लाइडिङको मूल्य आफैले तोक्न पाउँछन् । जसले खुला बजार अर्थनीति लागु हुने अपेक्षा गरिएको छ । बजारमा कम शुल्कमा बढी सेवा सुविधा दिन कम्पनीहरु प्रतिस्पर्धा गर्नेछन् । जसले प्याराग्लाइडिङ कम्पनीलाई थप जिम्मेवार र प्रतिस्पर्धात्मक हुन प्रेरित गर्नेछ ।


प्याराग्लाइडिङ क्षेत्रमा काम गर्ने राम्रा कम्पनीलाई नाको निर्णयले राहत पुग्ने होटल स्नोल्यान्डका सञ्चालक गणेशबहादुर थापा बताउँछन् । जुनसुकै क्षेत्र पनि प्रतिस्पर्धात्मक भएर चलेमात्र त्यसका प्रतिफल राम्रो हुने उनको भनाइ छ । नाको निर्णय कार्यान्वयनमा आए नागरिक उडड्यन प्राधिकरणबाट लागु भएको विधिप्रविधि, पाहुनाको जानकारी र बोर्डिङ पास साथै सय रुपैयाँ बुझाए पुग्छ ।
यद्यपि केही पाइटलले नाको एकद्वार प्रणालीबाट सञ्चालन हुनुपर्ने माग राखेका छन् । अझ भनौं, पाइलट क्लब नै यो निर्णयको विरुद्ध छ । क्लबका अध्यक्ष दीपक थापा नाको निर्णयले ४० प्रतिशत प्याराग्लाइडिङ पाइटलहरु खुसी भएको सुनाए । निर्णय मन नपराउने ६० प्रतिशत भएको उनको भनाइ छ । ‘अहिले यो निर्णयको मर्म नबुझदा केही पाइटहरु खुसी पनि देखिनुभएको छ । तर, यो निर्णय कार्यान्वयनमा जाँदा हाम्रो तलब घट्नेदेखि अस्वस्थ प्रतिस्पर्धा बढ्छ, जसले जोखिम पनि बढाउँछ,’ उनले भने ।

Advertisement


छाता संस्थामार्फत जाँदा सबैलाई काम पुगेको र शुल्कमा एकरुपता भएको दीपक बताउँछन् । खुला छाड्दा कम्पनीबीच खराब प्रतिस्पर्धा हुन गई सस्तोमा सेवा दिए, पाइटलहरूको भविष्य खतरामा हुने चिन्ता उनले व्यक्त गरे । एड्भान्स प्याराग्लाइडिङका सञ्चालक रोशन गौतम नाले सर्वसम्मत जस्तै गरेर निर्णय गरे पनि अहिले विरोध हुनु दुखद भएको बताए । ‘बैठकमा १ सय ५० जनाको हस्ताक्षर गरेर त्यो निर्णय गरेका हौं । बैठकमा कसैले पनि विरोध गर्नुभएन । तर, जब निर्णय बाहिर आयो । यसको विरोधमा केही व्यक्ति लागे । जुन गलत छ,’ गौतमले भने । नाले सबै प्याराग्लाइडिङ पाइटको हितमा निर्णय गरेको उनले सुनाए । ‘केही व्यक्तिले नबुझेका कारणले यस्तो भन्नुभएको हो । तर, हामीहरु वार्ता गर्छौं । सबैको हितमा हुने निर्णय मान्नुपर्छ भन्ने लाग्छ,’ उनले भने । उनले पालो प्रणाली अर्थात सिन्डिकेटको अन्त्य हुने सुनाए ।


उनले प्याराग्लाइडिङ आउनेहरुलाई स्वतन्त्र रुपमा उडान गर्न दिनुपर्ने बताउँछन् । यसअघि एकाधिकार राख्दै मूल्य तोकेर आलोपालो प्रणालीमा लागु गर्नु व्यावसायीको हितमा नभएको उनले सुनाए । ‘आफैले ल्याएको पाहुनालाई पनि आफ्नै कम्पनीबाट उडान गर्न नपाउने अवस्था राम्रो होइन । किन कि आलोपालो प्रणाली अनुसार उडान गर्नुपर्दा मेरै पाहुना अन्य कम्पनीमार्फत उड्न जानुपर्दथ्यो,’ उनले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया