एसओएस स्कुलको वार्षिक खेलकुद सकियो

पोखरा ।
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४० औँ वार्षिक खेलकुद कार्यक्रम शनिबार सकिएको छ । बिहीबारदेखि सुरु भएको कार्यक्रम ३ दिनसम्म चलेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सामाजिक र राष्ट्रिय आवश्यकतालाई मध्यनजर राख्दै शिक्षण पद्धतिको विकास गर्न नसकिएको जनाए । उनले देशमा बेरोजगारीको सङ्ख्या बढेको र त्यसैका कारण प्रतिभा पलायनको समस्याले तीव्रता पाइरहेको उल्लेख गरे ।
धेरै अभिभावकविहीन बालबालिकाको संरक्षण, लालनपालन र शिक्षादीक्षाको यथोचित व्यवस्था गर्दै आएको एसओएसजस्तो परोपकारी संस्थालाई सबै पक्ष मिलेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । सचिव पौडेलले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिक लगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आएको मन्त्रालय भएका नाताले एसओएस जस्तो मानवतावादी संस्थालाई सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने महसुस गरेका छौँ ।’ उनले खेलकुदमा विद्यार्थीद्वारा प्रदर्शन गरिएको प्रतिभाको प्रशंसा गर्र्दै उत्कृष्ट विद्यार्थीलाई बधाईसमेत दिए ।
एसओएसमा प्रधानाध्यापक चूडामणि सुवेदीले अभिभावक गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाको संरक्षण गर्दै आएको विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा प्राप्त गरी नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । सार्वजनिक गुठीअन्तर्गत सञ्चालित एसओएसले कुनै नाफा, नोक्सानको हिसाब नगरी विशुद्ध सेवामूलक भावना राखेर बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।
एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले खेलकुदमा विद्यार्थीले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
प्रतियोगितामा माध्यमिक तहका विद्यार्थीका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, टग अफ वार लगायतका अन्तरसदनात्मक खेल भएका छन् । शिशु कक्षाका विद्यार्थीका बिचमा रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, स्याक रेस लगायतका खेल आयोजना गरिए ।
समारोहमा विद्यालयमा गठित ४ सदनमा आबद्ध विद्यार्थीले विशेष मार्च पासका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा नेवारी समुदायमा प्रचलित ‘तायमाचा’ लोकसांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले भूतपूर्व विद्यार्थी सम्मिलित चिकित्सकहरूको समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेको थियो ।
समारोहमा अभिभावकबीचमा म्युजिकल चियर प्रतियोगितासमेत आयोजना गरिएको थियो । शिक्षकबीच भएको टग अफ वार सहप्राचार्य प्रभास पौडेलको समूहले विजय प्राप्त गर्यो ।
खेलकुदमा कार्यक्रममा विद्यालयको अन्नपूर्ण सदन शैक्षिक सत्रको विजेता सदन बन्न सफल भयो भने गौरीशंकर सदन उपविजेता बन्यो । धौलागिरि उत्कृष्ट मार्चपास प्रस्तोता तथा माछापुच्छ्रे सर्वाधिक अनुशासित सदन घोषित भए । कक्षा ११ र १२ तर्फ कक्षा ११ ‘क’ विजेता तथा कक्षा १२ ‘ग’ ले उपविजेताको उपाधि प्राप्त गरे ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया