टोपी कि फेटा ?

टोपी दिवस र त्यसको काउन्टरमा धोती दिवसको चर्चा चलिरहेकै छ । टोपीले धोतीलाई नेपाली नठान्ने र धोतीले टोपीलाई पहाडिया ठान्ने दोहोरी अहिलेको होइन । धोती दिवस मनाउन भेला भएका ५२ जना पक्राउ परेको समाचार पनि पढियो । यहीँको मानिने संवत्को नयाँ वर्षलाई नपर्खेर विदेशी र अरू के के भनेर दुत्कारिने संवत्कै छेको पारी राष्ट्रियताको गीत गाउँदै टोपी दिवस थालिनु अनि त्यसको प्रतिवादमा धोती उत्रनु आफैंमा के नमिलेको जस्तो देखिन्छ । जेहोस् हिजोदेखि आजसम्म पनि टोपी केन्द्रमा छ नै । यस लेखमा नेपालीको मियो बनेको यही टोपीका विषयमा केही खोजीनिती गरिने छ ।
बृहत् नेपाली शब्दकोशले टोपीलाई शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्न चाउलो (टोपीको घेरामाथिको भाग वा चक्का) र घेरा हाली सिइएको वस्त्र हो भनेको छ । विभिन्न देशमा विभिन्न किसिमका टोपी देख्न सकिन्छ । नेपालमा भादगाउँले टोपी, ढाका टोपी, बिर्खे टोपी र छतरे टोपी आदि विभिन्न प्रकारका टोपी प्रयोगमा छन् । पुरानो नेपालतिर फर्कने हो भने नेपालीले अन्य पहिरनको तुलनामा दौरा, सुरुवाल, टोपी र गुन्यूचोलीलाई नै महव दिएको पाइन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ किनकि यी टोपी आम विश्व समुदायमाझ नेपालीको चिनारी बनेका छन् । भारतीय नेपालीले पनि टोपीलाई आफ्नो मौलिक पहिचान ठान्छन् ।
शब्दकोशले फेटालाई टोपीको सट्टा फेरो मारेर बेरिने कपडा, पगरी भनेर अथ्र्याएको छ । दैनिक प्रयोगमा आउने फेटा आधुनिकतासँगै नेपाली समाजबाट प्रायः हराइसकेको छ । फेटा देख्न दूरदराजमा जानुपर्छ कि त सांस्कृतिक कार्यक्रमहरू हेर्नुपर्दछ । राउटेहरूलाई प्रायः फेटा वा कालो टोपीमा देख्न सकिन्छ । हुड्के नर्तकहरूले लाउने फेटा अर्को उदाहरण हो । विवाह व्रतबन्धमा लाइने पगरी पनि फेटा नै हो । धामीहरूले अनिवार्य फेटा प्रयोग गर्दछन् । गाउँघरतिर ऊनीको गलबन्दीलाई नै फेटाको रूप दिएर टाउको न्यानो बनाउने बूढापाकाहरू अझै देख्न सकिन्छ ।
नेपालमा टोपीको प्रयोग
विगतदेखि वर्तमानसम्म टोपीको स्थान कैलाशको शिरजस्तै उच्च मानिए पनि यसको ऐतिहासिक पक्षबारे भने धेरैलाई जानकारी नहुन सक्छ । हाम्रोमा प्रयोग हुँदै आएका टोपीको उद्गम खोज्दै गइयो भने भौगोलिक र धार्मिक रूपमा पनि धेरै पर पुगिने रहेछ । कमलमणि दीक्षितको सूचनाको आधारमा प्रा. माधव पोखरेलले नेपाली टोपीलाई मुसलमानहरूसँग जोडेका छन् । हाम्रा आदिकवि र युवाकविको चिनारी बनेको बिर्के टोपी पनि अन्तैको रहेछ ।
पोखरेलका अनुसार भानुभक्त वा मोतिराम भट्टले लगाएको जस्तो फुर्को भएको टोपी टर्कीबाट नेपालमा आएको हो । टर्कीको अग्लो टोपी काठमाडौंमा होचो बनाइयो र फुर्काको ठाउँमा डल्लो हालियो । अनेक ऐतिहासिक घटनासिहत जोडिएर नेपाली जातिको चिनारीको आधार बन्न पुगेको रहेछ (नेपाली टोपीको इतिहास, कान्तिपुर, २०७१ फागुन १६) ।
विश्लेषक सौरभले त हामीमा टोपी लाउने परम्परा नै थिएन र छैन पनि भनेका छन् । सौरभकै शब्दमा—टोपी परम्परा भएको भए मन्दिरमा जाँदा अनिवार्य मानिन्थ्यो र त्यसको रुट स्टक हालेर ग्राफ्टेड भएको बुद्ध धर्मका भिक्षुहरूले पनि सधैं लगाइरहन्थे । उनका अनुसार मुसलमान र यहुदी धर्मको जन्मथलो मृत सागरवरिपरिको मरुभूमिमा टाउकोमा बालुवा पर्न नदिन टोपीको विकास भएको हो ।
हामीकहाँ टोपी बाबरले सन् १५५० मा पानीपतमा भित्र्याएको तोपको मोहरीमा पानी छिर्न नदिन लगाइने खोल हो (असहमति, अर्किड बुक्स, काठमाडौं, २०७१, पृ. २६) । गीतकार राजेन्द्र थापाले पनि टोपीलाई मुसलमानी लबादा सलवारबाट आएको लबेदा सुरुवाल र तुर्की तथा अन्य मुसलमानी शैलीबाट भित्रिएको भनेका छन् (नागरिक, १७ पुस २०७४) ।
विद्वान् लेखकहरूको निष्कर्षमा असहमति जनाउन सकिँदैन किनभने हामीले हाम्रोमात्र हो जस्तो गरिराखेको टोपी अरब राष्ट्रहरू, अफगानिस्तान, इन्डोनेसिया, मलेसिया, भारत लगायत देशमा धेरै पहिलेदेखि प्रचलनमा छन् । भारतका महात्मा गान्धी, लालबहादुर शास्त्री, नेहरू, कूटनीतिज्ञ करण सिंहहरूले लाएको टोपी, अफगानिस्तानका हमिद कारजाईले लाएको टोपी, मलेसियाका महाथिर मोहम्मदले लाएको टोपी र हाम्रोमा चल्तीमा रहेका भादगाउँले र ढाका टोपीमा तात्विक भिन्नता देखिँदैन पनि ।
नेपालीहरू फेटादेखि फुर्के, बिर्के र भादगाउँले अनि ढाका टोपीसम्म आइपुग्दा गण्डकी, कोशी र कर्णालीमा धेरै पानी बगिसकेको छ । डा. पुण्यसागर मरहट्टाले टोपीको विकासक्रमबारे यसरी लेखेका छन्, “टोपी संस्कृतिले त्रिभुवन राजाका टाउकामा चढेपछि महेन्द्र, अनि वीरेन्द्र वा सम्भ्रान्त बालकृष्ण सम हुँदै उध्र्वगमन गरेको हो ।” भादगाउँले टोपी र ढाका टोपीको उत्थानबारे भक्त घिमिरेले साहित्यपोष्टमा सान्दर्भिक लेख लेखेका छन्, “मल्लकालमा सुरु भएको भादगाउँले (भक्तपुरे) टोपी पहिले काठमाडौँ उपत्यकाभित्र सीमित थियो ।
राजा त्रिभुवनले शिरपोस बनाएर टाउकोमा ढल्काइदिएपछि भादगाउँले टोपीले सिंहदरबारमा प्रवेश पायो । यद्यपि, अझै पनि भादगाउँले शिरपोस उपत्यकाभित्रै सीमित थियो । त्रिभुवनले सिंहदरबार भित्र्याएको भादगाउँले टोपीलाई केही समयपछि महेन्द्रले प्रोत्साहित गरेको ढाकाटोपीले लगभग विस्थापित नै गरिदियो । राजा महेन्द्रका पालामा दौरा–सुरुवालमाथि कोट र ढाका टोपीलाई सरकारी कामकाजमा अनिवार्य गरियो । त्यसपश्चात् नागरिकताका लागि लिइने तस्बिरमा पनि यसलाई कानुनी औपचारिकता मानिएपछि कोट र टोपीले आम–नेपाली पहिरनको रूपमा ख्याति कमाएको हो (दौरा–सुरुवालमाथि टाइ–कोट ‘फ्यूजन’ कि ‘कन्फ्यूजन’ ?, श्रावण २८)।”
फेटा अर्थात् पगरीको प्रयोग
इतिहास खोतल्दै जाँदा देखियोः टोपीअघिको शिरपोस फेटा नै रहेछ आखिर । ढाइ सय वर्षअगाडि नेपालमा टोपीको चलनै रहेनछ । उतिखेरको पोशाकको कुरा गर्ने हो भने घरबुना धोती, कछाड र फेटा हुन्थे । पछि मात्र टोपीको चलन आयो । त्यति खेरका टोपी संस्कृतिविद् सत्यमोहन जोशीले लाउने जस्तो स्थानीय सिलाइबाट बनेका हुन्थे ।
सौरभले टोपीको बीउ यही फेटामा खोजेका छन् । उनी लेख्छन्, ‘नेपाली टोपी पट्टा (पेटी) घुमाएर सिउनेले जोडिन्छ । यसैले यो टाउको बेरिने फेटाबाट विकसित भएको बुझिन्छ । त्यसमाथि गोलो किसिमको कपडाको टुक्रा (चकिया/खार्पा) जोडिन्छ, जुन भोटे टोपीमा ठ्याम्मै हुन्छ । हिमरेखामा बस्ने जातिहरू (तिब्बती/हाम्रा हिमाली) खाली टाउको बस्ने कुरै आउँदैन । यसर्थ नेपाली टोपी हिमरेखमा बस्नेहरूले टाउकोमा बाँध्ने गरेको कपडाबाट विकसित भएको हो (असंगति, २०७४, बुक हिल, पृ. १९९) ।’
प्राडा वीणा पौडेलले पनि टोपीको जरा फेटामै देखेकी छिन् । उनका अनुसार आर्य समुदायमा केश खौरिएपछि शिरको सुरक्षाका लागि कपडाले बेर्ने चलन थियो । पछि त्यही कपडालाई विशेष आकार दिइयो, जसलाई हामी टोपी भन्छौं । चिसोबाट जोगिन पनि टोपी लाउने चलन विकास भयो (साप्ताहिक, २०७३ पुस १७) ।
डा. पुण्यसागर मरहट्ठा पनि टोपीलाई नेपाली इतिहासमा धेरै पछि मात्र देखा परेको पहिरनका रूपमा परिभाषित गर्छन् (न्हु पुखु पुल्हमः कि टोपी ?, बाह्रखरी, २०७४ पुस २३) । उनी रानीपोखरीको दक्षिणमा हात्तीमा सवार तत्कालीन राजा प्रताप मल्लको सपरिवारको मूर्तिमा राजाले फेटा गुथेको देखाउँछन् । त्रिभुवनभन्दा अघिका कुनै पनि राजाले टोपी र लवेदा सरुवाल लाएका रहेनछन् ।
डा. मरहट्ठा लेख्छन्, ‘तत्कालीन राजाले समेत नपहिरेको टोपीलाई हाम्रो सान, मान भन्दा अलि असहज हुने रहेछ । नेपाल खाल्डोमा राजाले नलगाएको टोपी एकीकृत राजा पृथ्वीनारायण शाहले पनि नलगाएको नै पाइयो । स्थानीय भाषामा जंको भनिने भीम रथारोहण गरिने पर्वमा ज्येष्ठ नागरिकलाई फेटा गुथाइन्छ टोपी लाइँदैन । खस आर्यको परम्परागत पोसाक र संस्कृति हेर्ने हो भने फेटाकै बाहुल्य देखिन्छ ।
नेपालको भूबना्ट हेर्दा चिसो हुँदा कान छोप्न मिल्ने, गर्मी हुँदा तालु छोप्न मिल्ने फेटा मौलिक हुनुपर्छ । त्यसैले आदिवासी, जनजातिका पोसाकमा फेटा देखिन्छ । खस आर्य पनि फेटा नै गुत्थे ।’ डा. मरहट्टाले टोपी संस्कृतिलाई रानी पोखरीभन्दा पनि नयाँ हो भनेका छन् । उनको अनुमान पनि हाम्रो टोपीको इतिहास २०० वर्षभन्दा पुरानो नहोला भन्ने छ । उनी पाल्पाली ढाका टोपीलाई १५० वर्षभन्दा अघिको मान्दैनन् । उनका अनुसार भादगाउँले टोपी पनि रानी पोखरी (न्हू पखु) भन्दा पुरानो होइन ।
रानीपोखरीको उद्घाटन नेपाल संवत् ७९० आश्विन शुक्ल पुर्णिमाका दिन गरिएको सूचना मल्ल के. सुन्दरले दिएका छन् । हाल अर्थात् वि.सं. २०८० तदनुसार नेपाल संवत् ११४४ बाट हिसाब गर्दा रानीपोखरीको उमेर ३५४ वर्प पुगेको देखिन्छ । एउटा उखान छः टोपीको इज्जत गर्दा पगरी गायब । यसको माने सामान्य कुराको लोभमा पर्दा ठूलो कुरा गुम्छ भन्ने हुन्छ । उखानले पनि टोपीलाई भन्दा पगरीलाई ठूलो मान्यो । पगरी भनेको फेटा हो ।
अझ खोज्दै जाने हो भने फेटा पनि मानव समुदायमा कसले पहिले सुरु गर्यो भन्ने भेटिएला किनभने यहाँ राउटेहरूले लाउने फेटा, विवेकानन्दले लाएको फेटा, पन्जाबीहरूले लाउने फेटा, यहुदीहरूले लाउने फेटा र मुस्लिम धर्मगुरुले लाउने फेटामा बेर्ने तरिकामात्र फरक देखिन्छ नत्र भने कुरा उही हो पटुकाजस्तो लामो कपडालाई टाउकोमा बेर्ने ।
टोपीको पुर्खा फेटा भन्ने थाहा पाएपछि ढाका टोपी र ढाकाको इतिहास खोतलिरहन परेन । ढाका कपडालाई बंगलादेशको राजधानी ढाकासँग ठोकाउने, जंगबहादुरकी एक छोरी डम्बरकुमारीसँग जोड्ने र लिम्बू जातिको थाकामा पुर्याउने आवश्यकता पनि रहेन । यद्यपि ढाका नेपालको रैथाने हो भने यसमा गर्व गर्ने ठाउँ छ ।
जे हामीकहाँ छन्, ती हाम्रा हुन्
भारतीय कूटनीतिज्ञ करण सिंहले लाउने टोपीमा बीपीको प्रभाव छ भन्नु तर्कसंगत हुन सक्दैन । नेहरू टोपीमा नेपाली रङ मिसिएको अर्थ निकाल्नु जायज हुँदैन । अंग्रेजकालीन भारतका क्लिपहरू युट्युबमा हेर्दा तत्कालीन भारतीय नागरिकले लाउने टोपीमा नेपालको प्रभाव देख्न मिल्दैन । मलायाको लुंगी हाम्रो भयो । बेलायतको कोट राष्ट्रिय पोशाक भयो । भारतको कुर्था हरेक नेपाली महिलाको रोजाइ भयो । राजस्थानको दौरासलवार हाम्रो भयो । अंग्रेजी सर्टप्यान्ट पनि हरेक नेपाली पुरुषको ज्यानमा सुहायो । युरोपको वेस्टकोट हाम्रो झमझम इस्टकोट भयो । पश्चिमको हाफ प्यान्ट हाम्रो ठुटे (जाँघे) भयो ।
काउव्वायको जिन्स हाम्रो प्रिय भयो । टाइलाई दाम्लो, पासो वा जे नै भने पनि प्रायः नेपालीको अभिन्न अंग बनिसकेको छ । हाम्रा छोराछोरीलाई त्यसैले बाँधेर बोर्डिङसम्म डोहोर्याउँछ । यसैले डोर्याउँदै हामीलाई भोजभतेरमा पुर्याउँछ । हाम्रा फोटामा यसैले शोभा दिन्छ । अनि मुस्लिम संस्कृतिसँग जोडिएको भनिने टोपी हाम्रो राष्ट्रिय पोशाक बन्दा के बिग्रियो ?
अमेरिका उद्गम भएको मकै आज हाम्रो अपरिहार्य अनाज भएको छ । दक्षिण अमेरिका उद्गम भएको गोलभेडाले हाम्रो अचार बनाउँछ, हाम्रो तरकारीमा स्वाद भर्छ । दक्षिण अमेरिकी मूलकै आलु हाम्रो तरकारीको सिंहासनमा छ । टोपीले नेपालीको पहिचानै दिएको छ । कालो टोपी र झिल्के टोपीको जरो जहाँसुकै होस्, अब यी हाम्रा हुन्, नेपालीका हुन् ।
त्यसैले त केदार शर्माले लेखे, ‘हामी कोही पनि यही माटामा उब्जिएका होइनौं । बसाइँ सर्दै आउने क्रममा कतैबाट केही ल्याइयो, कतैबाट के । अर्काको प्रभावका कुरा छाड्ने हो भने हामी नांगैबुंगै हुन सक्छौं । त्यसैले अहिले जे हामीकहाँ छन् ती हाम्रा हुन् (हिमाल खबर, २०७७ पुस १७) ।’ असल चिज ग्रहण गर्ने हाम्रो यो हाम्रो उदारता हो । ग्रहण गर्नेमात्र होइन, राष्ट्रिय हैसियत नै प्रदान गर्ने हाम्रो संस्कृति सलामयोग्य छ । भनिन्छ, आफ्नो मान्छे र राम्रो कुरा जहाँबाट आइपुगे पनि असलै हुन्छ ।
तपाईको प्रतिक्रिया