फिस्टेल स्पोर्टस् फेस्टको उद्घाटन

पोखरा ।
फिस्टेल एकेडेमीद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरेका छन् । प्राडा गुरुङले गुणस्तरीय शिक्षाका लागि राजधानी वा विदेश जानुको विकल्प मोफसलमै फिस्टेल एकेडेमीले दिएको जनाए ।
उनले भने, ‘अहिले एउटा वर्ग असन्ततिलाई गुणस्तरीय र समयानुकूलको शिक्षा दिलाउनका लागि केन्द्र तथा विदेशतर्फ पलायन भइरहेको अवस्था छ तर त्यसको विकल्पका रूपमा मोफसलमा फिस्टेल एकेडेमी उदाएको छ ।’ उनले आगामी दिनमा फिस्टेल अझ सशक्त भएर शिक्षा क्षेत्रमा लाग्ने अपेक्षा गरे ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यालय सिकाइको थलो हो भन्ने कुरा फिस्टेल एकेडेमीले प्रमाणित गरेको विचार राखे । पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीले सामुदायिक र निजी विद्यालय हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प नरहेको जनाइन् । वडाबाट सामुदायिक तथा संस्थागत विद्यालय भनेर विभेद नगरी विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने कार्यक्रममा समान सहभागिताको अवसर दिइएको उनले सुनाइन् ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले शिक्षामा संस्थागत विद्यालयको ठूलो हात रहेको बताउँदै विश्वविद्यालयमा विद्यार्थीको खडेरी परिरहेको अवस्था विद्यालयमा पनि त्यस्तो अवस्था आउने सक्नेबारे चनाखो हुनुपर्ने बताए । जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बाँनियाले खेलकुदले शारीरिक, मानसिक, आर्थिक, सामाजिक र संवेगात्मक विकास गर्नेमात्र नभई आपसी भाइचारासमेत बढाउने जनाए ।
विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा छात्रछात्राले सांस्कृतिक प्रस्तुति राखेका थिए । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, सहप्राचार्य कमल लामिछाने, स्कुल कोअर्डिनेटर डेबोरा लुइस न्युमन र विद्यार्थी रिजा श्रेष्ठले पनि कार्यक्रममा बोलेका थिए ।
औपचारिक रूपमा बिहीबार उद्घाटन भए पनि मंगलबारबाट नै खेलहरू जारी रहेको अतिरिक्त क्रियाकलाप संयोजक राजा मुखियाले बताए । बिहीबार फुटबलका ८ खेल, बास्केटबलका ६ खेल र टेनिसका ९ खेल भएका छन् ।
फुटबलतर्फ भएको पहिलो खेलमा द ड्रिम स्कुलले सेन्ट फ्रान्सिस स्कुलमाथि २–० गोलको सहज जित हासिल ग¥यो । दोस्रो खेलमा साइनिङ स्टार स्कुलका विरुद्ध शान्तिदीप स्कुलले ५–२ गोलको नतिजासहित अर्को चरणका लागि छनोट भयो । तेस्रो खेलमा वेलनन एकेडेमीले मेट्रोपोलिटन एकेडमीविरुद्ध ३–० को सहज जित निकाल्यो ।
चौँथो खेलमा लिटिल फ्लावर (बी) ले प्रतिभालाई २–० गोलका साथ पराजित गर्दा पाँचौँ खेलमा शान्ति निकुञ्जले लिटल फ्लावर (ए) माथि ४–० को सहज जित प्राप्त गर्यो । छैटौँ खेलमा बाल कल्याणले पोखरा स्पाइरललाई २–० गोल गर्न सफल भयो । सातौँ खेलमा कालिकाले शिशु कल्याणलाई ३–१ गोल अन्तरले पराजित गर्दा अन्तिम खेलमा फिस्टेल एकेडेमीले छोरेपाटन माविलाई १–० गोलले पराजित गर्यो ।
बिहीबार नै भएका बास्केटबलका लिग चरणका खेलमा छात्रातर्फ फिस्टेल एकेडेमीले कुमुदिनीलाई २१–४ को स्कोरले पराजित गर्दा विन्ध्येश्वरी आदर्शले मनकामना बोर्डिङलाई २२–५ को स्कोरले पराजित गर्यो । छात्रतर्फको खेलमा फिस्टेल एकेडेमीले भद्रकालीलाई ५०–३४ स्कोरले पछि पार्दा मनकामनालाई ४०–३१ ले पराजित गर्यो । पाँचौँ खेलमा स्पाइरल ग्यालेक्सीले पोखरा युनाइटेडलाई ४४–२२ स्कोरले पराजित गर्यो भने अन्तिम खेलमा अल्फा एकेडेमीले प्रगतिलाई ३३–२३ स्कोरले आउट गर्यो ।
१६ वर्षमुनिको टेनिसतर्फ बिहीबार भएको पहिलो खेलमा मैत्रेय पाठशालाकी साल्भी शेरचनले सेन्ट मेरिजकी गृष्मा गुरुङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन् भने सेन्ट मेरिजकै सरिसा शेरचनले मैत्रेय पाठशालाकी आहाना शेरचनलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरिन् । यसैगरी मैत्रेय पाठशालाकै आरुषी तुलाचनले फिस्टेल एकेडेमी स्कुलकी मान्सा श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा र शिशुनिकेतन स्कुलकी आदिती पौडेलले फिस्टेलकी विदुषी पौडेललाई ६–०, ६–१ को सोझो सेटमा हराइन् ।
यसैगरी, छात्र टेनिस खेलमा गण्डकी बोर्डिङ स्कुलका स्पन्दन उदासले गण्डकी बोर्डिङकै सूर्यांश श्रेष्ठलाई ६–०, ६–१ को सोझो सेटमा आउट गरे भने समता स्कुलका सन्दीप बिकले गण्डकी बोर्डिङ स्कुलका डोजन गुरुङलाई ६–१, ६–१ स्कोरका साथ सोझो सेटमा पराजित गरे । १० वर्षमुनिको खेलमा सेन्टमेरिजकी बनी एस मेथलागनले फिस्टेलकी सायना पाण्डेलाई ६–०, ६–० स्कोरमा पराजित गरिन् ।
९ वर्षमुनिको खेलमा शिश निकेतनका ओमयुगले फिस्टेलका आरुष थापालाई ४–१, ४–१ को सेटमा पराजित गरे । यसै गरी फिस्टेलकी जीवाश्री भट्टराईले फिस्टेलकै सायना पाण्डेलाई ४–०, ४–१ को स्कोरमा पराजित गरिन् । ७ गतेसम्म चल्ने प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
तपाईको प्रतिक्रिया