एमालेको संकल्प यात्रा समृद्धिको टर्निङ प्वाइन्ट
नेकपा (एमाले)ले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा १८औँ दिनमा ताप्लेजुङको चिवाभन्ज्याङ पुगेर समापन भयो । सो क्रममा सहभागी यात्रीले पुष्पलाल मध्यपहाडी राजमार्गको करिब १८ सय किलोमिटर दूरी पार गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हरक्षण नेतृत्व रहेको यात्रामा केन्द्रीय पदाधिकारीदेखि पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र जनसंगठनका सदस्यहरूको समेत सक्रिय सहभागिता रह्यो । यात्रा अवधिमा सानाठूला गरी करिब दुई सय कार्यक्रम भएको र यात्राको प्रभाव २५ लाख जनसमुदायसमक्ष प्रत्यक्ष वा परोक्ष रूपमा परेको पार्टीको दाबी देखिन्छ ।
यस यात्रालाई धेरैले आ–आफ्नै कोणले व्याख्या गरेका छन् । यसलाई केहीले लङमार्च त, केहीले क्याराभानसमेत भनेका छन् । केहीले यात्राको क्रममा भएका जनसम्बन्धका अनेकौँ आयाम औँल्याएर यसलाई ऊर्जामय ऐतिहासिक यात्रा भनेका छन् भने केहीले एमाले अध्यक्ष ओलीको सक्रियता, साहस र ‘क्रेज’को मुक्तकण्ठले प्रशंसा गरेका छन् । केहीले धुमिल बनाउन खोजिएको राजनीतिलाई सफा गर्न, निरुत्साहित हुन खोजेका मनलाई जागरुक बनाउन यस यात्राले आशाको सञ्चार गरेको बताएका छन् । जताबाट हेरे पनि यस यत्राले स्थापित गरेको सन्देश युगीन महत्तवको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक पाटोबाट यस यात्राको विहंगम विश्लेषण हुने नै छ ।
सम्बन्ध स्थानीयः २०७८ को जनगणनाको विश्लेषण गर्दा हरकोणबाट प्रचुर सम्भावना बोकेको मध्यपहाडी क्षेत्रमा जनसंख्या निरन्तर घट्नु मुख्य चिन्ता र चासोको विषय हो । त्यहाँ अवस्थित अधिकांश जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक देखिनु गहिरो खोजको सबाल हो । प्रचुर सम्भावना भएकै क्षेत्रमा यस्तो किन भइरेहेको छ ? यहाँको विकासका समस्या र सम्भावना के–के छन् ? अहिले भइरहेको विकास कुन गतिमा छ ?
थालिएका परियोजना थलिएका छन् वा दौडिएका छन् ? स्थानीय विकासबारे आमजनमानसको धारणा कस्तो छ ? उनीहरूले स्थानीय विकासमा कत्तिको अपनत्व महसुस गरेका छन् ? स्थानीय सरकारले कसरी काम गरिरहेका छन् ? स्थानीय कला संस्कृति सुशुप्त छ वा जिउँदोजाग्दो छ ? स्थानीय स्रोत, संस्कृति, श्रम र समृद्धि एकाकार भएका छन् कि पृथक् छन् ? यस्ता तमाम पाटामा नजिकै पुगेर हेर्ने, छाम्ने, अनुभूत गर्ने र स्वपरीक्षण गर्ने काम यो यात्राले गरेको छ । खासगरी विकासको प्रचुर सम्भावना भएको मध्यपहाडी क्षेत्रको बहुसम्भावनालाई देशको नेतृत्व पुञ्जले एकैठाउँमा बसेर नजिकबाट बुझ्ने सुनौलो अवसर यात्राले प्रदान गरेको छ । तीव्र रूपमा भइरहेको बसाइँसराइ रोक्न शीघ्र चाल्नुपर्ने कदम र योजनाबारे महत्वपूर्ण शिक्षा र प्रत्यक्ष सिकाइ यात्रीहरूले हासिल गरेका छन् ।
यात्राका सहभागीलाई स्थानीयले स्थानीय उत्पादन उपहार दिएर स्वागत गरेका थिए । धेरैजसो ठाउँमा सुन्तला, हिमाली क्षेत्र जोडिएका उच्च भागमा स्याउ र अन्य स्थानमा त्यहीँको स्थानीयविशेष उत्पादनले नै यात्रा टोलीलाई स्वागत गरेका दृश्यले कृषि, पर्यटन र संस्कृतिको त्रिवेणीका रूपमा मध्यपहाडीक्षेत्रलाई चित्रित गरेको छ । त्यसैगरी, जिल्ला–जिल्लामा (दैलेख, सुर्खेत, पूर्वी रुकुम, गोरखामा विकास निर्माणसम्बन्धी सर्वदलीय कार्यक्रम) बहुपक्षीय छलफल, विकास आयोजना (दुल्लुको पेट्रोल उत्खननस्थल, भेरी बबई, सुनकोसी–मरिण डाइभर्सन आदि) को अवलोकन, स्थानीय समस्यामा आधारित मागपत्र दर्जनौँ स्थानमा पेस गरिएका दृश्यले स्थानीयसँग सम्बन्ध प्रगाढ बनाउने यात्राको मूल उद्देश्य सार्थक भएको देखिन्छ । भरसक स्थानीयकै घरमा आवास, नेतृत्व र कार्यकर्ता सबैको सामूहिक बसाइ, भोजनमा स्थानीय उत्पादनमै जोड दिएका व्यस्थापकीय कार्यशैलीले स्थानीय जनसमुदायसँग पार्टीको सम्बन्ध अझ प्रगाढ बनेको छ ।
विकासको प्रचुर सम्भावना भएको मध्यपहाडी क्षेत्रको बहुसम्भावनालाई देशको नेतृत्व पुञ्जले एकैठाउँमा बसेर नजिकबाट बुझ्ने सुनौलो अवसर यात्राले प्रदान गरेको छ
सन्देश राष्ट्रियः मूलतः वर्तमान गठबन्धन सरकार बनेयता देशमा संकट गरिरिँदै गएको, कुनै पनि सूचकले आशा जगाउन नसकेको, व्यवस्थापन, सुशासन, विकास, अर्थतन्त्र, कूटनीति, हरक्षेत्र अधोगतिमा गएको छ । युवाले देश छोड्ने क्रम ह्वात्तै बढेको छ । आमजनसमुदायको निराशा र आक्रोश उच्च बिन्दुमा पुगेको छ । यसै पृष्ठभूमिमा एमालेले यो यात्रा तय गरेको थियो ।
जनमानसको विद्रोही मनोविज्ञानलाई आफ्ना पक्षमा पार्न विभिन्न कोणबाट नियोजित षड्यन्त्र रच्ने काम पनि समानान्तर तवरले भइनैरहेका थिए । यस्ता षड्यन्त्रको मुहान देशभित्र मात्र नभएको स्पष्ट छ । चाहे जाति–धर्मघुलित छद्म रूपमा होस् वा सामाजिक सद्भाव भड्काउने राजनीतिक कुचेष्टा होस्, निरन्तर भइरहेकै छ । विडम्बना नै भन्नुपर्छ, सरकारवादी हुन् कि उग्र–सडकवादी, डलरवादी हुन् कि राजावादी, सबै अस्थिरताका पक्षपोषक देखिएका छन् । जति धेरै अस्थिरता त्यति आफ्नो औचित्य पुष्टि भएको ठान्नेहरूकै कारण आजको संकट निम्तिएको तथ्यमा अब शंका गर्नुपर्ने ठाउँ रहेन । यस्तो विषम परिस्थितिमा देशव्यापी चालिएको यस यात्राले भने दूषित अफवाहलाई चिर्दै आशाको सञ्चार गर्न सफल भएको छ ।
स्थानीय सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रियस्तरमा ऊर्जामय आशाको सञ्चार गर्नु यात्रासँग अभिन्न रूपले जोडिएका सवाल हुन् । यो यात्राले लोकतन्त्र र गणतन्त्रको विकल्प छैन भन्ने सन्देश पुनः स्थापित गरेको छ । आमजनताका दलप्रति कैयौँ गुनासा/प्रश्न भए पनि भरोसा र विश्वास भने दलहरूसँगै छ, भन्ने सन्देश स्पष्ट देखिने गरी स्थापित गरेको छ । देशभित्र अनेक नाममा सामाजिक सद्भाव र राष्ट्रिय एकता खलबल्याउने प्रयास भइरहेको समयमा आमनेपालीबीच एकता बलियो बनाउन यस यात्राले निर्णायक भूमिका खेलेको छ । यात्राको क्रममा प्रत्यक्ष–परोक्ष जोडिएका लाखौँ जनसमुदाय एवं तमाम अवरोध तोडेर पाँचथरको फिदिममा उपस्थित हजारौँको जनसहभागिता नै कैयौँ प्रश्नको स्वयं उत्तर हो ।
जसरी मृत्यु भएको जीव बिउँतेर आउन सक्दैन, त्यसैगरी प्रतिगामीले जतिसुकै स्यालहुइँया मच्चाए पनि उनीहरू चिहानबाट उठेर आउन प्रकृतिको नियमबाहिरको विषय हो, जुन कुरा सम्भव छैन भन्ने युगीन सन्देश यस यात्राले सम्प्रेषण गरेको छ । नेपालका सन्दर्भमा सामन्तवाद र राजतन्त्र पतनशील पक्ष हो । लोकतन्त्र र समाजवाद नै उदीयमान पक्ष हो । यी उदीयमान पक्षलाई बलियो बनाउन दलहरू नै बलियो बन्नुको विकल्प छैन । यसर्थ, देशको स्वत्व बोकेको राष्ट्रिय शक्ति बन्ने सामथ्र्य दलहरूसँगै छ । त्यसमा पनि नेकपा एमाले सबैभन्दा भरोसायोग्य दल हो भन्ने तथ्य यस यात्राले स्थापित गरेको चुरो राष्ट्रिय सन्देश हो ।
पार्टीमा ‘रिचार्ज’, अन्तर्यमा ‘ओली क्रेज’ ः नेकपाकालीन समयमा शून्यतामा पुगेको एमालेको पार्टी जीवन लगातारको मिहिनेतपश्चात् बल्ल स्वस्फूर्त गतिमा आउने क्रममा छ । पार्टी जीवनमा गति ल्याउन, पार्टी उद्देश्यसँग आमपार्टीपंक्तिलाई एकाकार र जागरुक बनाउन यस यात्राले सुचालकको काम गरेको छ । सबै कमिटी सक्रिय हुनुपर्छ, आफ्नो भूमिका देखाउनुपर्छ, यात्रा सफल पार्न कोही पनि छुट्नु हुँदैन, यात्रामा स्थानीय विशेषता झल्कने कडी किमार्थ टुट्नु हुँदैन भन्ने मनोभाव समग्र पार्टी प्रणालीमा विकास भएको छ । एक अर्थमा भन्ने हो भने, यस यात्राले एमालेको सिंगो पार्टी जीवन नै रिचार्ज हुन पुगेको छ ।
यात्रा सुरु हुँदा धेरैको एउटै चासो थियो, के यत्रो १८ दिने लम्बे यात्रामा अध्यक्ष ओली सबै ठाउँमा पुग्नुहोला ? दुई–दुईपटक मिर्गाैला प्रत्यारोपण गरेको अध्यक्षको शरीरले के यो चिसो मौसममा उच्च/मध्यपहाडी यात्रा थेग्ला ? यस्ता अनेकौँ आशंका थिए । ७२ वर्षका अध्यक्ष ओलीले २७ वर्षे तन्नेरीको जस्तै जोशसाथ १८ सय किलोमिटर यात्रा सबैलाई प्रेरणा दिनेगरी पार गर्नुभयो । हरेकदिन उस्तै जोश, प्रत्येकसँग उस्तै आत्मीयता, बालकदेखि वृद्धसम्म सबैका उत्तिकै प्रिय नेता अर्थात् जुनसुकै उमेर समूहका भए पनि सबैले ‘केपी बा’कै उपाधि दिएर हृदयदेखि सम्मान गरेको अनुभूति सर्वत्र देखियो । अध्यक्ष ओलीलाई स्वागत गर्न हजारौँले आफ्नै हातले माला उन्नु, आफैँले माला लगाइदिन चिसो र रात नभनी धैर्य नगुमाई घन्टौँ कुरेर बस्नुजस्ता बिरलै देखिने दृश्य एक ठाउँमा होइन, सर्वत्र देखिए ।
अध्यक्ष ओलीले यात्राका क्रममा सकेसम्म बहुपक्षीय संवाद गर्नुभयो । बालकालिका र वृद्धवृद्धासँगको उहाँको आत्मीयता यात्राकै सबैभन्दा सुन्दर पक्ष हो । अबोध बालबालिकाको ओलीप्रतिको विचित्रको आकर्षण यात्राले स्थापित गरेको अर्को सत्य हो । उहाँले उद्योगी–व्यवसायीसँग ठाउँ–ठाउँमा गरेको संवाद, विभिन्न विषयका विज्ञसँग गरेको छलफल, किसानसँग गरेको भलाकुसारी, मजदुरसँग देखाएको सामीप्य, यस यात्राका महत्वपूर्ण आयाम हुन् । यसर्थ, जोसुकैले पनि भन्न सक्छ, नेपाली राजनीतिमा अध्यक्ष ओलीको स्थान आज पनि शीर्ष स्थानमै छ । एक दशकदेखि स्थापित कटुसत्य यस यात्राले पुनः स्थापित गरेको छ ।
समृद्धिका लागि ‘टर्निङ प्वाइन्ट’ : ०६५ मै मन्त्रिपरिषद्बाट स्वीकृत भएको राष्ट्रिय गौरवको आयोजना हो, मध्यपहाडी लोकमार्ग । यस आयोजनाले मध्यपहाडका ३९ जिल्लामध्ये २४ जिल्ला प्रत्यक्ष जोड्छ भने २२५ बस्ती र ७० लाख जनसंख्या यसबाट लाभान्वित हुने पूर्वानुमान छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेपछि मात्रै यस लोकमार्ग निर्माणमा प्रगति भएको थियो ।
मध्यपहाडलाई गुल्जार बनाउन १० वटा सिटी बसाल्ने अवधारणा ओली सरकारले नै ल्याएको थियो । ओली सरकार ढलेसँगै धेरै काम अलपत्र पारिएको जनगुनासो यात्राका क्रममा सुनियो, देखियो । यही परिस्थितिलाई हृदयंगम गर्दै यात्राका क्रममा प्राविधिकलाई ‘रोड अडिट’ गर्न लगाएको, लोकमार्गको लम्बाइ घटाउने उपाय खोजी गरेको एमाले महासचिव शंकर पोखरलेको दाबी छ । यस यात्राले मूल रूपमा समृद्धिको मुहान हामीसँगै छ । समृद्धिको स्रोत मध्यपहाडमै छ । सबैको सामुन्नेमै छ, समृद्धि खोज्न अन्यत्र जानैपर्दैन भन्ने भावना जगाएको छ, जुन कुराले बिदेसिन खोजेका युवालाई नेपालमै केही गर्न सकिन्छ है भन्ने आत्मविश्वास वृद्धि गरिदिएको छ ।
निष्कर्षमा भन्न सकिन्छ, राजनीतिदेखि राजनीति र चुनावदेखि चुनावसम्मको गोलचक्करलाई नयाँ मोड दिएर देशका बारेमा सोच्न र समृद्धिको एजेन्डालाई थप उचाइमा पुर्याउन यो यात्रा सार्थक भएको छ । यसका समग्र पक्षलाई विनापूर्वाग्रह आत्मसात् गर्ने हो भने यो केवल एउटा पार्टीको मात्रै यात्रामा सीमित रहेन । तसर्थ, यसका सिकाइ र उपलब्धिको जगेर्ना गर्दै अगाडि बढ्न सक्दा यो यात्रा समृद्धिका लागि ‘टर्निङ प्वाइन्ट’ बन्नेमा सन्देह छैन ।
तपाईको प्रतिक्रिया