पुतली बाजेको चिनो

वासुदेव पौडेल २०८० पुष १५ गते १२:२१

गण्डकी ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ, पोखराको पृथ्वीनारायण क्याम्पस परिसरभित्रको संग्रहालयमा विभिन्न ९ सय ३७ प्रजातिका पुतली एकै ठाउँमा अवलोकन गर्न सकिन्छ । ‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रुपमा रहेको यो संग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास संग्रहालयका रुपमा पनि परिचित छ ।


अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को सञ्चालनमा रहेको यस संग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक डोरोथी मिरोले स्थापना गरेका थिए । तत्कालीन समयमा हाल रहेको संग्रहालयको कलात्मक भवन मिरोले नै आफ्नै खर्चमा निर्माण गरिदिएका हुन् ।


संग्रहालय परिसरमा पुग्नासाथ भवनका बाहिर ठिंग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरुपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ । उक्त दृश्यले बाहिर पुग्ने जोकोहीलाई भित्र पस्न लोभ्याउने गरेको छ । मिरोको सन् २००० मा निधन भएको थियो । संग्रहालय २०४३ मा एक्याप स्थापना भएसँगै सोही संस्थाले नै यसको संरक्षण तथा सञ्चालन गर्दै आएको छ ।

Advertisement


मिरोले स्थापना गरेको संग्रहालयमा पुतलीहरूको संकलन भने बेलायतको लण्डन जन्मस्थान भई नेपालको सम्मानार्थ नागरिकता प्राप्त गरेका कोलिन फिलिप स्मिथले गरेका थिए । स्मिथले देश तथा विदेशका ठाउँठाउँबाट पुतलीहरू संकलन गरी ल्याएको संग्रहालयका कर्मचारी सुरेन्द्र परियारले जानकारी दिए ।


संग्रहालयमा नेपालभित्र पाइने ५ सय ८७ प्रजातिका पुतली र नेपाल बाहिरका ३ सय ५० प्रजातिका पुतली छन् । मूल प्रवेशद्वारबाट छिर्ना साथ नेपालका विभिन्न भागमा पाइने जीवजन्तुका आकृतिहरूले जो कोहीलाई आकर्षित गर्दछ । वाइल्ड लाइफ कक्षका रुपमा रहेको उक्त कक्षभित्र पूर्वी भागमा तराई भूभागमा पाइने जीवजन्तुुबारे हेर्ने र जानकारी लिने व्यवस्था मिलाइएको छ । कक्षको उत्तरी कुनामा नेपालमा पाइने हिमाली जीवजन्तुबारे जानकारी लिन सकिन्छ ।

Advertisement


यहाँको अर्को कक्ष चरा र चट्टान कक्ष हो । यस कक्षमा विभिन्न प्रजातिका चराका साथै विभिन्न पत्थरहरू देख्न सकिन्छ । मुख्य आकर्षण पुतली कक्ष हो । पुतलीकै कारण यसलाई पुतली संग्रहालयका रुपमा चिनिन्छ । विश्वकै सबैभन्दा ठूूलो र विश्वकै सबैभन्दा सानो पुतलीका साथै हिमालदेखि तराईसम्मका विभिन्न भूूभागमा पाइने पुतली संग्रहालयमा रहेको बताउँदै परियारले अध्ययनले लद्दाख, सिक्किमदेखि मनाङसम्म पुतलीहरू आएको पाइएको जानकारी दिए ।


पुतलीबारे जान्न र बुझ्न चाहनेका लागि संग्रहालय पुग्नैपर्ने गन्तव्य बनेको छ । जीवन नै पुतलीको अध्ययन अनुसन्धानमा बिताएका स्मिथ पुतली बाजेका रुपमा चिनिए । आफ्नो जीवन नै नेपालमा पुतलीको अध्ययन, संकलन र संरक्षणमा बिताएका उनले नेपालमा पाइने पुतलीहरुको खोज, अध्ययन गरी अभिलेखीकरण र संरक्षणमा विशिष्ट योगदान दिएकै कारण पुतली बाजेका रुपमा नामले प्रसिद्ध बनेको संग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउँछन् ।


जीवनको करिब ६ दशक नेपालमा पुतलीकै अध्ययन अनुसन्धानमा विताएका स्मिथलाई नेपाल सरकारले समानार्थ नागरिकता समेत प्रदान गरेको थियो । उनी पहिलो पटक २०२२ सालमा बेलायतबाट नेपाल आएका थिए । युनिभर्सिटी अफ लण्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालयमा अध्यापन गराउने क्रममा उनी ‘युनाइटेड मिसन टू नेपाल’ मार्फत पढाउनका लागि उनी नेपाल आएका थिए ।


पेशाले शिक्षक भए पनि पुतलीको अध्ययन अनुसन्धनामा उनको ठूलो मोह थियो । उनले नेपालका हिमाल, पहाड र तराईका अधिकांश जिल्लाबाट सङ्कलन गरिएका पुतली संग्रहालयमा छन् ।


सन् १९६६ सालमा नेपाल आएका स्मिथले लामो समयको प्रयासपछि सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । उनको गत कात्तिक १८ गते निधन भएको हो । नेपालमा पुतलीकै अध्ययन, अनुसन्धान एवम् संकलनमा जीवन व्यतित गरेका उनको सम्मानमा संग्रहालयमा ‘सम्झनामा कोलिन फिलिप स्मिथ (पुतली बाजे)’ लेखेर एउटा बोर्डमा उनका नेपाल बसाइका विभिन्न स्मरण सजाइएको छ ।


विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमामात्रै करिब ६ सय ६० प्रजातिका पुतली पाइएका छन् । पर्यावरणीय चक्रमा पुतलीको ठूलो महत्व छ । कृषिजन्य उत्पादनमा परागसेचनका माध्यमबाट पुतलीले महत्वपूर्ण योगदान पुर्‍याउने भएकोले किसानको साथीका रुपमा पनि यसलाई लिने गरिन्छ ।


संग्रहालयको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) बारे जान्न र बुुझ्न अर्को छुुट्टै कक्ष राखिएको छ । त्यस कक्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएका गाउँहरू, त्यहाँको जनजीवन, भूगोल आदिबारे जान्ने बुझ्ने व्यवस्था मिलाइएको छ ।

एक्यापको स्थापनापछि त्यहाँको जनजीवन र चेतनाको स्तर परिवर्तन भएका कुरालाई उक्त कक्ष पुुगेर जान्न र बुझ्न सकिन्छ ।
संग्रहालयमा छिरिसकेपछि पुतलीका साथै हाम्रो जनजीवन तथा परिवेशका धेरै कुरा एकसाथ जानकारी पाउन सकिने पृथ्वीनारायण क्याम्पसका विद्यार्थी दिनेश सुवेदीले बताए । ‘पुतलीमात्रै नभएर हाम्रो समाज र परिवेशको पनि संग्रहालयमा चित्रण गर्न खोजिएको छ’, उनी भन्छन् ‘यस्ता संकलनले अनुसन्धानकर्ताका साथै जो कोही विद्यार्थीलाई पर्यावरणबारे बुझ्न योगदान गर्दछ ।’


संग्रहालयमा विभिन्न प्रजातिका बोटबिरुवा, चराचुुरुंगी, जनावर, सर्प आदिले वनस्पति एवम् पशुपंछी अध्ययन गर्न चाहने जो कोहीलाई फाइदा पुुग्ने गरेको संग्रहालयका प्रमुख रमेश श्रेष्ठ बताउँछन् ।


संग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकका साथै विभिन्न शैक्षिक संस्थाका विद्यार्थी पुग्ने गरेका छन् । अघिल्लो वर्ष ६ हजार ५ सय ३५ जनाले संग्रहालयको अवलोकन गरेका थिए । यसमध्ये ३ हजार ५१९ जना नेपाली, ५ सय २२ विदेशी र २ हजार ४ सय ९४ जना विद्यार्थी रहेको संग्रहालयले जनाएको छ । संग्रहालयमा पुगेर त्यहाँ राखिएका पुतली तथा अन्य जीवजन्तु आदिको अवलोकन गरिसकेपछि एक पटक पुग्नैपर्ने गन्तव्यका रुपमा चित्रण गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया