कांग्रेस गण्डकी सम्मेलनः पारित गर्यो धर्म निरपेक्षता हटाउने प्रस्ताव


सञ्जय रानाभाट, पोखरा ।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मंसिर ३० गते पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा प्रतिवेदन यसरी तयार गरिएको छ । त्यसको धक्का केन्द्रसम्म हुन्छ ।’ शर्माले कस्तो धक्का हो, त्यस दिन खुलाएनन् । तर, सबैको मनमा कौतुहलता भइरह्यो । मंगलबार सुरु भएको सम्मेलनमा सभापति शेरबहादुर देउवा, केन्द्रीय नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश लामिछानेसहित प्रदेशका ५ सय प्रतिनिधि सहभागी भएका थिए । २ दिनसम्म चलेको प्रदेश सम्मेलनमा सभापति शर्माले कस्तो धक्का दिए त ?
सभापति शर्माले बन्दसत्रमा पेस गरेको अवधारणपत्रमा धर्म निरपेक्षता हटाउन प्रस्ताव पेश गरे । जुन प्रस्ताव बहुमतले पारित भएको प्रदेश समितिका प्रवक्ता मानवप्रसाद बास्तोला जानकारी दिए । ‘पार्टी सभापतिज्यूले कांग्रेसको विरासत राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, वैदिक सनातन धार्मिक स्वतन्त्रता, शान्ति र सुशासनको रक्षा गराैं र पार्टीको विधानमा लोकतन्त्रको स्थानमा प्रजातन्त्र भन्ने शब्द राखौं र धर्म निरपेक्षता हटाऔं भन्ने प्रस्ताव बहुमतले पारित भएको हो,’ प्रवक्ता बास्तोलाले भने ।
सभापति शर्मासहित महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको छ । जुन प्रतिवेदन महासमिति बैठकमा पठाउने प्रवक्ता बास्तोलाले जानकारी दिए ।
सभापति शर्माले शिक्षामा आमूल परिवर्तन गरी सबै तहमा नैतिक र प्राविधिक शिक्षा निःशुल्क प्रदान गर्ने बाचा गरौं भन्ने प्रस्ताव पेस गरेका थिए । ‘प्रजातन्त्रमा स्वास्थ्यको हक नागरिकको नैसर्गिक अधिकार भएकाले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सुनिश्चित गर्ने, नेतृत्वले निजी क्षेत्रलाई विश्वासमा लिन र बाह्य लगानी भित्रयाउने कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गरी बजार व्यवस्थासहित आत्मनिर्भर बनाउने योजना तयार पारौं,’ सभापति शर्माले पेस गरेको प्रतिवेदनमा छ ।
नैतिकवान, इमान्दार र क्षमता भएका व्यक्तिहरुलाई पार्टीमा आकर्षित गर्नुपर्ने र अनैतिक र क्षमता नभएका साथै भ्रष्टाचारीहरुबाट पार्टीलाई मुक्त बनाउनुपर्ने शर्माको प्रस्ताव हो । उनले युवा लक्षित कार्यक्रम ल्याउन र विदेशिएका युवालाई स्वदेशमा आकर्षण गर्न भरपर्दो कानुन बनाउनुपर्ने कुरामा कांग्रेस लाग्नुपर्ने उल्लेख गरे । शर्माले नेतृत्वकर्तामै शुद्धीकरण आवश्यक परेको औंल्याएका छन् ।
अनैतिक र क्षमता नभएका साथै भ्रष्टाचारीहरुबाट पार्टीलाई मुक्त बनाउनुपर्ने शर्माको प्रस्ताव पनि पारित
शर्माले नेपाली कांग्रेसको सदस्यता तथा क्रियाशील सदस्यताको लागि जुनसुकै स्थानबाट विद्युतीय माध्यमबाट आवेदन गर्न सकिने र आवेदन प्राप्त भएको १० दिनमा सदस्यता र ३० दिनमा क्रियाशील सदस्यता प्रदान गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेका थिए । सदस्यता दिन नसक्ने भएमा कारणसहित निवेदकलाई जानकारी गराउनुुपर्ने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।
प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा, पालिका र वडा कार्यसमितिका पदाधिकारीहरुको बहुपदीय व्यवस्था तथा पार्टीभित्र विवाद, गुटको अन्त्य गर्नुपर्ने शर्माको प्रतिवेदनमा छ । जसका लागि विधानमा संशोधन गरी एक पदीय पदाधिकारीहरुको व्यवस्था मिलाउन आवश्यक देखिएको शर्माको भनाइ छ ।
महामन्त्री किरणबाबु श्रेष्ठले प्रदेशमा पार्टीको अवस्थाको चित्रण गरेका थिए । उनले विधानअनुसार कार्यसमिति सदस्यहरू ११ जना, कोषाध्यक्ष १ र प्रवक्ता १ को मनोनयन गरी कार्यसमितिलाई पूर्णता दिइसकिएको जानकारी दिएका थिए । अनुशासन समिति र संसदीय समितिको गठन गरिसकिएको तथा विभागमा व्यवस्था भएको प्रशिक्षण विभागसहित २२ विभागहरू र थप १ सहकारी विभाग गरेर जम्मा २४ विभागहरूको संयोजक नियुक्ति गरिसकिएको श्रेष्ठको प्रतिवेदनमा छ ।
पार्टीमा नेता तथा कार्यकर्ताहरूमा एकआपसको मेलमिलाप हुन नसकेको उनले प्रतिवेदनमा दर्साएका छन् । ‘विचारविमर्श र एकताले कार्यकर्ताहरूलाई नवीन उत्साह जाग्ने र उर्जा थपिने हुन्छ । आपसी बेमेल र गुटबन्दीले असमझदारी बढ्ने तथा सत्ता र शक्तिका पुजारीहरूले पार्टी कब्जा गर्ने सम्भावना रहन्छ,’ उनको भनेका छन्, ‘यो तितो सत्यलाई स्विकार्नै पर्छ कि अहिले केन्द्रदेखि तल्लो तहसम्म विचारविहीन स्वार्थ र गुटबन्दीको सिकार भएका कारण पार्टी कमजोर भएको छ ।’ पार्टीलाई एक ढिक्का राख्नका लागि प्रदेशभित्र गुटबन्दीको अन्त्य गर्नुपर्ने उनको माग छ ।
महामन्त्री विश्वप्रसाद लामिछानेको प्रतिवेदनले पार्टीभित्रका समस्यालाई औंल्याएका छन् । आम नागरिकमा सबै पार्टी एउटै हुन, उस्तै हुन नाममात्र फरक हो भन्ने भ्रमलाई चिर्न कांग्रेसले नसकेको उनको भनाइ छ । ‘अन्य पार्टीहरूको कमजोरीलाई केलाएर जनतासम्म लैजाने नसक्नु । पार्टीको ऊर्जा तथा क्षमता पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा उपयोग हुँदा विपक्षीसँग र मुलुकका समस्या भ्रष्टाचार, गरिबी, बेरोजगारी तथा यावत सामाजिक तथा आर्थिक विषय उठाउन नसक्दा जनताबाट टाढिँदै जानु प्रमुख समस्या र चुनौती छन्,’ लामिछानेले भने ।
उनले चुनावमा अरु दलसँग भएको गठबन्धनको पनि भत्र्ससना गरेका छन् । ‘कुनै निश्चित राष्ट्रिय स्वार्थ पुरा गर्नका लागि अन्य दलसंग गरिने सहकार्य भन्दा पनि सत्ता र शक्तिका लागि जो सुकै संग जहिले पनि जुनसुकै सर्तमा सहकार्य गर्ने, सरकार बनाउने र चुनावी तालमेल गर्ने प्रवृतिले नेपाली काँग्रेसमा व्यापक निराशा सिर्जना भएको छ,’ उनले भनेका छन् । प्रतिवेदनमा मुलुकलाई मार्गनिर्देशन गर्न रोड म्याप बनाउनुपर्ने उनको सुझाएका छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया