फेवातालको मापदण्डमा दलहरु एकै ठाउँ

समाधान संवाददाता २०८० पुष १६ गते ११:१२

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको मापदण्डसहित ६ विषयमा शनिबार सबै राजनीतिक दलका नेतासँग छलफल गरेका छन् । कास्कीमा क्रियाशील दलसँग मेयर आचार्यले सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्रका संरचना भत्काउन गरेको आदेश, सिमसार क्षेत्र, फिर्के खोलाको मापदण्ड, सालिक व्यवस्थापन, पोखरालाई पर्यटकीय राजधानी घोषणा जस्ता विषयमा छलफल गरेका हुन् ।


बैठकमा नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालले चोकका शालिकलाई व्यवस्थापन गरेर कुनै ठाउँमा राख्नुपर्ने बताएका थिए । बैकमा नेकपा एमालेका कास्की उपाध्यक्ष तेजनारण अधिकारीले फेवालताको मापदण्ड कार्यान्वयन सम्बन्धमा सरोकारवाल निकायसँग थप छलफल गरेर अगाडि बढ्नुपर्ने राय दिए । उनले सिमसार क्षेत्र लगायतका क्षेत्रको निर्णय गर्न विज्ञ टोलीसँग छलफल गर्नुपर्ने बताएका थिए ।


माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु अत्यावश्यक रहेको सुनाए । उनले सर्वाेच्चले सबै कुरा अध्ययान गरेर निर्णय गरेकाले सबै दायाबायाँ नहेरी कार्यान्वयन गर्नुपर्ने जनाए । जसपा कास्की अध्यक्ष हर्कबहादुर गुरुङले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधारहरु निर्माण गर्नुपर्ने विचार राखे ।

Advertisement


नेकपा एसका मुक्ति पौडेलले फेवातालको मापदण्ड कार्यान्वयन गर्न स्थानीय तहले आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका थिए । मेयर आचार्यले सबैको छलफल र सहकार्यमा मापदण्डको कार्यान्वयन गर्नुबाहेक अन्य विकल्प नरहेको सुनाए । ‘कसरी हुन्छ तपाईंहरुले राय, सुझाव दिनुपर्छ । सोही अनुसार पोखरा महानगरपालिका अगाडि बढ्छ,’ मेयर आचार्यले भने ।

Advertisement

तपाईको प्रतिक्रिया