पश्चिमेलीलाई पोखरा भ्रमणको निम्तो

समाधान संवाददाता २०८० पुष ६ गते १३:२२

पोखरा ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सकिएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया आयोजना गरिएको थियो ।

Advertisement


ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालित अभियानमा ती दुई संस्थाबाहेक नाट्टा, टान र पत्रकारहरु सहभागी थिए । अभियानको क्रममा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुवेदीले पश्चिम नेपालका बासिन्दालाई संघका तर्फबाट पोखरा भ्रमणको निमन्त्रणा दिएका थिए ।


पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्देश्यलाई पूरा गर्न सिधा हवाई तथा स्तरीय बस सेवा जरुरत पर्ने विषयमा दुवै तर्फका व्यवसायी एकमत देखिएका छन् । भैरहवामा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दुबै शहरका व्यवसायी मिलेर सरकारलाई संयुक्त दबाब दिन एकमत देखिएको आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले बताए ।

Advertisement


नेपालगञ्जमा आयोजित कार्यक्रममा नाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यवहोर्नुपर्ने वातावरण अन्त्य हुनुपर्नेमा जोड दिइएको थियो । धनगढीमा आयोजित कार्यक्रममा भने पोखरा र धनगढीबिच विगतमा भएको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने विषयमा चर्चा भयो । महेन्द्रनगरमा भएको कार्यक्रममा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न पोखरा र महेन्द्रनगरका व्यवसायी मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्नेमा जोड दिइएको संघकी सचिव पार्वती पाण्डेले सुनाइन् ।


अभियानका क्रममा संघले पोखरा र वरपरको भ्रमणका लागि विभिन्न ५ प्याकेज पनि सार्वजनिक गरेको थियो । सो क्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड रहेको, यहाँको पर्यटनमा१५ हजारले रोजगारी पाएको जनाए । पोखराको होटल क्षेत्रमा ५ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको बताइन्छ । दुई दशकअघि सुरु भएको जाउँ है पोखरा अभियानकै कारण नेपालीमा घुम्ने बानीको विकास भएको र अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपाली हुने गरेको तथ्यांक संघका अध्यक्ष सुवेदीले सुनाए ।

Advertisement


कोभिड १९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको सुनाउँदै उनले विस्तारै अब पर्यटन लयमा फर्काउन आफूहरुले देश, विदेशमा प्रबद्र्धनका कार्यक्रम जारी राखेको उल्लेख गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रबद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको स्मरण गरे ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटक झण्झटरहित रुपमा नेपाल छिर्न पाउने व्यवस्था सरकारले गर्नुपर्ने बताए । यो विषयलाई परिषद्ले सरकारसमक्ष राखिसकेको पनि उनको भनाइ छ । आवश्यकता अनुसार भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्थाका लागि समेत पहल गर्न उनले सरकारसँग माग गरे ।

तपाईको प्रतिक्रिया