सम्पादकीयः खोइलो खाँदा भाउन्न भएका रवि

पुराना पार्टीहरुसँग नागरिकको चरम वितृष्णा देखिन्छ । नयाँसँग पनि त्यस्तै वितृष्णा पैदा भएको संकेतका रुपमा शनिबार पोखरामा एउटा घटना प्रकट भयो । राजनीतिलाई सङ्लो बनाउँछु भनेर सञ्चारबाट फड्को मारेका रवि लामिछानेमाथि एक सहभागीले सभामा खोइलो प्रहार गरे । रविलाई यो घटनाबाट निकै ठूलो भाउन्न उत्पन्न भएको देखियो । सभामा सम्बोधन गर्दा गर्दै प्रहार हुँदा उनी अन्यमनस्क हुनु अस्वाभाविक थिएन । तर त्यसपछि उनले जुन प्रतिक्रिया दिए, त्यो स्वाभाविक थिएन । एक सार्वजनिक व्यक्तिमाथि टीकाटिप्पणी हुनु, आलोचना हुनु स्वाभाविक हो । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ठूलो कमजोरी आलोचनाबाट तर्सने र वा भड्किने हो । शनिबारको घटनामा पनि उनले अनियन्त्रित रुपमा प्रतिक्रिया दिएर उनले तिललाई पहाड बनाउने कोसिस गरे ।
राजनीतिसँग वा नेताहरुसँग असन्तुष्ट एक नागरिकले गरेको प्रहारलाई सुनियोजित ठान्नु अनि आफूले गरेका अनेक कामको पुरस्कार भनेर व्यंग्यात्मक असन्तुष्टि पोख्नु उनको कुण्ठा हो । हो, प्रहार त न नेतालाई न कुनै पनि नागरिकलाई हुनुहुन्छ । हुँदैन । हिंसात्मक गतिविधि आलोच्यमात्रै होइन, त्यज्य नै हो । उनीमाथि भएको प्रहार निन्दनीय र भर्तसनायोग्य नै हो । तर त्यसको सन्देश लिन छाडेर जुन ढंगले रवि आफूमाथि केही हुनै नहुने र भए त्यो भगवानमाथिकै प्रहार जस्तो ठान्नु घोर तानाशाही प्रवृत्ति हो ।
नेपाली राजनीति संगतिमा चलेको छैन । विसंगतिको अर्काे नाम नै राजनीति जस्तो भएको छ । रवि लामिछाने पनि दूधले नुहाएका व्यक्ति होइनन् । उनी पनि चरम विवादात्सद छविकै व्यक्ति हुन् । सञ्चारकर्ममा हुँदा पत्रकारिताको आचारसंहिताको धज्जी उडाउने गरी उफ्रनु उनका लागि सामान्य नै थियो, त्यसमाथि नागरिकता कानुन उल्लंघन गरी उनले आफूलाई कानुनभन्दा माथि राख्ने कोसिस गरेकै हुन् । नेतामाथिको आक्रोश र प्रहार रविमाथि पहिलो होइन, सुशील कोइरालामाथि जुत्ता प्रहार भएको थियो । पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्ची हानिएको थियो, अस्ति भर्खर केपी ओलीमाथि मुक्का प्रयास भयो ।
गिरिजाप्रसाद कोइरालामाथि ढुंगा कति वर्षिए, वर्षिए । अनि पुराना पार्टीका नेताहरुमाथि त कहिले टाउकाको मोल तोकिएको छ । कहिले लाठी ठोकिएको छ त कहिले गोली दागिएको छ । उनीहरुले ज्यानै हत्केलामा राखेर लोकतन्त्रका लागि संघर्ष गरे । त्यस्ता कुनै पनि प्रहारबाट विक्षिप्त बनेर षडयन्त्रको सिद्धान्त ओकलेनन् । तर, रविलाई भने अतिसारो भाउन्न हुनु भनेको उनी अझै पनि राजनीतिमा आलाकाँचा नै छन् भन्ने कुराको प्रमाण हो । राजनीतिमा आलोचनालाई आत्मसात गर्ने र सानातिना झमेला वा नागरिक असन्तुष्टिलाई सम्बोधन र समाना गर्ने साहस चाहिन्छ । जुन रविमा सर्वथा अभाव देखिन्छ ।
तपाईको प्रतिक्रिया