फिस्टेल स्पोर्टस् फेस्ट जारी

पोखरा ।
पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ को औपचारिक उद्घाटन बिहीबार हुँदै छ । विद्यालय स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा मंगलबारदेखि केही खेल सुरु भइसकेका छन् ।
पुष ७ गते सम्म सञ्चालन हुने स्पोर्टस फेस्ट अन्तर्गत टेनिस र सेभेन ए साइड प्रतियोगिता जारी रहेको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । बुधबारको सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा सगरमाथा निकेतनमाथि लिटिल फ्लावर स्कुलले सहज जित हाँसिल गर्यो । सगरमाथाले १ गोल गर्दा लिटिल फ्लावरले ५ गोल गरी सहज जित निकालेको हो ।
दोस्रो खेलमा इडेन्स एकेडेमीलाई १ का विरुद्ध २ गोल गर्दै मेट्रोपोलिटन एकेडेमीले स्थान सुरक्षित गर्यो । तेस्रो खेलमा पोखरा पब्लिक र वेलनन एकेडेमीबिच १–१ भएपछि टाइब्रेकरमा ३–१ गोलका साथ वेलनन एकेडेमी अगाडि बढेको छ ।
नेपाल आदर्श र शान्तिदीप सकुलबिच भएको चौँथो खेलमा ४–१ गोलका साथ शान्तिदीप स्कुल चम्कियो । पाँचौँ खेलमा टाइब्रेकरबाट ८–७ गोलका साथ प्रगति स्कुललाई पराजित गरी साइनिङ स्टारले आफ्नो यात्रा सुरक्षित राख्यो । बुधबारको अन्तिम खेलमा बालमन्दिरलाई सेन्ट फ्रान्सिस स्कुलले ४–१ गोलअन्तरले पराजित गर्यो ।
लिग चरणमा खेलाइएको बास्केटबल खेलतर्फ बुधबार छात्रा र छात्र दुबै समूहका खेल भए । छात्रा बास्केटबलतर्फ कुमुदिनी होम्सलाई बाल कल्याणले १५–१२ स्कोरका साथ पराजित गर्यो । छात्रतर्फ स्पाइरल ग्यालेक्सीले प्रगतिलाई ५२–१३, फिस्टेलले वेलननलाई ३८–१८, अल्फाले पोखरा युनाइटेडलाई ५१–३१ स्कोरले पराजित गरे । मनकामना बोर्डिङ स्कुलले भद्रकालीलाई ३७–२४, स्पाइरल ग्यालेक्सीले अल्फालाई ५७–३९, प्रगतिले पोखरा युनाइटेडलाई ५२–२९ र अन्तिम खेलमा मनकामना र्बोिर्डङल वेलनन एकेडेमीलाई ४५–२९ स्कोरले हराए ।
यसैगरी, १२ वर्षमुनिको टेनिसतर्फ बुधबार भएको पहिलो खेलमा गण्डकी बोर्डिङ स्कुलका स्पन्दन उदासले फिस्टेल एकेडेमीका सुवान केसीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे भने गण्डकी बोर्डिङ स्कुलका प्रफुल्ल श्रेष्ठले अमरसिंह माविका एलिस गौतमलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे ।
गण्डकी बोर्डिङ स्कुलका डोजन गुरुङले फिस्टेल एकेडेमी स्कुलका रियान्स भट्टराईलाई ६–१, ६–० को सोझो सेट र फिस्टेल एकेडेमी स्कुलका आर्यसले गण्डकी बोर्डिङ स्कुलका सूर्यांश श्रेष्ठलाई ६–१, ६–० को सोझो सेटमा हराए । १० वर्षमुनिको खेलमा फिस्टल एकेडेमी स्कुलका सुवान केसीले फिस्टेलकै आरुष थापालाई ६–०, ६–० को सोझो सेटमा आउट गरे भने शिशु निकेतन स्कुलका इभानले फिस्टेल उकेडेमी स्कुलका रियांश भट्टराईलाई ६–३, ६–० स्कोरका साथ सोझो सेटमा पराजित गरे । बुधबारको अन्तिम खेलमा शिशु निकेतन स्कुलका ओमयुगले अमरसिंह माविका एलिस गुरुङलाई ०–६, ७–५, १०–४ को सेटमा विजयी भए ।
प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
तपाईको प्रतिक्रिया