संरक्षक र सुनिरा टेनिस च्याम्पियन

समाधान संवाददाता २०८० पुष १६ गते ११:३५

पोखरा ।
२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा आइतबार सकिएको प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षकभूषण बज्राचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् ।


प्रतियोगिताको १८ औं र १९ संस्करणका समेत च्याम्पियन रहेका नेपालका नं १ र्‍याकिङ प्रदीप खड्काको दबदबालाई आफ्नै होम ग्राउन्डमा टाइब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदीपको सपनामा ब्रेक लगाए । पोखरा रंगशालाको टेनिस कम्लेक्समा भएको फाइनलमा प्रदीप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पारेका संरक्षकले दोस्रो सेटमा भने २–६ ले प्रदीपलाई सुम्पिए ।


अन्तिम सेटमा ६–४ ले संघर्षपूर्ण जित निकाल्दै संरक्षकले नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे । उपविजेता बनेका प्रदीपले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिस्टद्वय ऋतिक राना र अभिनन्सु ठाकुरले जनही नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाए ।

Advertisement


वमेन्सतर्फ समेत गत संस्करणकी समेत च्याम्पियन नेपाल १ र्‍याकिङ अभिलाषा विष्टलाई सुनिरा थापाले टाइब्रेकमा नै पराजित गरिन् । सुनिराले पहिलो सेट ६–० ले अभिलाषालाई सुम्पिए पनि दोस्रो सेट सम्हालिएर खेल्दै ६–१ ले आफ्नो पक्षमा पारिन् । अन्तिम सेट ६–४ ले सुनिराले जितेपछि अभिलाषाको दोस्रो पटक च्याम्पियन हुने सपनामा ब्रेक लाग्यो ।सुनिराले नगद ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमीफाइनालिस्टद्वय माहिका राना र रायना शाहले जनही नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।


३५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ कमल भण्डारी विजेता बने । उनले फाइनलमा सन्तोष खत्रीलाई ७–५ र ६–४ ले पराजित गरे । कमलले नगद ६० हजार, उपविजेता सन्तोषले नगद ३० हजारसहित ट्रफी तथा मेडल पाएका छन् ।

Advertisement


४५ वर्षमाथिको भेट्रान्स मेन्स सिंगल्सतर्फ रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जिते । पहिलो सेट ५–७ ले गुमाएका रोहितले दोस्रो सेट सहज रुपले ६–१ ले जित्दै खेल बराबरीमा ल्याउँदै सुपरटाइतर्फ खेल धेकिलिंदा रोहितले १०–७ ले खेल जित्न सफल भए । सेमीफाइनालिस्टद्वय प्रदीप शाह र गोपी भट्टराई बने ।


उपाधि जितेका रोहितले ४० हजार, उपविजेता महेशले २० हजार र सेमीफाइनालिष्टद्वयले जनही नगद १० हजार पाएका छन् ।
५५ वर्षमाथि मेन्स सिंगल्सको उपाधि विजेता बन्न बिमलकुमार गुरुङले प्रतिद्वन्दी जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । बिमलले नगद ३० हजार र उपविजेता जीवनले १५ हजार पाए । सेमीफाइनालिस्टद्वय समीर शेरचन र थोङवाम तुलेश्वरले जनही १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

विजेता खेलाडीलाई माछापुच्छ्रे बैंककी निर्देशक वन्दना केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, ट्रयाङ्क्वालिटी स्पाका प्रवन्ध निर्देशक रनिल फैजु लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया