लेखनाथमा महोत्सव सुरु

लेखनाथ ।
लेखनाथमा बिहीबारबाट १९ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ भएको महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव सुरुआत गरे । उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने जनाए । मुख्यमन्त्री पाण्डेले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको उल्लेख गरे ।
उनले गाँजालाई वैधता दिने प्रदेश सरकारले तयारी गरिरहेको सुनाउँदै यसलाई लागुपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने विचार राखे । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न चरणमा छलफलसमेत भएको उनको भनाइ छ ।
गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको उनले खुलाए । मुख्यमन्त्री पाण्डेले विदेशबाट ठूलो परिणाममा मदिरा आयात हुने तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने गरेको तर्क गरे ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नाम नै मेटाउने गरी महानगरपालिका बनाए पनि यहाँका जनतालाई भने त्यो पाच्य नभएको जनाए । लेखनाथमा देखिएको विविधताले भरिएका झाँकी र्यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना सहर बनाउन सामूहिक भावनाले अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिलाको सहभागिता उत्साहजनक देखिएकोमा खुसी व्यक्त गर्दै महिला सशक्तीकरणका लागि पनि सबैले सोच्नुपर्ने जनाइन् । संघीय सांसद मनबहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी विकास गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले उत्पादन र उद्यमशीलतालाई लक्ष्य मानेर अगाडि बढ्न अनुरोध गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातीत वस्तुमा मात्र निर्भर हुँदा देशको अर्थतन्त्र कमजोर हुँदै गएको टिप्पणी गरे ।
महासंघकै वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र व्यापारका बारेमा बुझाउन नसक्दा विदेशिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ चिन्तन गर्न आग्रह गरे । गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट व्यवसायीका समस्या नबुझ्दा अब व्यवसायीहरु पनि विदेशिनुपर्ने अवस्था सृजना भएको दाबी गरे ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवावाई कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिइन् । उद्यमशीलताका बारेमा युवा र महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
महोत्सवमा स्थानीय आमा/महिला समूह, संघ संस्था र विभिन्न जातजाति एवं भाषाभाषीले ४ सयभन्दा बढी झाँकी, र्याली निकालेका थिजए । रत्यौली प्रतिोगिताका लागी ३५ समूहमध्येबाट छनोट भएका २० समूहको नाम घोषणा गरिएको छ ।
पुष १६ गतेसम्म चल्ने महोत्सवमा थ्रिडी आर्टमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर प्रदर्शन, एलइडी डिस्प्लेमार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकका लागि ई–सेवाबाट टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी लगायतका कार्यक्रम तय छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम, ख्यातिप्राप्त कलाकारबाट दैनिक प्रस्तुति, कन्सर्ट लगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम हुँदै छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया