कोरला सडकमा १० पुल

सुन्दरकुमार थकाली २०८० पुष ८ गते ११:१४

जोमसोम ।
उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक खण्डमा निर्माणाधीन पुलमध्ये ५ वटा पक्की मोटरेबल पुल सञ्चालनमा आएका छन् ।


यसअघि ५ वटा पुल निर्माण सम्पन्न भइसकेको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले जनाएको छ । निर्माणको अन्तिम चरणमा रहेका ५ पुल सकिएपछि कोरला सडकमा १० पक्की पुल तयार हुने छन् । यसअघि म्याग्दीको घट्टे खोला पुल, राहुघाट खोला पुल, मुस्ताङको लेते खोला पुल, पान्डा खोला पुल र स्याङ खोला पुल आयोजनालाई हस्तान्तरण भइसकेका छन् ।

बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको छाक्ताङ खोला पुल र लोमान्थाङ—कोरला सडकखण्ड अन्तर्गतका ४ वटा पक्की मोटरेबल पुल सञ्चालनमा आएको कालिगण्डकी करिडोर सडक आयोजनाले जनाएको हो । छाक्ताङ खोला पक्की पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिए ।

Advertisement

पुलको केही फिनिसिङको काम बाँकी रहेको भए पनि यातायात सञ्चालनका खुला गरिएको उनको भनाइ छ । पुल निर्माण अन्तिम चरणमा रहँदा यातायातका साधन आवतजावत गर्न थालेपछि बर्खायाममा मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै सहज भएको थियो ।

९० प्रतिशतमाथि भौतिक प्रगति रहेका पुल केही फिनिसिङका काम बाँकी रहँदै खुला गरिएका हुन्

Advertisement


छाक्ताङ खोला पुलको लम्बाइ ८० मिटर छ । २ स्पानको यो पुलक ७ करोड ४२ लाखमा कालिका गजुुरमुखी जेभीले बनाएको हो । छाक्ताङ खोला पुलको चालु आर्थिक वर्षमा सबै काम सकिने चापागाईले सुनाए ।


जोमसोम—कोरला सडकखण्ड अन्तर्गत लोमान्थाङ—कोरला सडकमा पर्ने आयोजनाका ४ मोटरेबल पुलको निर्माण पनि अन्तिम चरण छ । पुल निर्माण अन्तिम चरणमा पुग्दा लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाका पुल यातायात आउजाउ गर्न मिल्ने गरी सञ्चालनमा आएको आयोजनाले जनाएको छ ।


यी ४ वटै पुलको २०७६ असार ३१ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अवधि २०८० असोज ३० गतेसम्म रहेको लोमान्थाङ—कोरलाका ४ पुलको कामको म्याद सकिएको २ महिनापछि यातायात सञ्चालनका लागि योग्य बनेका हुन् ।


४ वटै पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशतभन्दा माथि रहेको आयोजनाका सूचना अधिकारी चापागाईले जानकारी दिए । लोमान्थाङ, किम्लिङ ,नाम्डोक र भर्मा खोला पुल निर्माणको जिम्मा मुक्तिनाथ अमित जेभीले लिएको छ । भौगोलिक विकटताका बाबजुद निकै द्रुत गतिमा पुल निर्माण सुरु गरेको कम्पनीले सन्तोषजनक रुपमा भौतिक प्रगति गरेको आयोजनाले जनाएको छ ।


यातायात सञ्चालनमा आएको १ स्पान रहेको २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, २ स्पानको ५० मिटरको किम्लि‘ङ खोला पुलको लागत ६ करोड ३० लाख, २ स्पानकै ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र २ स्पानको ८० मिटर लामो भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख छ ।


राष्ट्रिय गौरवको सडक अन्तर्गत उपल्लो मुस्ताङमा ४ वटा पुल एकै साथ सञ्चालनमा आएपछि बर्खायाममा कोरला नाका जाने यातायातका साधनलाई निकै सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया