सामुदायिक सन्देश सार्वजनिक

समाधान संवाददाता २०८० पुष १० गते १३:१९

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले चाड पर्वको अवसरमा ‘सामुदायिक सन्देश’ बुलेटिन प्रकाशन गरेको छ । कास्कीका क्रियाशील सबै सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिलाई समेटेर २१ औं अंकको बुलेटिन प्रकाशन गरेको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।


अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी र पोखरा महागरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले आइतबार बुलेटिनको विमोचन गरे । पालिका अध्यक्ष केसीले सभ्य, समुन्नत र अनुशासित समाज निर्माणमा सामुदायिक सेवा केन्द्रको योगदान रहेको बताए । उनले समाजको रहेका विकृति विसंगतिको अन्त्यको लागि नभएर समृद्ध र समुन्नत समाज निर्माणमा संस्थाको योगदान रहेको उल्लेख गरे ।


‘समाज रुपान्तरण तथा शान्ति, सुुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीले स्थानीय समुदायसँगको सहकार्य गर्नु आवश्यक छ,’ उनले भने, ‘समुदाय स्तरका समस्या समुदायमा हल भए समाजमा मेलमिलाप कायम गर्न सकिन्छ ।’ उनले सामुदायिकले गरेका हरेक गतिविधिमा जनप्रतिनिधिको साथ समर्थन रहेको बताए ।

Advertisement


समाज राम्रो नभएसम्म बाटो राम्रो भएको अर्थ नरहने उल्लेख गर्दै उनले सचेत नागरिक रहेको ठाउँमा स्वतः विकास हुने दाबी गरे । नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले नेपाल प्रहरीले समुदाय स्तरमा तत्काल रुपमा गर्नुपर्ने काम सामुदायिक सेवा केन्द्रले गर्ने जानकारी दिए । उनले मानव विकास सूचकांकमा सुधार भए नभएसम्म सभ्य र समुन्नत समाज निर्माण हुन नसक्ने तर्क गरे ।


पोखरा महानगरपालिकाका प्रवक्ता तिम्सिनाले विकृति, विसंगति न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्रहरुले पं्रशसनीय र उदाहरणीय काम गरेको बताए । सभ्य र सुसंस्कृत महानगर बनाउन वडा तहसम्म सहकार्य गर्न महानगर तयार भएको जानकारी दिँदै उनले शान्ति, सुरक्षा र अमनचयन भौतिक पूर्वाधारभन्दा ठूलो कुरा भएको चर्चा गरे ।

Advertisement


सामुदायिक सेवा केन्द्रका अध्यक्ष पराजलीले समुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रका गतिविधिलाई नागरिक समक्ष पु¥याउन बुलेटिनलाई चौमासिक रुपमा प्रकाशन गर्ने जानकारी दिए ।


कार्यक्रममा नवआगन्तुक प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई संस्थाको तर्फबाट औपचारिक रुपमा स्वागत गरिएको छ । संस्थाका प्रथम उपाध्यक्ष तथा बुलेटिन प्रकाशन समितिका अध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना, लेखनाथ सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष गंगा खनाल लगायतले शान्ति, सुरक्षाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया