सम्पादकीयः पोखरामा घट्दो सार्वजनिक स्थान

पोखरामा दिनदिनै सार्वजनिक स्थान घट्दै छ । पाटी, पौवा, चौतारी, पोखरी र खुला चउरहरु अतिक्रमणमा परेर सकिँदै सकिँदै गएका छन् । सहर घनाबस्तीले भरिएको छ । हिजोका गौचरनहरु पनि व्यक्तिले हडपेका छन् । पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा पृथ्वी नारायण क्याम्पसका भूगोल विषयका सहप्रा डा रामजी पोखरेलले पोखरामा प्रतिवर्ष १ दशमलव २५ हेक्टरका दरले सार्वजनिक खुला स्थल घटेको सुनाए । उनकै भनाइमा अहिले पोखरामा खुला ठाउँ भनेको कुल क्षेत्रफलको ६ प्रतिशतमात्रै छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एकजना व्यक्तिका लागि ९ वर्ग मिटर सार्वजनिक खुला जग्गा आवश्यक छ । तर बाक्लो बस्तीका बिच त्यो मापदण्ड अनुसार खुला ठाउँ पोखरामा छैन । भन्नुको मतलब मानव बसोबासका निम्ति उपयुक्त सहर पोखरा हुन सकेको छैन । केटाकेटीहरु खेल्ने ठाउँ छैन । वृद्धवृद्धाहरु टहल्ने ठाउँ छैन । युवाहरु घुमफिर गर्ने पार्कहरु छैनन् ।
भूकम्प जस्ता विपत्ति आउँदा सुरक्षाका निम्ति आवश्यक खुला चौरहरु विरलै देखिन्छन् । पोखरामा कुनै बेला चारै दिशा पाटनै पाटन थिए । अझै पनि धेरै ठाउँको नाम पाटन छ । तर त्यहाँ पाटन अर्थात खुला चौरहरु छैनन् । कतिपय प्राकृतिक रुपमा पनि अतिक्रमित भएका छन् । तर धेरैजसोचाहिँ मानवीय अतिक्रमणमै ती परेका हुन् । सरकारले खुला ठाउँमा कार्यालयहरु खोल्ने, भूमिहीन सुकुम्बासीका नाममा ओगट्ने अनि कतिपयचाहिँ व्यक्तिले नै हडप्ने गर्दा खुला ठाउँहरुको अभाव भएको हो । सार्वजनिक स्थान घटेको हो ।
सहर कस्तो बनाउने भन्ने दायित्व महानगरपालिकाको हो । स्थानीय सरकारको नै दायित्व हो सार्वजनिक सम्पदा र स्थानहरुको संरक्षण गर्ने । तर पोखरा महानगरपालिका स्वयंले यसको अध्ययन गर्ने बताएको बेलाबखत सुनिन्छ । तर खास गहिरो अध्ययन भएको छैन । पहिला अध्ययन गर्ने र कहाँकहाँ अतिक्रमण भयो भन्ने पत्ता लगाएर त्यसलाई पुनर्जीवन दिने कर्तव्य उसैको हो ।
धुवाँधुलो र बाक्लो बस्तीलाई नै सहर भन्ने हो भने बेग्लै कुरा होइन भने पोखराको मौलिकता मास्न दिनु हुँदैन, जुन मानवजीविनोचित छैन । सडकको दायाँबायाँ भएका हिजोका सयौं चौतारी मिचिएको छ, तिनलाई पुनस्थापित गरी हराभरा सहर बनाउनुपर्छ । नदीनाला मिचिएका छन्, तिनलाई सलल बग्न दिनुपर्छ । तालतलैया मिचिएका छन् । तालको ठाउँमा तालै हुन दिनुपर्छ । अनि खुला चौर र पोखरीहरु पनि पुनस्थापित गर्नुपर्छ । पोखरा र पोखरेलीको भविष्यका लागि सार्वजनिक स्थान पुनस्र्थापना अति महत्वपूर्ण मुद्दा हो ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया