विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट अस्पताल

पोखरा ।
धार्मिक स्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ मा मन्दिरको जग्गा, भेटी लगायतका आम्दानीबाट विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न सक्ने प्रावधान छ । यही निर्देशिका लागू भएको पोखराको विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट प्राकृतिक अस्पतालसहित अरु सामाजिक काम भएका छन् ।
विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय विन्ध्यवासिनी गुठीको पोखरा १ गुठीबारीको २१ रोपनी १२ आनामा छ । आयुर्वेद विभागबाट १५ बेडको स्वीकृति लिएर गएको असारबाट यसले अनौपचारिक रुपमा सेवा सुरु गरेको हो । पूरै संरचना निर्माण भएपछि २ सय बेड क्षमतामा यसलाई चलाउने तयारी छ । अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।
यहाँको उपचारमा औषधी प्रयोग हुँदैन । शरीरमा पञ्च तत्वको असन्तुलनका कारण उत्पन्न हुने रोगहरु पञ्चतत्वकै माध्यमबाट निमूल पार्ने विधि प्राकृतिक चिकित्सा हो । अस्पतालका डा समीर क्षेत्री पञ्चतत्वको समुचित प्रयोग गरी उपचार गरिने बताउँछन् । ‘रोगको प्रकृति र रोगीको अवस्था हेरी माटो, पानी, हावा, सूर्यको किरण र आकासलाई भिन्न, भिन्न रुपमा शरीरसँग जोडिन्छ । आधुनिक प्राकृतिक चिकित्साले फिजियोथेरापी, अकुपञ्चर, काइरो प्राक्टिस जस्ता पद्धति पनि उपयोग गर्छ,’ उनी भन्छन् ।
प्राकृतिक उपचारसँग योगको नङमासु जस्तै सम्बन्ध रहेको डा क्षेत्रीको भनाइ छ । यहाँ महिला र पुरुषका लागि अलग अलग डिमार्टमेन्ट र फरक कर्मचारी छन् । यो अस्पतालमा पायल्स, पिनास, दम, डिप्रेसन, मोटोपन, मधुमेह, एलर्जी, अल्सर, पत्थरी, जन्डिस, कब्जियत, रुघाखोकी, ज्वरो, पखाला, महिलाका विभिन्न समस्या, छालासम्बधी रोगहरु, थाइराइड, बाथ, रक्तचाप, माइग्रेन, दुखाई, ढाड वा कम्मरको दुखाई, नशा च्यापिएको, फ्याटी लिभर जस्ता समस्याको उपचार हुन्छ ।
प्राकृतिक अस्पतालमा स्टिम बाथ, हिप बाथ, कोलोन हाइड्रो थेरापी, आर्म एन्ड फुट बाथ, मड थेरापी, एनिमा थेरापी, मसाज थेरापी, जेटस्प्रे थेरापी, इमर्सन बाथ, साउना, शिरोधारा, स्पाइनल स्प्रे थेरापी, सर्कुलर एन्ड लोकल जेट बाथ, डायलाइसिस टब, अन्डरवाटर मसाज थेरापीबाट यहाँ उपचार गर्ने गरिएको डा क्षेत्री बताउँछन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठ अहिले अस्पतालमा ३३ कर्मचारी रहेको र अहिले मासिक ७ देखि ८ लाख अनुदान दिने गरेको सुनाउँछन् । ‘अहिलेसम्म चार करोड लगानी भइसकेको छ, गुरुयोजनाअनुसार काम सक्न थप ४ करोड चाहिन्छ । पूर्ण रुपमा सञ्चालनमा आएको छ महिनाभित्रै अस्पतालले खर्च धान्छ,’ उनी भन्छन् ।
चार भिल्ला, योग भवन, प्राकृतिक उपचार गृह र मूल भवनको पहिलो तला तयार भईसकेका छन् । माथिल्लो तला तयार भएपछि आवासीय उपचार सुरु गर्ने तयारी छ । अस्पतालमा ५० हजार लिटरको टंकी, आफ्नै बोरिङ र लन्डीसमेत छन् । सूर्याेदयदेखि सूर्यास्तसम्मै घाम पर्ने अस्पताल परिसरमा जडिबुटीसहितका विरुवाहरु लगाइएको छ ।
सेवाग्राहीबाट प्राप्त शुल्क, अस्पताल समितिको सदस्यता र दाताहरुको सहयोगबाट अस्पताल चलाउने योजना छ । विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट गुरुकुल, एम्बुलेन्स र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रसमेत सञ्चालित छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया