मणिपाल तोडफोडका आरोपित भट्टराई धरौटीमा छुटे

पोखरा ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटिएको घटनाका आरोपित पशुपति भट्टराईलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बुधबार भट्टराईलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले भट्टराईलाई धरौटीमा छाड्न आदेश भएको पुष्टि गरे ।
भट्टराईविरुद्ध मणिपाल शिक्षण अस्पताल तोड्फोडका साथै चिकित्सक कुटिएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता भट्टराई फरार थिए । तर, जिल्ला अदालतले आदेश गर्दाकै दिन बुधबार भट्टराई अदालतमा उपस्थित भएका थिए । ‘उक्त घटनामा आरोपितमध्ये केही पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा जारी छ । उहाँ फरार भए पनि अदालतले गरेको आदेशपछिको ३५ दिने म्यादभित्र उहाँ उपस्थित भएपछि धरौटीमा छाड्न आदेश भएको हो,’ सूचना अधिकारी अधिकारीले भने ।
कुनै पनि मुद्दामा फरार रहेकालाई अदालतको आदेशपछि आरोपितले खबर पाएको ३५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरूप भट्टराई अदालतको आदेश बमोजिम उपस्थित भएको अधिकारीले जानकारी दिए । यद्यपि यसअघि ०८० असोज २६ गते न्यायाधीश ध्रुवकुमार पियाको इजलासबाट आरोपितमध्ये २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको थियो । ७ जनालाई जिल्ला अदालतबाट १/१ लाख धरौटीमा छाड्न आदेश भएको थियो ।
पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरूङ, अरुण गुरुङ, नीतेश गुरुङ, विवेक गुरुङ, मनीष थापा र प्रदीप गुरुङ धरौटीमा छुटेका थिए ।
धरौटीमा छाडिएका ७ मध्ये उच्च अदालत पोखरामा निवेदनसमेत परेको थियो । पुर्पक्षका लागि धुनामा पठाउने पर्याप्त आधार हुँदा हुँदै पनि धरौटीमा छाडिएको भन्दै ७ जनाविरुद्ध उच्च अदालतमा पुनरावेदन भएको दायर छ । आरोपितमध्ये अझै ९ जना फरार छन् । फरार हुनेमा पोखरा ८ का गौरव बराल, पोखरा २ का गिरे हिपप भनिने गिरबहादुर पुन, पोखरा १५ का प्रेमलाल पुन, पोखरा ६ का सागर परियार, पोखरा ९ का हम्पे भनिने नवीन लामा, पोखरा ३ का सुजन अधिकारी, पोखरा १० का चुमन गुरुङ, पोखरा ११ का पागल अर्थात् अशिष भनिने कार्लोस गुरुङ र पोखरा २३ का उत्तम भण्डारी हुन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा असोज ८ लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ५ की ५७ वर्षीय सुकमाया दुराको मृत्यु भएपछि चिकित्सक र मृतकका आफन्तबीच तनाव उत्पन्न भएको थियो । आक्रोशित भीडले अस्पतालमा तोडफोडसँगै चिकित्सक कुटपिट गरेको थियो ।
तपाईको प्रतिक्रिया