अनेरास्ववियु गण्डकीमा प्रबिन

समाधान संवाददाता २०८० पुष ८ गते ११:३४

पोखरा ।
नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रबिन श्रेष्ठ सर्वसम्मत भएका छन् । पोखरामा शनिबार बिहान सकिएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको हो ।

Advertisement


हाललाई पदाधिकारीसहित ४८ जनामात्र चयन गरिएको छ । बाँकी ३ जना प्रदेश कमिटीको बैठकले मनोनित गर्ने अध्यक्ष मण्डलका सदस्यसमेत रहेका एमाले प्रदेश कमिटी सदस्य भरतमान गुरूङले जानकारी दिए ।


कमिटी उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङ्जाका विश्वदर्शन पराजुली, सचिवमा नवलपुरका सुरज सापकोटा चयन भएका छन् । सहसचिवमा कास्कीकी कृति भट्टराई, अनिल कुँवर, दुर्गानाथ लामिछाने, स्याङ्जाका स्वीकार पोखरेल र कोषाध्यक्षमा स्याङ्जाकै विक्रम क्षेत्री सर्वसम्मत बने ।


अध्यक्षबाहेक पदाधिकारी बन्न चाहेकाहरू सबैजसो कमिटीमा अटाएका छन् । तर, अध्यक्षमा एकलौटी भएको भन्दै केही विद्यार्थी असन्तुष्ट छन् । निर्वाचन प्रक्रियामा नगई अनेरास्ववियुका केन्द्रीय पदाधिकारीले रोजेअनुसार नेतृत्व ल्याइएको भन्दै अखिलभित्र असन्तुष्टि छ । अध्यक्षमा कास्कीका सञ्जय पौडेल बैरागी र महेन्द्र उपाध्याय र तनहुँका रमाकान्त पोखरेल पनि आकांक्षी थिए ।


अधिवेशन गर्न अनेरास्ववियु केन्द्रीय सचिव एवं गण्डकी इन्चार्ज आशीर्वाद सुवेदीको नेतृत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । अध्यक्ष मण्डलले उम्मेद्वारी आह्वान र आकांक्षीलाई राखेर छलफल नै नगरी एकलौटी नाम घोषणा गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया