माछापुच्छ्रे पोखरा ओपन टेनिस सुरु

समाधान संवाददाता २०८० पुष ११ गते १३:१८

पोखरा ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा बनेका धेरै पूर्वाधार अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा उनले यस्तो बताएका हुन् ।

Advertisement


उनले आफू ४० जिल्ला भ्रमणबाट फर्किएको जनाउँदै ती जिल्लाका खेल पूर्वाधार निर्माण सम्पन्न नहुँदै खण्डहर बन्दै गएको स्वीकारे । ‘सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो,’ उनले भने । संघीय सरकारले मात्रै देशभरका खेल पूर्वाधार संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्बुले तीन तहका सरकारको जिम्मेवारी पहिचान गर्न राष्ट्रिय खेलकुद परिषदलाई अध्ययनका लागि निर्देशन दिएको सुनाए ।


खेलाडीले भोगेका कठिनाइ कम गर्दै लैजाने विषयमा समेत मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाइ छ । मन्त्री लिम्बुले भने, ‘अब जति खेलाडीले समस्या भोग्नु भएको छ, नीतिगत सुधार गर्दै सहजरुपमा सेवा, सुविधा र पुरस्कारका रकम प्राप्त गर्न वातावरण बनिसकेको छ ।’ उनले सरकार एक्लैले लगानी नसक्ने जनाउँदै निजी क्षेत्रको सहभागिता महत्तवपूर्ण हुने सुनाए ।

जनस्तरबाट भएको लगानी भएको क्षेत्रमा समेत सरकारको सहयोग आवश्यक रहेको विचार राख्नै उनले कास्कीको टेनिस विकासका लागि समेत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।


प्रदेशसभा सदस्य प्रकाश बरालले कास्कीको टेनिसको सुनौलो इतिहासको जति प्रशंसा गरे पनि कम नहुने बताए । यसलाई कार्यक्रम गर्दा होस् वा पूर्वाधार संरक्षण, हात फैलाएर माग्ने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Advertisement


कास्की टेनिस संघ अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक नवीन चालिसेले कास्की टेनिसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन र टेनिस खेलको विकासमा योगदान गरे पनि राज्यको साथ नपाएको गुनासो सुनाए । उनले भने, ‘निजी क्षेत्रले कास्की टेनिसमा उल्लेख्य लगानी गरेको छ । त्यो राज्यका तर्फबाट हुन सकेको छैन । यसमा सहकार्यका लागि म आग्रह गर्दछु ।’


पुस १५ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २ सय ३ गरी २ सय १६ जना खेलाडीको सहभागिता छ । प्रतियोगितामा भारत, युके र बंगालादेशका खेलाडीसमेत सहभागी छन् ।


प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमीफाइनालिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र पाउने छन् ।


प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिस्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । ३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फको विजेताले नगद ६० हजार, उपविजेताले ३० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् भने सेमीफाइनालिस्टले नगद १० हजारसहित पदक पाउने छन् ।


डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजारसहित ट्रफी र सेमीफाइनालिस्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । ४५ वर्षभन्दा माथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिस्टलाई नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिस्टले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


५५ वर्षमाथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिस्टले जनही नगद १० हजार प्राप्त गर्ने छन् भने डबल्सतर्फका विजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिस्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ६५ वर्षमाथिको सिंगल्सतर्फ विजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिस्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


प्रतियोगितामा २१ लाख आम्दानी र १९ लाख खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिए । टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका र्‍याकिङ खेलाडी मैदानमा उत्रिने जनाए ।

तपाईको प्रतिक्रिया