विन्ध्यवासिनीलाई श्रीपती समाजसेवा पुरस्कार

समाधान संवाददाता २०८० पुष २२ गते ११:३२

पोखरा ।
श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८० बाट विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत सक्रिय विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो ।


गुठीको ३१ औं साधारण सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोइराला लगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सचिव तीर्थ श्रेष्ठलाई नगद २ लाख २२ हजार २ सय २२ सहित ताम्रपत्र, दोसल्ला र पदक प्रदानत गरे ।


विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति विन्ध्यबासिनी मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा लागेको छ । समितिअन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यबासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विन्ध्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु छन् । सिमितिले विन्ध्यबसिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासीय रुपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रका रुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ ।

Advertisement


यसले प्राकृतिक चिकित्सालय पनि सञ्चालन गर्न थालेको छ । सर्वसुुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिकका लागि मन्दिर दर्शनका लागि लिफ्टसमेत सञ्चालनमा गरी समाजसेवा गरेका कारण श्रीपती समाज सेवा पुरस्कारबाट सम्मान गरेको गुठीका सदस्य सचिव नवराज कोइरालाले बताए ।


यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बवद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् । सो अवसरमा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ट ठहरिएका विद्यार्थीलाई श्रीपती विद्या पदक प्रदान गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

Advertisement


श्रीपती कोइराला गुठी १८६४ मा जन्मेका श्रीप्रसाद कोइरालाको नाममा स्थापित भएको हो । विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइराला बताउँछन् ।

तपाईको प्रतिक्रिया