छोरीबुहारीको क्याम्पस

राष्ट्रिय समाचार समिति (रासस) २०८० पुष ४ गते ११:२०

गण्डकी ।
पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापना कालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो ।


गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ देखि स्थापना गरी यज्ञशाला भवनको दोस्रो तल्लाबाट सुरु भई अहिले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसमा हाल ९ सय २९ विद्यार्थी छन् । यसमध्ये ६ सय ९८ (७३ प्रतिशत) छोरीबुहारी रहेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए ।


व्यवस्थापन र शिक्षाशास्त्र संकायतर्फ बिबिएस, बिएड, बिएचएम, बिआइएम र एमविएस विषयमा स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, दाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् । गुणस्तरी शिक्षामा जोड दिएका कारण क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको उनको दाबी छ ।

Advertisement


क्याम्पसले विभिन्न संकायबाट सर्वोत्कृट अंक ल्याउने जेहेन्दार एवं विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीका अनुसार क्याम्पसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पर्यटकीयस्थल डेभिजफलको उत्तरी भेगमा गुफाले ३ करोडभन्दा बढी लगानीमा खरिद गरेको ५ रोपनी ६ आना र पछि थप गरिएको १३ आना गरी ६ रोपनी ३ आना जग्गामा भवन निर्माण गरिएको छ ।

७३ प्रतिशत छोरीबुहारी पढ्ने गुप्तेश्वर क्याम्पसमा बिबिएस, बिएड, बिएचएम, बिआइएम र एमबिएसको पढाइ हुन्छ

Advertisement


‘विश्वविद्यालय अनुदान आयोग र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक सहयोगमा तेस्रो तल्ला थप्ने काम भइरहेको छ,’ उनलेभ ने । भारतीय दूतावासको ४ करोड १० लाख सहयोगमा भवन निर्माण गरिएको छ ।


त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ३३ विद्यार्थीबाट सुरु गरिएको क्याम्पस सञ्चालनमा गुफाको २५ करोडभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए । आव २०७९÷८० मा ४ करोड ६७ लाख आम्दानी गरेको क्याम्पसको ४ करोड ८४ लाख खर्च भएको छ ।

छात्रवृत्ति कोषमा १ करोड
शैक्षिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ क्याम्पसको विभिन्न संकाय र तहमा नियमितरुपमा अध्ययनरत जेहेन्दार, दलित, जनजाति तथा आर्थिकरुपमा पिछडिएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ संघसंस्था एवं शिक्षाप्रेमीका तर्पmबाट १ करोड ६ लाख बराबरका ७ अक्षयकोष स्थापना गरिएका छन् । गुप्तेश्वर महादेव गुफा अक्षय कोष १ करोड, खगराज कला साहित्य उत्थान अक्षयकोष १ लाख १ हजार, लीलाकुमारी स्मृति अक्षयकोष १ लाख, प्रा डा भूपति ढकाल(कमल) पुर्खाको स्मरण २ लाख २२ हजार दुई सय २२ छन् ।


यस्तै, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था अक्षयकोष ५० हजार, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष ५२ हजार र धर्मकला पौडेल स्मृति अक्षयकोष ५१ हजार १ सय ५१ रुपैयाँका अक्षयकोष छन् ।


अक्षयकोषको ब्याजबाट चालु आवमा १ सय ३३ विद्यार्थीलाई १२ लाख छात्रवृत्ति वितरण गर्ने कार्यक्रम छ । विश्वविद्यालय अनुदान आयोगबाट १८ विद्यार्थीले विभिन्न विधामा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । क्याम्पसमा पूर्णकालीन र आंशिक गरी ३४ शिक्षक र ११ कर्मचारी छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया