रेडक्रसको केन्द्रीय गोष्ठी सुरु

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा ४१ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी पोखरामा सुरु भएको छ । ‘विश्वव्यापी रुपमा अभिप्रेरित, स्थानीय रुपमा सशक्तीकृतः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने नाराका साथ भएको गोष्ठीमा ३ सयभन्दा बढी सहभागी छन् ।
देशका ७७ जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधि, शिक्षक नायक, केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेशका प्रतिनिधि, दातृ निकायका प्रतिनिधि, जिल्ला तथा सर्कलका प्रतिनिधि र कर्मचारी गरी ३ सयभन्दा बढी प्रतिनिधिले भाग लिएको केन्द्रीय जुनियर तथा युवा विभागका सभापति विष्णुप्रसाद नेपालले जानकारी दिए ।
महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपद् व्यवस्थापन तथा मानवीय सेवामा कार्यरत रेडक्रस जस्तो राष्ट्रिय स्तरको सञ्जाल भएको संस्थाको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै कानुन आवश्यक पर्ने बताए । सरकारले त्यस्तो कानुन बनाउन प्रक्रियाअघि बढाएको मन्त्री आचार्यले जानकारी दिए ।
‘रेडक्रसले समय सापेक्ष रुपमा काम गर्नको लागि नियम कानुन र विधानमा सुधार गर्नुका साथै संस्थालाई रुपान्तरण गर्नु पर्छ,’ उनले भने, ‘काम गर्ने शिलशिलामा रेडक्रसले विभिन्न बाधा अवरोधको सामना गर्नु परेको छ । अविचलित भएर मानवीय क्षेत्रका कामलाई निरन्तरता दिनु पर्छ ।’ रेडक्रसको सिद्धान्त, मानवीय मूल्य र मान्यताको आधारमा देश भरका युवालाई समेटिएको उल्लेख गर्दै उनले सञ्जालको माध्यमबाट युवाको क्षमताको विकास गरी राष्ट्र निर्माणमा लगाइएको जानकारी दिए ।
नेतृत्व र निर्णय प्रक्रियामा युवाको सहभागिता बढाउनु पर्ने आवाज उठेको उल्लेख गर्दै उनले रेडक्रसले युवामा थप उर्जा र देशभित्र केही गर्न सक्ने भावनाको विकास गर्न गोष्ठीले सहयोग पुर्याएको दाबी गरे ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति प्रा सुदर्शन नेपालले रेडक्रसले जुनियर तथा युवालाई आशाको केन्द्र र प्रेरणाको स्रोत मानेर काम गरेको जानकारी दिए । गोष्ठीमा सहभागी युवा प्रतिनिधिबाट रेडक्रसले धेरै सिक्ने अवसर पाएको उल्लेख गर्दै उनले युवाको रुपान्तरण, सशक्तिकरण र सिकाईको लागि महत्वपूर्ण अवसरको रुपमा गोष्ठीलाई लिन आग्रह गरे । उनले युवाको समाज सेवा गर्ने इच्छालाई वास्तविकतामा परिणत गर्ने घोषणा गरे । उनले युवामा प्रशस्त सम्भावना तथा असिमित क्षमता भएको बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विपद् व्यवस्थापन, राहात उद्दार, रक्त सञ्चार सेवा तथा एम्बुलेन्सको सञ्चालन व्यवस्थापनमा रेडक्रसले स्थानीय प्रशासनसँगको समन्वयमा काम गरेको जानकारी दिए ।
केन्द्रीय जुनियर तथा युवा विभागका सभापति नेपालले गोष्ठीले मानवीय सेवा, स्वयंसेवी भावनाको विकासको अलवा देशमा युवाको भविश्य राम्रो भएको सकारात्मक सन्देश दिएको दाबी गरे । ‘अहिले युवाहरु विदेशिने र पलायन हुने अवस्था तथा देशका देखा पर्ने समस्याका कारण युवा परिचालनमा चुनौती छ,’ उनले भने, ‘युवा पलायन लगायतका चुनौतीको सामना गर्नका रेडक्रसको युवा केन्द्रीत कार्यक्रमको योगदान छ ।’ उनले नेपालमा युवाको भविश्य उज्ज्वल भएको सकारात्मक धारणा ल्याउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
उनले सोसाइटीबाट सञ्चालन हुने सेवा तथा विकासमूलक गतिविधिमा जुनियर तथा युवाको भूमिका, अन्तर्राष्ट्रिय विनियम कार्यक्रमको अनुभव आदान प्रदान, साइबर सचेतना, परिवर्तक अभियानः द चेञ्ज मेकर अभियान, विपद् व्यवस्थापन, विद्यार्थीमा आँखा जाँचको महत्व, युवा सहभागिता रणनीति, सवारी दुर्घटना, लगायत सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गोष्ठीको आकर्षण विषय रहने बताए ।
नेपाल रेडक्रसमा ६ हजार ५ सय ३८ जुनियर तथा युवा सर्कलमा ९ लाख ७० हजार ३ सय १० भन्दा बढी सदस्य आवद्ध छन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपसभापति राधा नेपाली, महामन्त्री भूपतिलाल श्रेष्ठ, कास्कीमा सभापति डण्डराज शर्मा, उपसभापति उर्मिला खड्का, शाखाका मन्त्री सुरेन्द्र गुरुङ, युवा रेडक्रस सर्कल शिवशक्ति माविका संरक्षक तथा प्रधानाध्यापक शम्भुराज बास्तोला लगायतले गोष्ठीका बारेमा बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा हुने गोष्ठीको व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले लिएको छ । युवा रेडक्रस सर्कल शिवशक्ति माविको आतिथ्यतामा गोष्ठी भएको हो ।
राष्ट्रिय गोष्ठी सुरु हुनुअघि महेन्द्रपुलबाट निस्केको झाँकीसहितको प्रभातफेरी र्याली रानीपौवा हुँदै कार्यक्रम स्थल शिवशक्ति मावि फुलबारीको प्रांगणमा पुगी सभामा परिणत भएको छ ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया