सुखावतीको चौथो शाखा पोखरामा

पोखरा ।
सुखावती स्टोर फाउन्डेसन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ । प्रयोग भइसके पनि पुनः प्रयोग गर्न मिल्ने सामग्री संकलन/प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको संस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो ।
सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित डमरु मार्केटमा चौंथो नयाँ शाखा सञ्चालनमा ल्याइएको व्यवस्थापक चित्र दहालले जानकारी दिए ।
पोखरामा शाखा सञ्चालनमा ल्याएर मानव कल्याण, रोजगारी सिर्जना र खेर गैरहेको सामाग्रीको यथासम्भव पुुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरावासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उनले बताए ।
संस्थाकै आयोजनामा सोमबार पोखरा महानगरपालिका वडा नं १७ पावरहाउस क्षेत्रमा चार टन भन्दा बढी फोहोर संकलन गरिएको छ । संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्दै सोेमबार गरिएको सरसफाइमा ६० किलोग्राम तौलका ६८ वटा बोरामा चार हजार ८० किलोग्राम फोहोर संकलन भएको फाउन्डेसनका अध्यक्ष चिजमान गुरुङले जानकारी दिए ।
महेन्द्रपुल लगायत पोखराका विभिन्न स्थाबाट आएको फोहोर पावरहाउसमा आउने गरेको स्थानीयबाट जानकारी पाइएको फाउन्डेसनका सचिव कमला गुरुङले बताइन् । फोहोरको ठाउँ ठाउँमा नै उचित व्यवस्थापन भएरमा थुप्रिएर ठूलो मात्रामा नआउने भएकोले यसतर्फ राज्यको ध्यान पुग्नु जरुरी रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया