‘भ्रष्टाचारबाट कांग्रेसलाई जोगाऔं’ लाई छोपेर सम्मेलन

समाधान संवाददाता २०८० पुष ४ गते १०:४२
गण्डकी ,३ पुस : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको मङ्गलबार पोखरामा आयोजित गण्डकी प्रदेश सम्मेलनको उद्घाटन समारोहमा सहभागी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेताहरू । तस्बिर : वासुदेव पौडेल/रासस

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पार्टी सभापति शेरबहादुर देउवा र प्रदेश सभापति शुक्रराज शर्माबिचको विवाद माझ पोखरा सभागृहमा मंगलबार सुरु भएको छ । अधिवेशनमा गण्डकी शर्मा र देउवाबिच ब्यानरको नारालाई लिएर विवाद भएको हो ।

Advertisement


‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने नारा हटाएपछि मात्रै सभापति शेरबहादुर देउवा सम्मेलनस्थल पोखरा सभागृह प्रवेश गर्न राजी भएका थिए । देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको हो । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेस चरित्र पुनःस्थापित गरौं’ मुख्य नारा लेखिएको थियो ।


ब्यानरमा लेखिएको नाराका विषयमा गण्डकी प्रदेश सभापति शर्मासँग देउवा रिसाएपछि नारामाथि टेप टाँसिएको हो । ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य किन राखेको भन्दै देउवाले आपत्ति जनाएका थए । स्रोतका अनुसार नाराका विषयमा देउवा र प्रदेश सभापति शर्माबीच भनाभन भएको थियो । विवादपछि वाक्यमा हरियो टेप टाँसेर कार्यक्रम सुरु भएको हो ।

यद्यपि नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने त्यो वाक्यांश अशुद्ध भएका कारण टेप टाँसिएको बताए ।
भ्रष्टाचार विरोधी नारा छोपिएपछि भने विवाद साम्य भई कांग्रेस गण्डकी प्रथम अधिवेशन अघि बढ्यो । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरे । देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनुपर्ने बताए । कांग्रेस सबैभन्दा ठूलो दल भएपनि सरकार बनाउन अरु दलसँग मिल्नुपर्ने बाध्यता रहेको बताए । देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले कार्यकर्ता सबैलाई एकजुट हुन आग्रह पनि गरे ।


‘जसरी भए पनि पार्टीलाई एक गराएर, आपसमा मेलमिलाप र एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतकै पार्टी बनाऔं । सबैभन्दा ठूलो पार्टी बनाउन अहिलेदेखि नै लागौं, मलाई विश्वास छ भोलिका दिनमा हामी सफल हुनेछौं,’ देउवाले भने । कांग्रेसको स्थिति के हुन्छ, कस्तो हुन्छ भनेर स्वदेश र विदेशमा पनि चिन्ता भइरहेको उनले बताए ।

Advertisement


‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हालकै अवस्थामा एकल सरकार कसैको बन्दैन । संसदमा सबैभन्दा ठूलो दल हामी भएकाले अर्को निर्वाचनमा एकल बहुमत ल्याउने गरी लाग्नुपर्छ,’ देउवाले भने । वरिष्ठ नेता शेखर कोइरालाले कांग्रेसभित्रका गुटलाई वैचारिक गुट बनाउनुपर्ने बताए । गुटले पार्टीलाई कमजोर बनाउने भएकाले वैचारिक गुटमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘म पनि कुनै गुटको प्रतिनिधित्व गर्छु, गुटले पार्टीलाई कमजोर बनाउनु हुन्न । गुटलाई वैचारिक गुट बनाउनु आवश्यक छ ।’


उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक वर्षे कार्यकालको रिपोर्ट कार्ड प्रस्तुत गर्न चुनौती समेत दिए । ‘एक वर्षमा के के काम गर्नुभयो भनेर रिपोर्ट कार्ड प्रस्तुत गर्नुपर्छ,’ उनले भने ।


सम्मेलनमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले मिसन ८४ को चिन्ता गर्न छाडेर वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्नुपर्ने मत जाहेर गरे । सम्मेलनमा बोल्दै महामन्त्री शर्माले भने, ‘एमालेले मिसन ८४ भनेको छ । नयाँ दल पनि ८४ भन्छन् । ८४ पछि मिसन ७९ भन्ने ?’ उनको प्रश्न थियो । उनले ८३ सम्म राम्रो काम गरेर जनतामा विश्वास जित्न आवश्यक रहेको सुनाए ।


महामन्त्री थापाले रास्वपालाई इंगित गर्दै अहिलेको परिस्थितिसँग खेल्न खोजेको आरोप लगाए । ‘नयाँ पार्टीहरुले अलिकति बिग्रियोस् । त्यसपछि पनि बिग्रिँदै जाओस् भनेका छन् । आगामी निर्वाचनसम्म त गर्यालगुर्लम सबै बिग्रोस् भनेका छन्,’ थापाले भने । उनले आउँदो निर्वाचनसम्म जनतामा आशा जाग्ने गरी सरकारले काम गर्न आवश्यक रहेको सुनाए । त्यसका लागि नागरिकका समस्या सम्बोधन हुने गरी आधारभूत सेवा सुविधाहरु पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।


कानुन संघीय सरकारले नबनाउने, गाली हामीले खानुपर्नेः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकार र सांसदहरूका कारण प्रदेशलाई आवश्यक कानुन नबनेकोमा असन्तुष्टि व्यक्त गरे । मंगलबार पोखरामा भएको कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार भनेर प्रश्न पनि सोधे ।


‘संविधानमा लेखेका कारणले मात्र हामीले मानिरहेका छौं कि साँच्चै हामी संघीयतालाई लागु गर्ने पक्षमा छौं ?,’ उनले प्रश्न मुख्यमन्त्री पाण्डेले भने । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार भइरहेको बेला संघ सरकारले प्रदेशलाई आवश्यक कानुन नबनाएकोप्रति मुख्यमन्त्री पाण्डेको आक्रोश थियो । ‘सघीय सरकार र सांसदहरूको नालायकीका कारण कानुन बनेको छैन । कानुन नबन्ने अनि सडकमा प्रदेश सरकारले गाली खानुपर्ने?’ उनको प्रश्न थियो ।


संघले कानुन नबनाएका कारणले प्रदेले बनाएका कानुन पनि कार्यान्वयनमा नआएको उनको भनाइ थियो । ‘यो जिम्मेवारी तपाईंहरुले लिने कि नलिने । कांग्रेस संघीयताको पक्षमा दृढ भए संघीयता बलियो बनाउन चाहिने कानुन छिटो निर्माण गर्न अग्रसर किन नहुने ?’ उनले भने ।


मुख्यमन्त्री पाण्डेले पुस १३ गते प्रदेशका मुख्यमन्त्रीहरूको बैठक गर्न लागेको जानकारीसमेत दिए । ‘कानुन बनाउन नसक्ने हो भने प्रधानमन्त्री र दलका नेतृत्वहरूले प्रष्टताका साथ भन्नुपर्‍यो संघीयता खारेज गर्छौं भनेर । कानुन नभएका कारण हामीले काम गर्न नपाएको कुरा महसुस गर्नुपरिरहेका छ,’ उनले भने । पाण्डेले आफू मुख्यमन्त्री भएको ८ महिनामा कांग्रेस कार्यकर्ताले सडकमा हिँड्दा शीर झुकाउनुपर्ने एउटा पनि काम नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया