प्राकृतिक स्रोतको दिगो व्यवस्थापन

लक्ष्मीप्रसाद उपाध्याय २०८० पुष ४ गते १२:२०

एक दशकअघि सेती नदीमा आएको बाढीले पोखराका गगनचुम्बी महल र सुन फल्ने खेत बगाएर लग्यो । सात समुद्रपारि लाहुरेले मेहनत गरेर ल्याएको पैसा ती बस्ती निर्माणमा पोखिएको थियो । अकस्मात आएको बाढी–भेलले बस्ती मात्र होइन, त्यसवरपरको पक्की सडक एकैछिनमा भत्कायो, हातमुख जोर्ने खेत बगरमा परिणत भयो । यसको अरू केही कारण थिएन, जबसम्म पोखराको उपल्लो क्षेत्रमा डोजरे विकास भएको थिएन, तबसम्म तल्लो तटीय क्षेत्रमा बनेको करोडौँ मूल्यका सुन्दर घर सुरक्षित थिए । जब डाँडाकाँडामा डोजर चल्न थाले, रातारात वनजंगल फाँडियो अनि यस्तो विपत्ति आइलागेको हो । डोजरको कम्पनसँगै भत्किन सुरु भएको पहाडले सेती नदीलाई उर्लिन मद्दत गर्‍यो अनि क्षणभरमै बस्ती विनाश भयो । विकासले साँच्चै विकास होइन, विनाश निम्त्याएको यो एक उदाहरण मात्र हो ।


विकास निरन्तर प्रक्रिया हो । विकासको एउटा आयोजनाले त्यसवरपरको क्षेत्रभरि पुस्तौँसम्म सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । यही मान्यतामा आधारित भएर होला, विकसित मुलुकमा पाँच सय वर्ष पुराना भौतिक संरचना अहिले पनि देख्न सकिन्छ तर नेपालमा एक ठाउँको विकास गर्दा अर्काे क्षेत्र भत्किने, बिग्रने र त्यो पनि एकाध वर्षभित्रै मर्मतसम्भार गर्नुपर्ने अवस्था हामीले भोगिरहेका छौँ । विकास दिगो हुनुपर्छ ।


दिगो विकास भएन भने एकातिर लगानीको प्रतिफल नपाइने र अर्काेतिर प्राकृतिक सम्पदा सदाका लागि लोप भएर जाने खतरा बढ्दै जान्छ । नेपालमा सङ्घीयता कार्यान्वयनसँगै विकासका चाहना र माग निकै बढिरहेका छन् । नेपाल जस्तो अल्पविकसित मुलुकले यो चाहना राख्नु स्वाभाविकै हो । विकसित मुलुकको सिँढीमा चढ्ने चाहना हरेक मुलुकको हुन्छ नै । त्यो चाहना नेपालले राख्नु सान्दर्भिक भए पनि दिगो विकासको मोडल समात्न नसक्दा नेपालले कहिले पोखराको सेती नदी त कहिले मेलम्चीको बाढी–पहिरोको पीडा खेपिरहनुपरेको छ ।

Advertisement


के हो दिगो विकास ?
नेपालीमा एउटा उखान छ, ‘तातै खाउँ, जली मरुँ’ । विकासको एउटा मोडलसँग यो उखान मिल्दोजुल्दो छ । भोलि जेसुकै होस्, आजका लागि जसरी पनि विकास गरौँ, त्यो विकास अर्काे दिनसम्म टिकोस् वा नटिकोस् । आजका लागि भए पुग्यो भन्ने विकासे अवधारणा हो यो । विकासको अर्काे मोडल छ, त्यो हो– दिगो विकास । विद्यमान प्राकृतिक सम्पदालाई कमभन्दा कम नोक्सानीमा पारेर उत्तम विकल्पको प्रयोग गरेर गरिएको विकास दिगो विकास हो । अर्कोतिर, पुस्तौँसम्म टिक्ने गरी गरिने विकास नै दिगो विकास हो । एक ठाउँमा विकास गर्दा अर्काे ठाउँमा त्यसको सकारात्मक प्रभाव पर्नु र त्यो विकासले पुस्तौँसम्म सेवासुविधा प्रवाह गर्न सक्ने अवस्था सिर्जना हुनु नै दिगो विकास हो ।


दिगो विकाससँग प्राकृतिक सम्पदाको प्रत्यक्ष साइनो जोडिएको हुन्छ । प्रकृतिसँग जसले सिर्जनात्मक र सकारात्मक साइनो गाँस्न जान्दछ, त्यो दिगो रहन्छ । जसले साइनो गाँस्न जान्दैन, त्यसले प्रकृतिसँगको प्रतिवादमा टिक्न सक्दैन, दिगो रहन सक्दैन । त्यसैले बेला–बेला प्राकृतिक विपत्तिमा ठूलो धनजन अनि विकासका योजनामा क्षति हुने गरेको छ । वातावरणमैत्री भएका विकास टिकाउ हुन्छन् । पुस्तौँसम्म प्रतिफल दिइरहन्छन् । त्यसैले दिगो विकास आजको अपरिहार्यता हो ।

Advertisement

युवा अवस्थाको रुख–बिरुवालाई सदुपयोग गर्दा जति मुलुकले फाइदा लिन सक्छ, बुढो रुख–बिरुवाबाट त्यति फाइदा लिन सकिँदैन


वनको दिगो व्यवस्थापन
यो सृष्टि माटो, पानी र हावाको संयुक्त रूप हो । माटोमा वनजङ्गल, वन्यजन्तु र समग्रतामा जैविक विविधताको खेती हुने गर्छ । माटो स्थिर भएकाले मानव जातिले जेजति भौतिक प्रगति गरेको छ त्यो माटोमै गरेको छ । माटोमा जति पानी र हावामा मानव जातिले न खेल्न सकेको छ न फुल्न सकेको छ । त्यसैले माटोमा भएको वन सम्पदाको व्यवस्थापनबाट दिगो विकास गर्नु आजको आवश्यकता हो । वन सम्पदा उचित समयमा सदुपयोग गर्न सकेन भने नासिने स्रोत हो ।


बोटबिरुवाको निश्चित आयु हुन्छ । युवा अवस्थाको रुख–बिरुवालाई सदुपयोग गर्दा जति मुलुकले फाइदा लिन सक्छ, बुढो रुख–बिरुवाबाट त्यति फाइदा लिन सकिँदैन । त्यसैले वन स्रोतलाई उचित समयमा सदुपयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजान सक्नुपर्छ । यसको अर्थ प्राकृतिक सम्पदा एउटै पुस्ताले उपयोग गरेर सक्ने कुरा पनि होइन । सदुपयोगका साथसाथै जैविक विविधताको वंश जगेर्ना गर्दै, संरक्षण गर्दै पुस्तौँपुस्तासम्म जोगाइराख्नु नै दिगो वनको व्यवस्थापन हो । यो नै अहिलेको पुस्ताको बुद्धिमानी काम हो ।


किन गर्ने दिगो व्यवस्थापन ?
डेढ वर्षअघि अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबाट ५५ अर्ब रुपैयाँ आर्थिक सहयोग लिने सन्दर्भमा मुलुक विभाजित अवस्थामा पुगेको थियो । त्यो रकमलाई मुलुकको विकास र हितसँग जोडिएर हेरियो तर नेपालले तराईका १३ जिल्लामा भएको वनजंगलको कार्बन व्यापारबाट सन् २०१८ देखि २०२४ को अवधिमा ९० लाख टन कार्बन सञ्चितिबापत विश्व बैंकबाट ४५ अर्ब रुपियाँ भुक्तानी पाउने भएको छ । तराईका २० वटा र भित्री मधेसका थप आठ जिल्लामा भएको वन क्षेत्रलाई कार्बन व्यापारमा लग्ने हो भने करोडौँ टन कार्बन सञ्चितिबाट ४५ अर्ब रुपैयाँमात्र होइन, खर्ब रुपियाँ नेपालले वनजंगल जोगाएबापत पाउने सम्भावना देखिएको छ ।


यसरी वनको दिगो विकासबाट मात्रै नेपालले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउन सक्छ भन्ने यो अर्काे सफल उदाहरण हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा कुल क्षेत्रफलको ४५ प्रतिशत वन क्षेत्र संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आइरहेको छ । तराईको चारकोसे झाडीदेखि लिएर उच्च हिमाली क्षेत्रको स–सानो बुट्यानसम्मको वन क्षेत्र वृद्धि र संरक्षण गर्दै लैजाने नीतिअनुरूप नेपालले हरेक वर्ष गुणस्तरीय वन क्षेत्र विकासका लागि काम गर्दै आइरहेको छ ।


वन संरक्षण मात्र होइन, वनको व्यवस्थापन गर्नु आजको आवश्यकता हो । कार्बन व्यापार गर्ने हो भने पनि पुराना, बूढा रुख काटी त्यो क्षेत्रमा नयाँ बिरुवा उत्पादन गर्ने पद्धतिलाई अवलम्बन गर्न जरुरी छ । करिब दुई वर्षदेखि नेपालमा काठ उत्पादन गर्ने काम बन्द भएको छ । यो अवधिमा अर्बाैं रुपियाँबराबरको विदेशी काठ आयात भइरहेको छ । यसले गर्दा एकातिर कार्बन सञ्चिति गर्न नसक्ने बूढो, धोद्रो रुख वनजंगलमा यथास्थितिका रहेका छन् भने अर्कातिर काठको अभावमा विदेशबाट काठ आयात गर्दा व्यापार घाटा चुलिँदो अवस्थामा छ । यी कुरालाई दृष्टिगत गरी अब वनको दिगो व्यवस्थापनको योजना सरकारले सञ्चालन गर्न जरुरी छ ।


पर्यटन विकासको आधार
नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र पनि हो । नेपाल भित्रिने ६० प्रतिशतभन्दा बढी पर्यटक प्राकृतिक सम्पदा, वन्यजन्तु हेर्न भनेर आउने गरेका छन् । चितवन, बर्दिया, सगरमाथा, अन्नपूर्ण संरक्षण क्षेत्र, रारा, खप्तड, कोसीटप्पु, शुक्लाफाँटा, गोसाइँकुण्ड, कञ्चनजंघा लगायतका निकुञ्ज तथा संरक्षित क्षेत्रमा पर्यटक घुम्ने गरेका छन् । यी सबै क्षेत्र नेपालको पर्यटन विकासका आधारस्तम्भ हुन् । विश्व सम्पदा सूचीमा परेका चितवन, सगरमाथा राष्ट्रिय निकुञ्ज र रामसार सूचीमा रहेका इलामको माईपोखरी, रारा, कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र सबै वनजंगल तथा जैविक विविधताको धनी स्थान मानिन्छन् ।

त्यति मात्र होइन, पाटेबाघ, एकसिङे गैँडा, हात्ती, हिउँ चितुवा, रेडपाण्डा, अर्ना, बाह्रसिङे तथा कृष्णसार पनि प्रकृतिको वरदान हुन् । विश्वमै दुर्लभ मानिएका यी जैविक विविधतालाई देखाएर नेपालको आर्थिक समृद्धि हुने कुरामा दुईमत छैन । अतः प्राकृतिक सम्पदाको एकोहोरो दोहन होइन कि दिगो व्यवस्थापन गर्दा समृद्ध नेपाल बनाउने अभियानमा चाँडै सफलता मिल्न सक्छ भने अर्काेतिर प्राकृतिक सम्पदालाई भोलिको पुस्तालाई पनि हेर्न पाउने गरी सुरक्षित साथ संरक्षण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया