पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने प्रक्रिया

वासुदेव त्रिपाठी २०८० पुष ९ गते १२:३७

पर्यटन उद्योग विश्वव्यापी रुपमा विकसित हुँदै प्रस्तिस्पर्धी पनि बन्दै गएको छ । राष्ट्रिय रुपमा मात्र नभई क्षेत्रीय रुपमा पनि पर्यटनको विकास गर्न विभिन्न देश तथा क्षेत्रले विभिन्न रुपले आफ्ना गन्तव्य तथा पर्यटकीय उपजलाई ब्रान्डङ गर्दै आएका छन् । फ्रान्सको पेरिसलाई कपी अफ लाइटको रुपमा प्रचार गरिएको छ । मलेसियालाई मलेसिया ट्रुली एसियाको नामबाट सशक्त रुपले ब्रान्डिङ गरिएको छ । भारतलाई इन्क्रेडिबलको नामले ब्रान्डिङ गरिएको छ । मलेसियाको जेन्टिङ हाइल्यान्डलाई सिटी अफ इन्टरटेनमेन्टको नामले ब्रान्डिङ गरिएको छ ।

Advertisement


पछिल्लो समय आफ्नो ब्रान्डिङलाई अझ सशक्त बनाउन पर्यटनको राजधानी भन्न पनि थालिएको छ । चीन, भारत, रुस लगायत ८ राष्ट्र सदस्य भएको सांघाई कोअपरेसन अर्गनाइजेसनले वाराणासीलाई पहिलो कल्चर एन्ड टुरिजम क्यापिटल भनेर ब्रान्डिङ गरेको छ । यतिमात्र होइन युनाइटेड अरब इमिरेटसको अल ऐन सहरलाई सो देशले नै पर्यटनको राजधानी घोषणा गरेको छ र ६ वटा अरब राष्ट्र सदस्य भएको गल्फ कोअपरेसन काउन्सिलले पर्यटनको राजधानीको रुपमा मान्यता दिएको छ ।


हाम्रो देशको पर्यटनको महत्वलाई सशक्त रुपले ब्रान्डिङ गर्न पर्यटनलाई सम्बृद्धीको प्रमुख क्षेत्र मानेको गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटनको राजधानीको रुपमा ब्रान्डिङ गर्दै समग्र नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले पोखरा महानगरपालिका र गण्डकी प्रदेशले अगाडि बढाएको प्रयासको स्वागत गर्दै पर्यटनको विकासलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको रुपमा स्थापित गर्नु आजको आवश्यकता देखिन्छ भने सरकारबाट अगाडि सारिएको यो असल कार्यलाई आम नागरिक, निजी क्षेत्र लगायत समाजका सबै क्षेत्रबाट स्वागत गरी प्रभावकारी बनाउनु सबैको जिम्मेवारी हुन आउँछ ।


संसारको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, माछापुच्छ्रे र अन्नपूर्णको छाँया छचल्किने सुन्दर फेवा, बेगनास, रुपा लगायत विभिन्न ताल, गुफासहितको सुन्दर पोखरा, पदयात्राको क्षेत्रमा विश्वमै सार्वाधिक चर्चामा रहेको अन्नपूर्ण क्षेत्र, प्याराग्लाइडिङ, अल्ट्रालाइट, ह्वाइट वाटर राफ्टिङ, जंगल सफारी लगायत साहसी क्रियाकलाप, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम लगायत धार्मिक स्थानहरुको कारणले समग्र नेपाल पर्यटनको विकासको प्रचुर सम्भावना भएको देश मानिन्छ ।

नेपालको पर्यटनका मुख्य आयामहरू प्रकृति, संस्कृति र साहसि मनोरन्जनात्मक गतिविधिहरुको संगमस्थल भएको हुनाले पोखरा सुरुदेखि नै नेपालको पर्यटनको केन्द्र वा राजधानीको रुपमा चिनिँदै आएको छ । गण्डकी प्रदेशका ११ जिल्लाहरु कास्की, गोर्खा, लमजुङ, मनाङ, मुस्ताङ, तनहुँ , स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ र नवलपुर सबैले कुनै न कुनै प्रकारको पर्यटनको दरिलो सम्भाव्यता बोकेका हुनाले समग्र गण्डकी प्रदेश नेपालको पर्यटकीय गतिविधिको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।

Advertisement


सामान्य आम पर्यटकीय रुचि भएकादेखि विशेष रुचि भएका पर्यटकको रोजाइको गन्तव्य हुनु, नेचर, कल्चर र एडभेन्चरको अनुपम केन्द्र हुनु, देशैभरि यातायातको सञ्जाल विकसित हुँदै जानु, तुलनात्मक रुपमा पर्यटकीय पूर्वाधारको विकासले उचाई प्राप्त गर्नु आदि कारणले गर्दा नेपालको लगभगमध्ये भागमा पर्ने सुन्दर पोखरा उपत्यकालाई नेपालको पर्यटनको राजधानी घोषणा गरेर अन्तर राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटनको सशक्त प्रचार गर्नु आजको आवश्यकता देखिन्छ ।


पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने र अन्य प्रदेशका पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुसँग सघन सहकार्य गर्दै अगाडि बढेमा समग्र देशको पर्यटनको विकासमा टेवा पुग्ने र पर्यटनबाट राष्ट्रिय आय तथा रोजगारीमा उल्लेख्य योगदान हुने देखिन्छ । हरेक प्रदेशले आफ्नो प्रदेशको समृद्धिका लागि प्रधान र सहायक क्षेत्रको पहिचान गर्दै जाने क्रममा गण्डकी प्रदेशले सुरुदेखि नै पर्यटनलाई प्रदेश समृद्धिको प्रमुख आधार मान्दै आएको कुरा सर्वविदितै छ ।


पोखरा आफैं पर्यटनको पर्याय र गण्डकी प्रदेश पर्यटकीय उपजको भण्डार जस्तो भए पनि गण्डकी प्रदेश र पोखराको पर्यटनको दिगो विकास गर्न यसका अन्तरर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अनुपम विशेषताहरुलाई जोगाइ राख्न र थप आकर्षणको सिर्जना गर्दै जानुपर्ने आजको आवश्यकता बनेको छ ।


२.गण्डकी र पोखराको अन्तर्राष्ट्रिय अनुपम विशेषता यस प्रकार छन्ः
१.संसारमा समुद्र सतहदेखि १ हजार मिटरभन्दा कम उचाइमा रहेर ८ हजार मिटर भन्दा अग्ला हिमाल नजिकको दुरीमा देखिने एकमात्र ठाउँ पोखरा हो ।


२.संसारको उत्कृष्ट ५ प्याराग्लाइडिङ क्षेत्रमा पर्ने सराङकोट पोखरामा नै पर्छ ।
३.संसारको सबैभन्दा गहिरो कालीगण्डकी गल्छी गण्डकी प्रदेशमै पर्छ ।
४.संसारको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल यसै प्रदेशको मनाङ जिल्लामा पर्छ ।
५.संसारको उत्कृस्ट १० पदयात्रा मार्गमा पर्न सफल भएको अन्नपूर्ण राउण्ड पदयात्रा मार्ग यसै प्रदेशमा पर्छ ।
६.टोनी हेगेनका अनुसार संसारमा हिमालको सबैभन्दा सुन्दर फोटो खिच्न सकिने निर्मलपोखरीको मुख्य क्षेत्र पोखरामै पर्छ ।
७.संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये सर्व प्रथम सफल आरोहण गरेको अन्नपूर्ण प्रथम यसै क्षेत्रमा पर्छ ।
८.संसारको सबैभन्दा अग्लो स्थान लोमान्थाङमा रहेको निर्माणाधीन गल्फ कोर्स यसै प्रदेशमा पर्छ ।
९.संसारका सबैभन्दा सुन्दर ४ हिमालभित्र पर्ने कुमारी माछापुच्छ«े हिमाल यसै क्षेत्रमा पर्छ ।
१०.पर्वत जिल्लाको कुश्मामा निर्माण भै संचालनमा रहेको संसारको दोस्रो अग्लो बन्जी जम्प ।


३. राष्ट्रिय स्तरका अनुपम विशेषताहरुः
१.नेपालमा सबैभन्दा धेरै पानी पर्ने कास्कीको लुम्ले र नेपालमा सबैभन्दा कम पानी पर्ने मुस्ताङ यसै प्रदेशमा पर्छन् ।
२.नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षण यसै प्रदेशमा पर्दछ ।
३.नेपालको एकमात्र पर्वतीय संग्रहालय पोखरामै पर्छ ।
४.नेपालको दोस्रो अग्लो शिवको मूर्ति पोखराको पुम्दीकोटमा पर्छ ।
५.नेपालको सबैभन्दा ठूलो अन्नपूर्ण संरक्षण क्षेत्र यसै प्रदेशमा पर्दछ ।
६.नेपालको, सम्भवत संसारकै सबैभन्दा ठूलो घोरेपानी क्षेत्रमा रहेको लाली गुराँसको घना जंगल यसै प्रदेशमा पर्दछ ।
७.नेपालको एकीकरण गर्ने पृथ्वी नाराययण शाहको ऐतिहासिक गोर्खा दरबार यसै प्रदेशमा पर्दछ । गोर्खा दरबार र माथिल्लो मुस्ताङको लोमान्थाङ दरबार संयुक्त राष्ट्र संघको विश्व सम्पदाको सम्भावित सूचीमा सूचीकृत भइसकेका सम्पदा हुन् ।


आन्तरिक, छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय गरी सबै देशका पर्यटकका लागि पोखरा रोजाइको गन्तव्यमा पर्दछ । यतिमात्र नभई भ्रमणको चाहनाको दृष्टिले साधारण तथा विशिस्ट चाहना भएका दुवै प्रकारका पर्यटकका लागि पोखरा रोजाइको गन्तब्य बन्न सफल भएको छ । यहाँ भएका विभिन्न रमणीय ताल तलैयाहरु, नदीहरु, झरनाहरु, विभिन्न प्रकारका गुफाहरु, हिल स्टेसनहरू, विभिन्न पदयात्रा क्षेत्रहरु आदी प्राकृतिक सम्पदा मानिन्छन् भने मन्दिर, गुम्बा, मस्जिद, चर्च, संग्रहालय, सांस्कृतिक भवन एवं होमस्टेहरु आदि सांस्कृतिक सम्पदा मानिन्छन् । यस कारण पोखरालाई नेचर, कल्चर र एडभेन्चरको केन्द्र भनिन्छ ।


४. पर्यटकीय गन्तव्य हुन आवश्यक विशेषता र पोखरा
सबै स्थान पर्यटकहरुको रोजेका विषय हुन सक्तैनन् । यसका लागि विभिन्न कुरा हरुले प्रभाव पारेका हुन्छन् । कुनै पनि स्थानमा पर्यटन विकासको सम्भाव्यता र अवस्था बुझ्नका लागि मुख्य पाँच ‘ए’को आधारमा हेर्ने गरिन्छ । यिनै विशेषताको आलोकको आधारमा पोखरालाई हेरौंः
मुख्य पाँच आधारः
ए) वा एटर्‍याक्सन आकर्षणः
यस प्रदेशमा आउने विभिन्न प्रकारका पर्यटक र पर्यटकहरुलाई लोभ्याउने विविध प्रकारका पर्यटकीय उपज यस प्रकार छन् ः
१.विदा मनाउने वा आनन्द लिने पर्यटन २. साहसी पर्यटन ३. धार्मिक पर्यटन ४. खेल तथा हवाई मनोरञ्जन पर्यटन ५. शिक्षा पर्यटन ६. स्वास्थ्य पर्यटन ७. ग्रामीण पर्यटन वा घरवास पर्यटन ८. अनुसन्धान पर्यटन ९. पर्या पर्यटन १०.सेमिनार पर्यटन आदि
प्रदेशका मुख्य पर्यटकीय गन्तव्य तथा उपजहरू
१) प्राकृतिक दृश्यतर्फ
(क) ८,००० मीटर भन्दा अग्ला हिमाल १,००० मिटर भन्दा कम उचाईबाट करिब २८ किमी को हवाई दुरीमा हेर्न सकिने संसारको एकमात्र ठाउँ–पोखरा ।


(ख) ८,००० मीटरभन्दा अग्ला ३ वटा हिमाल (अन्नपूर्ण प्रथम ८०९१ मी, धवलागीरी ८१६७ मी र मनास्लु ८१६३ मी । नेपालमा ८००० मिटरभन्दा अग्ला आठ वटा हिमाल भएता पनि हिमालको वरिपरी परिक्रमा गर्न सकिने हिमाल यिनै तिन वटा हिमाल मात्र हुन् किनकि अन्य हिमाल दुई देशको सिमानामा पर्छन् ।


(ग) तिलिचो ताल ( संसारको सवैभन्दा अग्लो स्थान ४९१९ मी. मा अवस्थित ०
(घ) संसारको सवैभन्दा गहिरो कालीगण्डकीको गल्छी – ९५५७१ मी.०
(ङ) घोरेपानीको लालीगुराँसको जंगल
(च) अन्नपूर्ण राउण्ड लगायत पदयात्रा मार्गहरू
(छ) फेवा–बेगनास–रुपा लगायत तालतलैयाहरू
(ज) नदीनाला, गुफा, हिलस्टेसन आदि
(झ) मुस्ताङ, मनाङ लगायत हिमाल पारिको पठार क्षेत्र
(ञ) म्याग्दीको रुप्से छहरा लगायत झरनाहरू


२. धार्मिक गन्तव्यतर्फ
(क) मुस्ताङमा रहेको मुक्तिनाथ, दामोदर कुण्ड तथा लोमान्थाङ दरबार
(ख) गोर्खा जिल्लामा रहेको मनकामना मन्दिर तथा ऐतिहासिक गोर्खा दरबार
(ग) विन्ध्यवासिनी, तालबाराही, देवघाट, बाग्लुङ –कालिका, मौला–कालीका लगायत मन्दिरहरू
(ङ) भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी समेत गण्डकीको नजिक रहेको छ

३. पदयात्रा तर्फ
(क) अन्नपूर्ण राउण्ड (ख) अन्नपूर्ण बेसक्याम्प (ग) पुनहिल (घ) मर्दी हिमाल (ङ) जोमसोम (च) पञ्चासे (छ) घान्द्रुक (ज) सिक्लेस(खोप्रा लेक ट्रेक (झ) माछापुच्छ्रे मोडल ट्रेक (ञ) धौलागिरी राउण्ड (ट) मनास्लु राउण्ड (ठ) खयर लेक ट्रेक (ड) मोहरे डाँडा ट्रेक (ढ) मिलेनियम ट्रेक


४. हिल स्टेशसतर्फ
(क) बन्दीपुर (ख ) मट्टीखान (ग ) अस्ट्रेलियन क्याम्प (घ) ठुलाकोट ( ङ) रुपाकोट (च) कास्कीकोट (छ) मानुङ कोट (ज) पुम्दीकोट (झ) अस्ताम आदि


५. जलविहारतर्फ
(क) विभिन्न तालमा डुंगा तथा कायाक सयर (ख) कालिगण्डकी, मस्र्याङ्दी, सेती लगायतका नदीमा राफ्टिङ (ग) तनहुँको जलविरे तथा कास्कीको घलेलमा क्यानियोनिङ


६. खेलतर्फ
(क) गल्फ (ख) क्रिकेट (ग) फुटबल (घ) माउन्टेन म्याराथन (ङ) भबिबल आदि


७. हवाई खेल
(क) प्याराग्लाइडिङ (ख) अल्ट्रालाइट (ग) स्काई डाइभ घ) हटएयर बेलुन ङ) माउन्टेन फ्लाइट आदि ।


८. अन्य
(क) जिप लाइन (ख) बन्जी जम्प (ग) चितवन तथा नवलपरासीमा जंगल सफारी (घ) बर्ड वाचिङ (च) मह सिकार छ)केवल कार ज) पोनी ट्रेक आदि


९. ग्रामीण पर्यटन/ होमस्टे तर्फ
(क) स्याङ्जाको सिरुवारी (ख) लमजुङको घलेगाउँ, भुजुङ तथा पसगाउँ (ग) नवलपरासीको अमलटारी (घ) कास्कीको ह्याङ्जाकोट, ल्वाङ घलेल, म्याग्दीको चित्रे, मुस्ताङको ठीनी आदी ठाउँमा संचालित होमस्टेहरु ।


१० मेला महोत्सव स् पोखरामा हुने पोखरा सडक महोत्सव, फेवा नववर्ष महोत्सव, आहारारा गोल्ड कप, पोखरा र लेखनाथमा हुने ब्यापार मेला, अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता, मुस्ताङमा आयोजना हुने तिजी महोत्सव, सन् २०२३ बाट सुरु भएका ड्रागन बोट फेस्टिभल र क्रस कन्ट्री म्याराथन आदि मेला महोत्सव पनि पर्यटक आकर्षण गर्ने माध्यम बनेका छन् ।


बी) एकोमोडेसनः आवास र भोजनको अवस्था
पोखरा र आसपासमा मात्र ४०००० बेड संख्या भएका पर्यटक स्तरका करिब १२०० होटल छन् भने १५००० कर्मचारीले रोजगारी पाएका छन् । पोखराको लेकसाइड र ड्यामसाइडमा मात्र ७०० होटल छन् । यस्तै पर्यटक स्तरका रेस्टुरेन्ट को संख्या करिब ३०० छ ।

गण्डकी प्रदेशका सबै जिल्लामा कुनै न कुनै प्रकारको पर्यटन व्यवसाय सञ्चालनमा रहेको हुनाले गोर्खादेखि माथिल्लो मुस्ताङ सम्मको पदयात्रा क्षेत्रमा सञ्चालित होटलहरु, नवलपुर, पर्वत, स्याङजा, बागलुङ लगायत गन्तव्यहरुमा सञ्चालित होटलहरुको संख्या समेत गणना गर्ने हो भने यो संख्या निकै ठुलो हुन्छ । पोखरामा पाँच तारे, चार तारे, तीन तारे, दुई तारे, एक तारे स्तर तथा गैर तारे स्तर गरी विभिन्न स्तरका होटल, लज, गेस्ट हाउस छन् । यति मात्र नभई होस्टल, अपार्टमेन्ट, घरबास समेत प्रशस्त छन् ।


सी) एक्सिसिबिलिटीः यातायातको पहुँचः
नेपाल विकासोन्मुख देश हुनुको कारणले गर्दा कतिपय सडक हरु बन्ने, बिस्तार गर्ने चरणमा भएता पनि पोखरा तुलनात्मक रुपमा हवाई तथा सडक यातायात को राम्रो सञ्जाल भएको ठाउँको रुपमा चिनिन्छ ।
हवाई सञ्जालको पहुँच
१. पोखरा–काठमाडौं
२. पोखरा–जोमसोम
३. पोखरा–मनाङ
४. पोखरा–भैरहवा
५. पोखरा–भरतपुर
६. पोखरा–नेपालगन्ज
७. पोखरा–सिमरा
ड. पोखरा–धनगढी
९. पोखरा–जनकपुर
१०. पोखरा–भद्रपुर
११. पोखरा–विराटनगर आदि

सडक सञ्जालको पहुँच
१. पोखरा–काठमाडौं
२. पोखरा–जोमसोम, मुक्तिनाथ, माथिल्लो मुस्ताङ –कोराला
३. पोखरा– बेसीसहर –मनाङ
४. पोखरा–सुनौली
५. पोखरा–चितवन
६. पोखरा–नेपालगन्ज
७. पोखरा–वीरगन्ज
८. पोखरा–काँकरभित्ता
९. पोखरा–जोगबानी
१०. पोखरा–महेन्द्रनगर आदी
११. पोखरा –दिल्ली नियमित बस सेवा

नोटः हवाई उडानको हकमा कोभिड– १९ महामारी भन्दा पहिलाको अवस्थामा उडानको सुरुवात गरिएको भए ता पनि कोभिड–१९ महामारी पश्चात पाहुनाको अभावको कारणले कतिपय सहरसँग उडान नियमित हुन सकेको छैन ।
पर्यटक बसको संख्याः ८७
साना तथा मझौला पर्यटक सवारी को संख्याः ४५०
डी) एनिमिटिङः पर्यटकीय सुविधाहरुः
सन् २०२० मा गण्डकी प्रदेश सरकारले गरेको अध्ययन अनुसार तत्कालिन समयमा निम्न लिखित संख्यामा रहेका व्यवसाय र तिनमा काम गर्ने ७५००० व्यक्तिले दैनिक रुपमा पर्यटकलाई सेवा सुविधा दिइराखेको देखिन्छ । कोभिड–१९ पछाडिको अवस्था भने फरक छ र सो अवस्थालाई पुनःथापित गर्दै थप सुधार गर्नु आजको प्रमुख दायित्व बन्न गएको छ ।
१. ट्राभेल एजेन्सी –२५० भन्दा बढी
२. ट्रेकिङ एजेन्सी –१५९
३. प्याराग्लाइडिङ–७४
४.अल्ट्रा लाइट फ्लाईट–३
५.ट्रेकिङ सामग्री पसल –१०५
६.गार्मेन्ट पसल –७५
७.होमस्टे –३४१
८.मुद्रा सटही व्यवसाय –४२
९.राटिफ्ङ १२
१०.डुंगा –५०२
११. स्पा –६३
१२. पर्यटक किताब पसल –१५
१३.साना तथा मझौला व्यवसाय –८०००

इः एडभरटिजमेन्ट अर्थात प्रचार प्रसारः

क. सुरुका दिनमा नेपालको पर्यटन खास गरी पर्यटकहरुकै माध्यमबाट प्रचार हुँदै आएको देखिन्छ । गण्डकी प्रदेशको पर्यटन पनि सुरुमा विदेशी पर्यटकहरुले नै प्रचार गरेर विकास भएको पाइन्छ ।


ख.पोखराको हकमा विभिन्न समयमा भएका उच्च स्तरका राजनीतिक, कूटनीतिक व्यक्तिहरुको भ्रमणको कारणले पनि विश्व जगतमा प्रचार भएको पाइन्छ । निम्न अनुसारका भिभिआइपीहरुको भ्रमणको कारणले गर्दा करोडौं रुपयाँ खर्च गरेर गर्ने प्रचार भन्दा बढी प्रभावकारी भएको देखिन्छः


१. सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुचीले पोखरा हुँदै तिब्बतको भ्रमण गर्नु भएको र आफ्नो जीवनमा पोखराको सुन्दरताले सबैभन्दा बढी आकर्षित गरेको कुराआफ्नो भ्रमण लेखनमा उल्लेख गर्नुभएको तथ्य ।


२. सन् १९६१ मा भएको बेलायती महारानी एलिजाबेथको भ्रमण ।
३. सन् १९८० को दशक देखि विभिन्न समयमा भएको अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको भ्रमण ।
४. सन् १९८१ मा भएको बेलायति राजकुमार चाल्र्सको भ्रमण ।
५. सन् २०१६ मा भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमण तथा उहाँले पोखरालाइ भगवानले फुर्सदमा रचना गरेको सुन्दर नगरी भनी दिएको सुन्दर अभिव्यक्ति ।


६. सन् २०१८ को मे १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मुक्तिनाथको धार्मिक भ्रमण ।
७. सन् २०१९ को नोवेम्बर १४ मा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले गरेको पोखराको भ्रमण तथा फेवा तालमा गरेको डुंगा सयर ।
८. संयुक्त राष्ट्र संघका महासचिब एन्टोनिओ गुटरेसले २०२३ को अक्टोबर ३०,३१ मा गरेको पोखरा भ्रमण


ग. पोखराका व्यवसायी संघ संस्थाले नियमित रुपमा गर्ने गरेका रास्ट्रीय तथा अन्तराएष्ट्रिय बिटुबी, बिटुसी सेल्स मिसन, रोडसो, प्रेसमिट, अन्तर्क्रिया, अन्तर्राष्ट्रिय ट्राभल मेलामा गर्ने प्रचार, नेपाली सञ्चार माध्यमले गर्ने प्रचार आदि ।


घ. जाऊँ है पोखरा, चलिए पोखरा, पोखरा फाम ट्रीप, पोखरा प्रोमोसनल टुर आदी
च.विभिन्न व्यवसायी प्रतिष्ठानले वेब साइट मार्फत गर्ने प्रचार
छ . नेपाल पर्यटन बोर्डले गर्ने प्रचार
ज.विभिन्न पर्यटकहरुले आफ्नो अनुभवलाई डिजिटल प्लेटफर्ममार्फत गर्ने प्रचार
झ. सामाजिक सञ्जालमार्फत हुने प्रचार आदि ।
माथि उल्लेखित सबै माध्यममार्फत पोखरा र गण्डकी प्रदेशको पर्यटनको प्रचार प्रभावकारी रुपमा नै भएको पाइन्छ । तर समस्या भनेको पूर्वाधार निर्माण र मर्मतमा हुने ढिलासुस्ती, अन्तर निकाय, अन्तर मन्त्रालय हुने समन्वयको अभाव हुने गरेको छ ।


५.पर्यटकीय राजधानी घोषणा गर्न आवश्यक पूर्वाधारहरु
हाल विद्यमान पूर्वाधारकै आधारमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्छ र सम्मुन्नत पर्यटकीय राजधानी बनाउनका लागि निरन्तर प्रयास गर्नुपर्छ ।


१.भौतिक पूर्वाधारः सरकारले सडक, बिमान स्थल जस्ता सार्वजनिक स्वामित्वका ठुला पूर्वाधार निर्माण गर्ने, शान्ति सुरक्ष्याको प्रत्यावती गर्ने र वातावरण संरक्षण गर्ने काम गर्नु पर्दछ । निजी क्षेत्रले माथि ब्अअयmmयमबतष्यल र ब्अअभककष्दष्ष्तिथ सिर्षकमा उल्लेख भए जस्तै सेवा प्रदायक पूर्वाधार हरुको निर्माण गर्नुपर्दछ । साथै सम्पदा संरक्षण र दिगो विकासमा विशेष ध्यान दिनुपर्छ भने निजी क्षेत्र तथा नागरिकहरुले पर्यटन मैत्री संस्कारको विकासमा जोड दिनुपर्छ ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न निर्माणाधीन मुख्य सडकहरुको निर्माणमा तिब्रता दिने, अन्तर्राष्ट्रिय उडान सुरु गर्ने, अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको प्रक्रिया थाल्ने, चिडियाखाना स्थापना सुरु गर्ने पर्यटन प्रशासनसँग सम्बन्धित थुप्रै कुराहरु पोखरामा छन् । जस्तै भिसा विस्तार गर्ने, नियन्त्रित क्षेत्रको अनुमति पत्र बनाउने आदि । कम्पनी रजिस्ट्रारको कार्यालय पोखरामा ल्याउने र पोखराबाटै सिधा श्रम स्वीकृति दिने काम हालसम्म हुन सकेको छैन । पर्यटन क्षेत्रमा काम गर्ने दक्ष्य जनशक्ति उत्पान गर्ने निकायको स्थापित गरी यस्ता जनशक्ति निर्माण गर्ने कार्य निरन्तर हुनुपर्ने ।


२. शैक्षिक पर्यटन, योग ध्यान पर्यटन, माइस पर्यटन, स्व्यास्थ्य पर्यटन, खेल पर्यटन, म्याराथन पर्यटन आदिका लागि हालसम्म भएका पूर्वाधारको समीक्षा गरी सबैको क्षेत्रमा उन्नत स्तरको बनाउन आवश्यक मापदण्ड पूरा गर्न सक्ने पूर्वाधार निर्माणको नीति तथा वातावरण बनाउने ।


३.सांस्कृतिक पूर्वाधारः पोखराभित्र भएका पर्यटकीय महत्व बोकेका मन्दिर, गुम्बा, मस्जिद, चर्च, संग्रहालय, महोत्सव आदिको हालको अवस्था पहिचान गरी दीगो रुपले संरक्ष्यण को आधार तयार गर्ने । विभिन्न समुदायको बिचमा प्रचलित सांस्कृतिक पर्बहरुको पहिचान र विकास गर्दै विभिन्न संस्कृतिक परिवारहरुको कला प्रदर्सनी क्ष्यमता विकासमा जोड दिने ।


४.प्राकृतिक सम्पदाको विकास तथा नेटवर्किंगका पूर्वाधारः पोखरामा रहेका विभिन्न तालहरुको यात्रा गर्न सक्ने कनेक्टिभिटी मार्ग तय गर्ने, विभिन्न गुफाहरु, नदी, छहराहरुको एकीकृत विकास र प्रचारको पूर्वाधार तय गर्ने ।


५. राजधानी बन्न राज्य चाहिन्छ र पोखरा पर्यटनको राजधानी भइरहँदा यसको राज्य भनेको गण्डकी प्रदेशका अन्य जिल्लामा हुने पर्यटनको बिकास हो राजधानी बाट पर्यटकहरुलाई उनीहरुको चाहना अनुसारको गन्तव्यमा ट्रान्सफर गर्ने व्यवस्था हुनुपर्छ । अर्थात, पोखरालाई पर्यटनको राजधानीको रुपमा बिकसित गराई रहँदा अन्य जिल्लाका सदरमुकामलाई पर्यटकको सहायक केन्द्र र ती सहकेन्द्रबाट पनि विभिन्न प्रकारका गन्तव्यहरूको विकास गर्ने पूर्वाधारको निर्माण गर्दै जानुपर्छ ।


६.भविष्यको साहसी पर्यटनको सम्भावित क्षेत्रमध्ये र सुदूर पश्चिम भएको हुनाले सो क्षेत्रका पहाडी क्षेत्रका विमानस्थल स्टोल अर्थात सर्ट टेक, टेक अफ र ल्यान्डिङ एअरपोर्टसम्म पोखराको नियमित हवाई सेवा सञ्चालन गर्ने
७. अन्य ६ वटा प्रदेशका सुगम ठाउँका विमानस्थलसँगको ट्रंक सेक्टर एअरपोर्ट सेवालाई नियमित गर्ने
६. पर्यटकीय राजधानीको रुपमा बिकास गर्न सेवाको गुणामत्कता वृद्धि गर्न तथा मापदण्डहरुको पहिचान गर्न अवलम्बन गर्नुपर्ने विषयः
१.पर्यटनको विकासमा बाधा गर्ने सबै नीति नियमको समीक्षा गर्दै आवश्यक सुधार सुधार गर्ने ।
२. सबै प्रकारका सेवा प्रदायकहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न सक्ने योग्यता तथा क्ष्यमताको विकास गर्न आवश्यक, शिक्षा, तालिम, प्रशिक्ष्यण हुने व्यवस्था गर्ने ।


२. सरकारी निकायबाट हुनुपर्ने सेवा यथासमयमा बिना झन्झट प्राप्त हुने व्यवस्था गर्ने ।
३.निजी क्षेत्रका सेवा प्रदायकहरुको बिचमा आवश्यक आचार संहिताको पालना गरी संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने वातावरण तय गर्ने ।


४.आवास, खाना तथा यातायात क्षेत्रलाई विशेष गुणस्तरीय बनाउन सरकार तथा निजी क्षेत्रले सहकार्य गर्ने ।
५. विभिन्न विधाका पर्यटन सेवाको गुणस्तर मापनका आधार तय गर्ने ।
६. ताल, नदी, पार्क, नहर, ढल, सडक, पैदल मार्ग आदिमा स्वच्छता कायम गर्न तिनै तहका सरकार, व्यवसायी, पर्यटक सबैले अवलम्बन गर्नुपर्ने मापदण्ड तय गरी क्रमश कार्यान्वयन गर्दै जानुपर्ने ।
७.आवश्यकता अनुसार सार्वजनिक सौचालय, पर्यटन सूचना केन्द्र निर्माण गर्दै म्ष्नष्तब िःबचपभतष्लन लाइ प्रवर्धन गर्नुपर्ने ।


७. राजधानी घोषणा गर्ने प्रक्रियाहरुः
गण्डकी प्रदेश सरकारले स्थापना कालदेखि नै पर्यटनलाई यस प्रदेशमा प्राथमिकता प्राप्त क्षेत्र तय गर्दै आएको छ । पोखरा महानगरपालिकाले पनि यस्तै प्राथमिकता दिंदै आएको छ । बाँकी प्रक्रिया देहाय बमोजिम हुँदा राम्रो हुने देखिन्छः
१.पोखरा महानगर पालिकाले पोखरालाइ पर्यटनको राजधानी घोषणा गर्नका लागि गरेको निर्णयलाई प्रदेश सरकारले स्वीकृत गरी प्रदेश सरकारले पनि निर्णय गर्ने ।


२.दुवै सरकारको निर्णयलाई समावेश गरी संघीय सरकारलाई नेपालको पर्यटनको राजधानी पोखरालाई घोषणा गर्न अनुरोध गर्ने ।


३. संघीय सरकारले घोषणा गरेमा ठिकै हुने भयो यदि संघीय सरकारले ढिलो गर्ने, आनाकानी गर्ने काम भयो भने गण्डकी प्रदेश सरकारले नै एक समारोहाका बीच गण्डकी प्रदेशलाई पर्यटनको ज्गद र पोखरालाई पर्यटनको राजधानीको स्व–घोषणा गर्ने र यो ब्रान्डलाई स्थापित गर्दै जाने ।


४.गण्डकी प्रदेशका सबै स्थानीय तह, निजी संघ संस्था, नागरिक समाज, समाजका अग्रज व्यक्तित्व सबैले क्रमशः प्रदेश सरकारको यो घोषणालाई स्वागत गर्दै कार्यन्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता सहितका बक्तब्य जारी गर्ने ।


त्रिपाठी नेपाल पर्यटन बोर्डका पूर्व सदस्य हुन् ।

तपाईको प्रतिक्रिया