टेवानको छैटौं साधारणसभा

समाधान संवाददाता २०८० पुष ८ गते १३:२५

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ(टेवान)ले छैटौं वार्षिक साधारणसभा शुक्रबार आयोजना गरेको छ । सभामा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पनि यही भएको जनाइन् ।


पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको उल्लेख गर्दै उनले प्राकृतिक सौन्दर्यलाई जोगाउँदै त्यसको उपयोग गर्नुपर्ने धारणा राखिन् । महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै टेवानले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने किसिमका कार्यक्रममा जोड दिन सुझाइन् ।


प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्न आग्रह गरे । पर्यटनको विकासले आर्थिक समृद्धिसँगै रोजगारी अभिबृद्धिमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।

Advertisement


टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवानले खेलेको भूमिका उल्लेखनीय भएको जनाए । टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिना (पगेनी), महासंघ जिल्ला अध्यक्ष बिमला भण्डारी, संगीता बराल, टेवान महासचिव अनिता खड्का भट्टराई र उपाध्यक्ष प्रभा सुवेदीले बोलेका थिए ।


सभाले महासचिव अनिता खड्का भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया