पोखरा–भक्तपुर उद्योग संघबीच भगिनी सम्बन्ध स्थापित

समाधान संवाददाता २०८० पुष १५ गते १२:४५

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघबीच भगिनी सबन्ध स्थापित भएको छ । शुक्रबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति र भक्तपुरका अध्यक्ष शिवप्रसाद मानन्धरले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


पोखरा र भक्तपुर दुवै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हुन् । पोखरा नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत हो ।


भगिनी सम्बन्ध स्थापित गरेसँगै दुवै उद्योग वाणिज्य संघले भक्तपुर र पोखरा क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकापसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरु खोजी गर्न क्रियाशील रहने लगायतका समझादारी गरिएको पोउवा संघका अध्यक्ष पवनकुमार प्रजापति बताउँछन् ।

Advertisement


समझदारीपत्रमा भ्रमण तथा ज्ञान आदान–प्रदान, उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरमा आउने विभिन्न चुनौतिहरु सामनाका लागि एउटै आवाज, दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँ नयाँ गतिविधिको अनुभव र सूचना आदानप्रदान, राष्ट्रिय स्तरको औद्योगिक व्यापार मेलामा एकापसमा सघाउने सहमति भएको पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बतए ।


पोउवा संघका महासचिव बलराम आचार्यका अनुसार साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गरिनेसहमतिपत्रमा उल्लेख छ । यस्तै आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघलेसहयोग गर्ने प्रतिवद्धता पनि गरेका छन् ।

Advertisement


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले भगिनी सम्बन्ध स्थापनाबाट दुवै उद्योग वाणिज्य संघलाई फाइदा मिल्ने बताए । उनले पोखराको व्यापारको सुरुवात नै भक्तपुरबाट आएका व्यवसायीबाट भएको स्मरणमात्र गरेनन्, हस्तकला र पर्यटन व्यवसायमा थप सहकार्यको सम्भावना पनि औंल्याए ।


भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरले भिजन र मिसनसहित स्थापित भगिनी सम्बन्ध फलदायी हुने बताए ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेले ख्वपःबाट आएका व्यवसायीलाई स्वागत गर्दै भगिनी सम्बन्ध बलियो बनाउन सानासाना काममा ध्यान दिनुपर्ने बताए । ८ औं शताब्दीको सुरुमै भक्तपुरबाट आफ्ना पुर्खासमेत पोखरा आएको पनि उनले स्मरण गरे ।


भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवकराज भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघले ठूला व्यवसायीको हकहितमा मात्र काम गर्ने गरेको गुनासो गरे । अर्का पूर्वअध्यक्ष कृष्णप्रसाद अवालले सम्पदाको लागि प्रख्यात भक्तपुर र पोखराबीच पर्यटन उद्योग बिस्तारमा सहकार्य हुनुपर्ने बताए ।


पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले भक्तपुर र पोखराको सहकार्यलाई सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन तथा व्यवसायीहरुको हकहित रक्षाको लागि उपयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया