बालबालिकाको भविष्य निर्माणमा अभिभावकीय दायित्व

केदार खनाल २०८० पुष १३ गते ११:५३

बालबालिका हाम्रा सन्तति र वंश विस्तार गर्ने महत्वपूर्ण निधि हुन । उनीहरुको जन्मसँगै हाम्रो खुसी उदाएको हो । सपनाहरु एक पछि अर्को देख्न शुरु भएको हो । मायाको अतृप्त तिर्खा पलाएकै हो । ठुलो मान्छे बन्छ भन्ने दरिलो विश्वास लिएकै हो । समाजको ऐना बन्नेछ भन्ने आशासँगै दुनियाँले कति राम्रा सन्तानहरु बनुन भन्ने विश्वास राखेकै हो ।


कसैको आँखामा नबिझाउन भन्ने गहिरो सोच राखेकै हो । यि भए बाबु आमाका विश्वास, आस्था र सत्य । यसैको आडमा जीवन चल्दै जान्छ र चलाईन्छ पनि । जीवन चल्न र चलाउनुमा पनि फरक आयामहरु छन । चलता रहेगा को ताल र सुरसँग मेल खादैन, तर चलाइन्छ भित्र माया प्रेम, विश्वास आस्था मात्र होइन अभाव, दुःख पीडा, महत्वकांक्षा जस्ता पाटाहरु एकपछि अर्को गरी तछाडमछाड गर्दै कुदिरहेका हुन्छन् । त्यही बेला हाम्रा सम्पूर्ण कर्महरु विवेकसम्मत अघि बढ्नु पर्दछ ।

त्यहाँ विचारहरुको तछाड मछाड हुन सक्छ, आवश्यकताको गरुंगो धोक्रो उचाल्नु पर्छ, गरिबी, अभाव, बेचैनीहरु बाटोमा छरपष्ट हुन्छन, जसरी पनि पार गर्नु आमाबाबुको कर्तव्य हुन आउछ । यही अभिभावकीय दायित्व भित्रका यावत कर्महरु छन् । अवसर तथा चुनौतीहरुको सहज अवतरण असल अभिभावकका कर्तव्य अनि दायित्व पनि हुन् ।

Advertisement


यहाँनेर, आजका कलिला बालबालिकाहरुलाई हामीले कस्तो शिक्षा, संस्कार, व्यवहार, आचरण सिकाउदैछौँ । यिनै बालबालिका भोलिका राष्ट्रका कर्णधार पनि हुन् । हामीमा भएका ज्ञान,सिप, कौसल र विवेकसँगै उपलब्ध स्रोतसाधनहरुको सही ढंगले प्रयोग गरी बालबालिकाको बाल मष्तिष्कमा सकारात्मक उर्जा भर्नुपर्ने हुन्छ । उनीहरुलाई गाली नै गर्दा पनि सकारात्मक भावका शब्दहरुको प्रयोग गर्न उपयुक्त हुन्छ ।

जस्तो चिया खान दिएको गिलास रिसले फुटाउछ भने अर्को गिलासमा चिया दिनु र बाबु या नानी यो पनि फुटाईदेउन, राम्रो काम गरेका छौ, भन्ने वातावरण तपाईले बनाउनु भयो भने त्यहाँ एकछिन एकतमासको वातावरण सिर्जना हुन्छ । गिलास फुटाउने बालक/बालिकाको मनमा गल्ती भएको आभाष हुन जान्छ । जसले गर्दा पुनः गल्ती नदोहोरिने वातावरण निर्माण हुन्छ । यदि तपाईले गिलास फुटाएको बेला थप्पड लगाउनु भयो भने उसमा झन रिस, आवेग र नकारात्मक भावना जागृत हुन जान्छ । यो दृष्टान्तले के भन्न खोजिएको हो भने अभिभावकहरु बालबालिका जस्तै आलाकाँचा र अपरिपक्क हुनु हुदैन ।

Advertisement


अर्को तर्फ हामी अभिभावकहरुले बच्चा जन्मेदेखि नै गलत मार्गको अनुशरण गर्दै आएका छौ । आमाको दुध पुगेन भनेर ल्याक्टोजिन खुवाउने तथा भोक लाग्यो ड्राईफुट खुवाउन सुरु गर्‍यौ । बालक/बालिका पोषण तत्वका कारण शारीरिक रुपमा हलक्क बढे होलान्, हामी पनि खुसी भयौ तर शारीरिक रुपमा बढ्दै गरेको बालक/बालिकाको मानसिक अवस्था बुझ्न सकेनौ ।

अहिले समाजमा आधुनिक आमाहरु आफ्नो शारीरिक बनावट बिग्रन्छ कि भनेर चिन्ता गर्ने, तीन महिना भन्दा बढी बच्चालाई दुध नचुसाइ छुटाउने पश्चिमी संस्कृतिले बच्चाको पूर्ण विकास हुन सकेको छैन

शरिरका अंगहरुले आ–आफ्नो काम शुरु गरे तर कुन सही कुन गलत छुट्टयाउने दिमाख त बढेको छैन नि ! त्यो समय उनीहरु गलत मार्ग रोज्न वा हिड्न सक्छन् । अति भए पछि खति हुन्छ भन्ने उखान् जस्तै अभिभावकहरुबाट चाहिने भन्दा बढि माया दिदा पनि बिग्रिने डर बढ्न जान्छ । स्कुलमा जान्छ, साथीभाइसँग झगडा गर्छ, ठिक गर्‍यौ भन्दै उसको काँध थापिन्छ । घरमा खानादेखि नानासम्म चित्त बुझ्दैन, झगडा गर्छ त्यो बेलामा पुराना चिज प्रतिस्थापन गर्दै नयाँ चिजबस्तु उपलब्ध गराउँछौ ।

आवश्यक भन्दा बढि माया प्रेमले क्षणिक त ठिक होला, उनीहरुको मन खुसी होला तर त्यस किसिमको क्रियाकलापले नजानिदो पाराले उनीहरुको मन मष्तिष्कलाई गाँजी सकेको हुन्छ । आफूले भनेको कुरा पुरा नहुदाँ आफू अपमानित भएको महसुस गरी उनीहरु भित्र इष्र्या, घमण्ड, रिस आदिको बिजारोपण हुन्छ । त्यो भविष्यका निम्ति यति प्रत्युत्पादक हुन्छ कि अहिले प्रेम मायामा रमाएका अभिभावकको अगाडी कुनै दिन आँसु, पीडा, बिछोड आदिको दुःखद चित्र भेटिन सक्छ ।


अभिभावकहरुले बालबालिकाहरुलाई कस्तो शिक्षा दिने त ?
१)व्यवहारिक ज्ञान – फोहोर सफा गर्ने, चिया पकाउने, आगो बाल्ने ।
२)महत्वपूर्ण सामानहरुको जतन र प्राप्त पैसाको बचत गर्न सिकाउने ।
३)स्वावलम्बी हुन सिकाउने ।
४) नयाँ नयाँ काम गर्न प्रोत्साहन गर्ने ।
५) प्रकृतिसँग घुलमिल गराउने, वातावरण मैत्री बनाउने ।
६) परोपकार, सेवा, मानवीयताका बारेमा सिकाउने ।
७) सामाजिक कार्यहरुमा घुलमिल गराउने ।
८) खेलकुद, व्यायाम, मनोरञ्जनमा ध्यान दिने ।
९) पीडा, दुःख, कष्ट सहन गर्ने शक्ति प्राप्त गर्न अभ्यास गराउने ।
१०) बोलीचाली, संस्कारयुक्त बनाउने (व्यवहार) ।
११) किशोरावस्था र यौन अवस्थाका बारेमा ज्ञान दिलाउने ।
१२) दैनिक प्रयोगमा आउने आधारभूत सीपहरु सिकाउने ।
१३) बाबुआमाबाट टाढा भएको महसुस गर्न नदिने ।
यि बालबालिकाहरुले दैनिक गर्ने गतिविधि र सिक्ने विषयहरु भए । यसका अलावा बाबु आमाका व्यक्तिगत चरित्रले पनि उनीहरुमा असर गरिरहेको हुन्छ । दैनिक झगडा गर्ने बाबु आमा, रक्सी लगायत अन्य घुम्रपान, मद्यपान, लागूपदार्थ सेवन गर्ने अभिभावकबाट बालबालिकाले प्राप्त गर्न सक्ने भनेको निराशा, नकारात्मकता, बेचैनी मात्र हुन् ।

यस्ता कार्यहरुले बालबालिकाहरु लागू औषध सेवनदेखि विविध अपराधमा संलग्न हुन पुग्छन् । अभिभावकहरु महत्वाकांक्षी बनी आफ्ना छोराछोरीलाई अरुको छोराछोरीसँग तुलना गर्ने, आफ्नो राम्रा र असल भएको भनी छोराछोरीकै अगाडी बयान गर्ने देखि बाबु तिमी डाक्टर हुनुपर्छ, नानी तिमी पाईलट हुनुपर्छ भनि कराई राख्ने अभिभावकले के बुझ्न जरूरी छ भने उनीहरुको इच्छा, आकांक्षा के छन्, उनीहरु के बन्न चाहान्छन ख्याल राख्न आवस्यक छ । सँगसँगै अति माया प्रेममा पुलपुल्याउने र अति हेला गर्ने प्रबृत्तिलाई छोडी आवश्यकता भन्दा बढी कुनै कुराको पहुँच दिनु हुदैन ।


अन्त्यमा, आज हामीले देखेका अभिभावकहरु बिहानदेखि बेलुकासम्म कसरी धन आर्जन हुन्छ भन्ने कुरामा नै व्यस्त छन् । उनीहरु कतिपय अनावश्यक ग्याजेट तथा मोबाइल लगायतको लतमा सबै कुरा भुलेका छन् । छोराछोरीहरुको साथी, संगति दैनिक गतिविधिका बारेमा सूचनासम्म राख्दैनन । घर परिवार पनि एउटा विद्यालय हो भन्ने कुरामा बुझ पचाउँछन र दोष अर्कालाई थुपार्न पुग्छन । अहिले समाजमा आधुनिक आमाहरु आफ्नो शारीरिक बनावट बिग्रन्छ कि भनेर चिन्ता गर्ने, तीन महिना भन्दा बढी बच्चालाई दुध नचुसाइ छुटाउने पश्चिमा संस्कृतिको वहकावले बच्चाहरुको शारीरिक स्वास्थ्यको विकासमा विविध खालका अवरोध सिर्जना भएका छन् ।

रात्रीकालिन समयमा रमाउने बाबुको संस्कृतिले जुवातास, धुम्रपान, मद्यपान लगायत विविध गलत क्रियाकलापमा लाग्दा छोराछोरी र बाबुको भेट हुनै गाह्रो भईरहेको अवस्था छ । यस्तो एकांकी वातावरणले बाल मष्तिष्कमा नकारात्मक असर पर्ने साथै भविष्य निर्धारण गर्ने सुरक्षित बाटाहरुमा समेत गंभिर चुनौतीहरु खडा हुने गरेकोले त्यसको गलत नतिजा देख्न धेरै समय पनि पर्खिनु पर्दैन । तसर्थ पहिला हामी अभिभावक परहेज (अनुशासन) मा बसौ । नैतिक, व्यवहारिक, सामाजिक र आफ्नो धरातललाई चिनौ र त्यसको सही सदुपयोग गर्न सक्यौ भने तपाई र तपाईका बालबालिका अवश्य पनि मुलुकले खोजे बमोजिमको जनशक्तिका रुपमा उत्पादन हुन सक्छन् ।


लेखक खनाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीका प्रहरी उपरीक्षक हुन् ।

तपाईको प्रतिक्रिया