पाेखराकाे प्याराग्लाइडिङ उडान ठप्प

समाधान संवाददाता २०८० पुष २ गते १२:४८

पोखरा ।
हिमाल र तालको दृश्यावलोकनबाहेक पोखरा आउने थुप्रै पर्यटकको गन्तव्य प्याराग्लाइडिङको उडान हुँदै आएको छ । प्याराग्लाइडिङ क्षेत्रमा यो साता एउटा सुखद खबर सञ्चारित भएको थियो—सिन्डिकेटको अन्त्य । अर्थात आलोपालो प्रणाली खारेज । जुनसुकै पाइलटले पनि आआफ्ना पाहुना उडान पाउने पालो कुर्न नपर्ने व्यवस्थाले यो क्षेत्रमा २ धार सिर्जना ग¥यो । सोही कारण शुक्रबारदेखि पोखराको आकासमा प्याराग्लाइडिङ ठप्प छ ।


पोखराको आकाशमा दैनिक सरदर डेढ सय उडान गर्ने पाइलटले अचेल उडान भरेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले पालो प्रणाली खारेजको निर्णय जो गरेको थियो, त्यसकै विरुद्ध पाइलटले उडान ठप्प पारेका हुन् ।
खुला बजार अर्थनीतिमा वस्तु तथा सेवाको छनोट र मूल्यको प्रतिस्पर्धाको अवसर हुन्छ । त्यस्तै अवसर सिर्जना गर्ने गरी हवाई खेलकुद संस्था नाले कम्पनीहरुले आफैं उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय बुधबार गरेको थियो । तर उपभोक्ता अर्थात पाहुनाहरुका लागि सुविधा हुने त्यस्तो निर्णयकै विरुद्ध आन्दोलन उत्पन्न भई असमझादारी सिर्जना भएपछि पाइलट र कम्पनीहरु सहमति नहुँदासम्म उडान नगर्न नागरिक उड्डय प्राधिकरणले पत्राचार गरेको छ । जब कि राज्यको उक्त निकायले खुला प्रतिस्पर्धालाई स्वागत गरी कार्यान्वयनमा जोड दिनुपर्नेमा समझदारीका नाममा उडान नगर्न भनेको छ ।


प्याराग्लाइडिङ पाइलटहरुको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापा नाको निर्णयमा भन्दा आफूहरुको चासो चिन्ता पाइलटहरुको सेवा सुविधामा भएको बताउँछन् । पहिला एक उडान स्वरुप पाइलटले ६ हजार रुपैयाँ पाउँदै आएका थिए । प्याराग्लाइडिङ उडानको शुल्क पर्यटकले १२ हजार रुपैयाँ तिर्नुपर्छ । एउटा प्याराग्लाइडिङ उडान शुल्कको १२ हजारमध्ये ६ हजार कम्पनी र ६ हजार पाइलटले पाउँदै आएका थिए । उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा २ पटकसम्म एक पाइलटले उडान भर्न सक्छन् । पाइलटले आपूmले उडाउने ग्लाइडर आफैं व्यवस्था गर्ने गरेका छन् । यसको शुल्क १० लाख रुपैयाँसम्म पर्छ । प्यारा पाइलट बन्न २ देखि ३ वर्ष तालिम र अन्य लगानी गरी २५ लाख रुपैयाँसम्म खर्च हुने जानकारहरु बताउँछन् । प्याराग्लाइडिङ कम्पनीहरुले पाउने ६ हजारबाट अप्रेसन खर्च, ग्राडक र आवश्यक सामान लेकसाइडबाट सराङकोट पु¥याउनेसहितका खर्च व्यहोर्दै आएका छन् ।

Advertisement

प्रतिस्पर्धा हुँदा पाहुनाले तिर्नुपर्ने मूल्य घट्दा पाइलटले पनि पाउने रकम पनि कम हुनसक्ने चिन्ता पाइलटहरुलाई भएको देखिन्छ । ‘हाम्रो पारिश्रमिक सुनिश्चित हुनुप¥यो । पाइरहेको भन्दा कम हुनुभएन,’ थापाले भने, ‘प्याराग्लाइडिङ कम्पनीहरुको द्वन्द्वको मारमा हामी परेका छौं ।’ पोखरामा प्याराग्लाइडिङ उडाउने पाइलट २ सय ५८ जना छन् ।


नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले व्यवसायी र पाइलटबिच निरन्तर संवाद भइरहेको जनाउँदै चाँडै सहमति बन्ने विश्वास थापाले व्यक्त गरे । व्यवसायी र पाइलटबिच सहमति भएपछि प्राधिकरणसँग बैठकसँग बैठक गरी उडान सुचारु गरिने उनको भनाइ छ । यसअघि एकद्वार प्रणालीबाट बुकिङ र उडान भइरहेकोमा २१ कम्पनीले त्यसलाई खुला गर्न नामा निवेदन दिएका थिए । पोखरामा ५२ प्याराग्लाइडिङ कम्पनीले काम गरिरहेका छन् । ती कम्पनीमा एक अर्ब हाराहारी लगानी रहेको ना पोखरा अध्यक्ष सुनीलबहादुर भट्टराई बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया