रुपकुमारीः नमुना समाजसेवी

रवीन्द्र माकाजू २०८० पुष १६ गते १२:३५

ठूला मान्छेको निधनपछि उनीहरुको स्मरणमा शालिक बन्नु नेपाली समाजमा नयाँ विषय मानिन्न । राजा, महाराजाले आफ्नो कार्यकालमा शालिक बनाएको घटनालाई पनि आश्चर्य होइन तर सर्वसाधारण नागरिक जीवित हुँदै शालिक बन्नु विरल कुरा हो । यस्तै घटना घटेको छ मेजर्नी आमा रुपकुमारी गुरुङको जीवनमा ।

Advertisement


प्रसंग २०४५/४६ तिरको हो । तमु धिंमा आफ्नो समाजघर (भवन) बनाउने प्रसंग चल्यो । त्यस बेला १७ लाख लागतमा भवन बनाउन सबै सहमत भए । दाताहरुसँग चन्दा उठाउने प्रसंगा चल्दा पहिला कहाँ जाने भन्दा सबैले एक स्वरमा भने–मेजर जयबहादुर गुरुङ कहाँ । तमु धिंको टोली मेजरका घरमा पुग्यो । मेजर दम्पतिले तमु धिं टोलीलाई स्वागत गर्दै आउनुका कारण सोधे । तत्कालीन तमु धिं अध्यक्ष कर्म गुरुङले भनिन्ः हामी तमु धिं भवनका लागि चन्दा माग्न आएका हौं ।
मेजर्नी आमा रुपकुमारीले सोधिन्– कतिको लागतमा बनाउन खोज्नुभएको ?


अध्यक्ष कर्माले जवाफ दिइन्– १७ लाखमा र त्यसका लागि हामी घरदैलो गर्दै छौं । रकम जम्मा भएपछि भवन थाल्छौं ।
मेजर्नी आमाले भनिन्– यसो गर्नुस् कर्मा नानी ! बाहिर चन्दा उठाउने काम नगर्नुस्, हामी हाम्रो परिवारको तर्फबाट यो भवन बनाइदिन्छौं । त्यस बेला कर्मा गुरुङको टोलीलाई के खोज्छस् कानो आँखा भने जस्तो भयो । उनीहरुका हर्षको सीमा भएन ।
तमु धिंले धेरै वर्षपछि दातालाई सम्मान गर्ने क्रममा गत वर्ष स्व. मेजर जयबहादुर गुरुङ र मेजर्नी आमा रुपकुमारीको शालिक अनावरण गरेको थियो । त्यस बेला मेजर्नी आमा आफ्नो शालिक हेर्दै दङ परेकी थिइन् । उनले भनिन्–होइन, यो सपना हो कि विपना हो ?

२०४५/४६ तिर १७ लाखमा तमु धिँकाे समाज घर र पछि १ कराेडकाे अक्षयकाेषदाता उनकाे सालिक निर्माण भएकाे छ ।


मेजर्नी आमाले आफ्ना श्रीमान् मेजर जयबहादुर र छोरा उदयचन्द्रको स्मृतिमा गत वर्ष नै मेजर जयबहादुर, उदयचन्द्र, रुपकुमारी स्वास्थ्य उपचार कोषका लागि १ करोड नगद तमु धिं नेपालका अध्यक्ष हुम गुरुङलाई हस्तान्तरण गरेकी थिइन् । रुपकुमारी भन्छिन्– म प्रायः रेडियो सुन्थेँ, समयमै उपचार नपाएर मान्छे मरेको समाचारले मेरो हृदय छोयो । असहाय, अशक्तका लागि के गर्न सकिन्छ भनेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गई डा. नरेन्द्रविक्रम गुरुङसँग सल्लाह गरौँ ।

Advertisement

उनको सुझाव अनुसार स्थानीय संघ, संस्था मार्फत यो सेवा कार्य गर्दा राम्रो हुन्छ भनेकाले तमु धिंलाई यो कार्य गर्ने जिम्मा दिइयो । १ करोडबाट प्राप्त हुने ब्याजले पुस १४ गते ४ जना आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सेवा गर्ने समर्थ भयौं । यसअघि पनि दुई जना सिकिस्त बिरामीले यो कोषबाट राहत रकम पाएको थियो ।


पोखरामा रुपकुमारी भन्दा पनि धनी मानी, प्रतिष्ठित व्यक्तिहरु छन् । ठूल्ठूला पदमा आसिन व्यक्तित्व पनि छन् । तर रुपकुमारीले जुन पवित्र मन र विचारले एक करोडको रासशसेवा हेतु अर्पण गरेकी छिन्, त्यो एक ऐतिहासिक र स्तूत्य कार्य हो । जसलाई सबैले अनुकरण गर्नुपर्छ । यो कोष वृद्धिका लागि तमु धिं लगायतका संस्थाले सहयोग गर्दा झनै राम्रो हुने र परिवारबाट पनि कोषमा रकम वृद्धि गर्दै जाने योजना रहेको उनी बताउँछन् । मेजर्नी आमालाई धेरै संघ, संस्थाले अभिनन्दनपत्र, सम्मानपत्र प्रदान गरेका छन् ।


वि.सं. २००३ पुस १७ गते जन्मिएका समाजसेवी रुपकुमारी आज ७८ वर्ष प्रवेश गर्दै छिन् । जीवनमा सधैं सत्कर्म गर्ने रुपकुमारीले पोखराको विन्ध्यवासिनी मन्दिर गुरुकुल (छात्रबास) भवन पनि बनाइदिएकी छन् । पृथ्वीनारायण क्याम्पसमा एक भवन बनाइदिएकी छिन् । उनी पोखराको एक अग्रज समाजसेवीमा गनिन्छिन् ।


१६ वर्षको उमेरमा मेजर जयबहादुर गुरुङसँग उनको विवाह भएको थियो । हाल उनी बुहारी लक्ष्मी र नातिहरुसँग नयाँ बजारमा बस्छिन् । मेजर जयबहादुरको २०७८ सालमा स्वर्गारोहण भएको थियो भने छोरा उदयचन्द्रलाई २०७९ सालमा गुमाउनु परेको दुःखद घटना रुपकुमारीका जीवनमा छन् । उनी बाँकी जीवनलाई यस्तै सत्कर्ममा लगाउन चाहन्छिन् । भन्दछिन्– जीवन भनेको घामछाया रहेछ । मैले जीवनमा जे जति पाएँ भगवानको कृपाले पाएँ । मेरो कोही कसैसँग कुनै गुनासो पनि छैन । कसैसँग आशा पनि गर्दिनँ । जब मैले साहबसँगै आफ्नै शालिक तमु धिं मा देख्न पाएँ । मलाई हर्षको सीमा नै भएन, आफ्नै शालिकमा फूल अर्पण गर्न खोजें तर किन हो मन मानेन । आँखाबाट आँसु भने झरिरह्यो ।

तपाईको प्रतिक्रिया