कृषि यान्त्रिकीकरण प्रदर्शनी २० गतेबाट

समाधान संवाददाता २०८० पुष १८ गते १०:५४

पोखरा ।
प्रथम प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी २०८० पोखरामा हुने भएको छ । पुस २० गतेदेखि २ दिनसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा प्रदर्शनी हुने भएको हो ।


नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । २०७० सालमा चितवनको नारायणगढबाट सुरु भएको प्रदर्शनी कोहलपुर (दोस्रो), काठमाडौं (तेस्रो), धरान (चौथो) र चितवनको भरतपुरमा पाँचौं पटक भएका थिए ।


कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी गराउँदै बिक्री, वितरण गर्ने उद्देश्यले प्रदर्शनी हुन लागेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए । कृषिसम्बन्धी आधुनिक प्रविधि, प्रदर्शनीमा राखिनेछ ।

Advertisement

प्रदर्शनीमा नेपालसहित १० देशका १ हजारभन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरुको प्रदर्शनी हुनेछ ।
भारत, चीन, इन्डोनेसिया, जापान लगायतका देशका औजार तथा उपकरण प्रदर्शनीमा राखिनेछन् । प्रदर्शनी स्थलमा मेड इन नेपालको स्टल छुट्टै रहनेछ । प्रदर्शनीमा गोष्ठी तथा सेमिनार, रैथाने बालीका परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षणसम्बन्धी प्रदर्शनी, रैथाने बाली एवं कृषि जैविविधता संरक्षणसम्बन्धी छलफल तथा अन्र्तक्रियासमेत हुने छन् ।


प्रदर्शनी ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन अनुमान आयोजकको छ । कृषिकर्मी, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैरसरकारी संस्थाहरु, कृषक समूह, कृषि सहकारी संस्था, विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरु, शोधकर्ताहरु, कृषि वैज्ञानिक, शिक्षक, विद्यार्थी, लगायतले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Advertisement

पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख मनहर कडरियाले वास्तविक किसानका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे । प्रदर्शनीले प्रविधि प्रयोगमा नेपालीलाई अभ्यस्त बनाउन सघाउने कृषि विकास निर्देशनालय गण्डकी महानिर्देशक वासुदेव रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया