सम्पादकीयः मन्त्री किराँतीको अभिव्यक्ति र धर्म निरपेक्षता

समाधान संवाददाता २०८० पुष ६ गते ११:५४

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एउटा धार्मिक समूहको कार्यक्रममा क्रिश्चियन धर्म नमान्ने संविधानविरोधी हुन् र संविधानविरोधीलाई देशद्रोही भनेका छन् । नेपालमा ‘क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी’ भएको र संविधान नमान्नेहरू ‘देशद्रोही’ भएकोले तिनीहरूलाई ‘जेल हाल्नुपर्ने’ अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । निश्चित धर्म नमान्नेलाई जेल हाल्ने मन्त्रीको तहबाट भनाइ आएको छ ।

Advertisement

इसाई धर्म र संविधानको चर्चा गर्दै मन्त्री किराँतीले बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले उनलाई बर्खास्त गरी जेल हाल्न माग गरेका छन् । नेपालको संविधान अनुसार धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्र सम्झनु पर्छ । संविधानको धारा ४ ले सनातनदेखि चलिआएको धर्म–संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारलाई सुम्पिएको छ । सनातनदेखि चलिआएको धर्म–संस्कृति भन्नाले हिन्दू, बौद्धलगायत ओमकार परिवारले मान्ने धर्म तथा किराँत र प्रकृतिलगायतका परम्परागत धर्म–संस्कृति हुन् ।


सार्वजनिक ओहोदामा बसेका मन्त्री किराँतीको अभिव्यक्ति संविधानको धारा ४ विपरित छ । धर्म परिवर्तनलाई दण्डनीय भन्ने संविधानको व्यवस्थाको समेत उल्लंघन भएको छ । संस्कृति मन्त्रीका रुपमा किराँतीको जिम्मेवारी सबै धर्म–संस्कृतिको सम्मान गर्नु हो । र, धार्मिक सद्भावका लागि समाजलाई प्रोत्साहित गर्नु पनि हो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । धर्म संसारले अपनाउने वैज्ञानिक आविस्कार जस्तो होइन । देश, समाजको पुरातन संस्कृति र परम्पराको निरन्तरतासँगै व्यक्तिको धारणाले प्रसार हुने विषय हो ।

लोकतन्त्रमा संविधानप्रति शान्तिपूर्ण असन्तुष्टि जनाउन पाइन्छ । र, वैधानिक बाटोबाट सामर्थ पु¥याएर धर्म निरपेक्षतालाई परिवर्तन गर्न सकिन्छ । नेपाल बहुधार्मिक मुलुक हो । नेपालमा कुल १० वटा धर्म मान्ने मानिस मध्ये सबैभन्दा बढी ८१ दशमलब १९ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ । जनगणनाको प्रतिवेदनले नेपालको दोस्रो प्रमुख धर्मसहित चार धर्मावलम्बीको जनसंख्या क्रमशः घट्दै गइरहेको देखाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको संख्या ८.२१ प्रतिशत, तेस्रो स्थानमा रहेको इस्लामको ५.०९ प्रतिशत र चौथो स्थानमा रहेको किराँतको ३.१७ प्रतिशत जनसंख्या छ ।

नेपालमा इसाईहरूको जनसख्या १.७६ प्रतिशत छ । नेपालको रंगी बिरंगी फूलबारीमा इसाई धर्मावलम्बीहरू पनि एक हुन । धार्मिक लगागतका अल्पसंख्यकको सम्मान हुनु पर्ने विश्वव्यापी मान्यता छ । हिन्दु बाहुल्यता रहेको नेपालमा कहिले काँही त्यसमा कमि कमजोरी देखिएको छ । त्यसलाई सुधार गर्नु पर्छ । सदियौंदेखिको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु पर्नेमा राज्यका उच्च ओहोदामा बस्ने मन्त्रीले कुनै धार्मिक समुदायलाई उचाल्न भन्दापनि सबै धर्मावलम्बीको सम्माान हुने गतिविधि गर्नु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया