मेयर कप खेलकुद आजबाट

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदै छ । पोखरा रंगशालामा हुने ४ विधा अन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
६६, स्वर्ण, ६६ रजत र १ सय ४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ । भलिबल छात्र/*छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्स अन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसु लगायत खेल अध्यक्ष गोदारले बताए ।
भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिनेछ ।
एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३/३ हजार, त्यसपछिका ११ जनाले २/२ हजार र बाँकी ११ जनाले १/१ हजार पाउने छन् । कराँते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३/३ हजार, त्यसपछिका १२ जनाले २/२ हजार र बाँकी १२ जनाले १/१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था छ ।
६६ स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि ३ हजार २ सय विद्यार्थीबीच प्रतिस्पर्धा
१ विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट/तौल समूहमा एक/एक जना खेलाडी सहभागी गराउन पाइनेछ । एक ज खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।
पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता गर्न २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार गर्ने तय छ । उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने ३ विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने छन् ।
समिति अध्यक्ष गोदारले खेलाडी उत्पादनको मुख्य थलो विद्यालय भएको जनाए । उनले प्रदेशभरका पालिकामध्ये गत वर्ष पोखरा महानगरपालिकाको टिम उत्कृष्ट बनेको र त्यसलाई निरन्तरता दिन आफूहरूले सक्दो प्रयास गरिरहेको बताए । गत वर्ष फागुनमा भएको कास्की जिल्लास्तरीय रनिङ सिल्डमा पोखरा २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको थियो ।
महानगरका शिक्षा अधिकृत सोम सुवेदीले निजीभन्दा पनि पोखराका सरकारी विद्यालयको प्रदर्शन सुधारिँदो रहेको सुनाए । गत वर्षको पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य गरेर १३ पदकसहित टप्स मावि च्याम्पियन बनेको थियो । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक पाएर द्वितीय र सहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर तृतीय भएका थिए ।
तपाईको प्रतिक्रिया