सम्पादकीय: कृषिमा यान्त्रिकीकरण

खेती किसानलाई काम लाग्ने यन्त्रहरुको प्रदर्शनी पोखरामा शुक्रबारबाट सुरु भएको छ । खेतबारी जोत्ने हलोको सट्टा ट्याक्टरको प्रयोगमा अचेल किसान आकर्षित छन् । त्यसका अलावा कृषि यन्त्रहरु थुप्रै हुन्छन् । तिनैबारे जानकारी दिने र किनमेलको थलो पनि हुने हिसाबले मेला नै आयोजना भएको छ । सामान्यभन्दा सामान्य यन्त्रहरुकै अभावमा पनि कृषिमा पछौटेपन छ । त्यसैले यस्ता मेला र प्रदर्शनी कृषि कर्म गर्नेहरुका लागि हितकर हुन्छ । मेलामा पुगेर किसानले आधुनिक प्रविधिबारे जानकारी पाउँछन् र आफूलाई चाहिने भए किन्न पनि सक्छ । त्यसमाथि पोखरा महानगरपालिकाले कृषि यन्त्र किन्नेहरुका लागि भनेर ५० प्रतिशत अनुदानको व्यवस्था गर्दै ८५ लाख रुपैयाँ विनियोजन पनि गरेको छ । कृषिलाई हौसला थप्ने महानगरपालिका धन्यवादको पात्र भएको छ ।
दैनिक उपभोग्य वस्तुको आयात नेपालमा चुलिँदो छ । भारतीय उत्पादनले नेपालको बजार लिएको छ । त्यही वस्तु नेपाली माटोमा फलाउँदा महँगो र भारतमा सस्तो छ । त्यसको प्रमुख कारण नै भारतको कृषिमा यान्त्रिकीकरण हुनु तथा मल, बिउ तथा सिँचाइको प्रबन्ध हुनु हो । नेपालमा भने कृषिमा सरकारले गर्नुपर्ने जति गरेको छैन । अनुदान कनिका छराइ छ । खास किसानकहाँ अनुदान पुग्न सकेको छैन । अनुदान न पर्याप्त छ, न सबै किसानले पाउन सक्ने गरी बजेटको व्यवस्था हुन्छ । त्यसमाथि मलको त सधै हाहाकारै हुन्छ । सिँचाइ पनि खेतीयोग्य जमिन सबैतिर पुग्नै सकेको छैन । सिँचाइ, मल, बिउ बिना कृषिमा आत्मनिर्भर बन्ने नेपाली सपना पूरा हुन कठिन छ ।
उत्पादन बढाउने हो भने यान्त्रिकीकरण नै गजब उपाय हो भन्ने मरुभूमि देश इजरायलले प्रमाणित गरेको छ । जहाँका २ प्रतिशत जनता कृषिकर्म गर्छन् र देशले ९० प्रतिशत उत्पादन निर्यात गर्छ । डेनमार्कमा पनि ४ प्रतिशत जनता कृषिकर्म गर्छन् र ९० प्रतिशत निर्यात हुन्छ । हाम्रोमा चाहिँ ठिक उल्टो छ, भएभरका जनता कृषिकर्म गर्छन् र तिनका उत्पादनले ६ महिना धान्दैन र धानचामल तरकारी जस्ता सामान्य र अति आधारभूत कृषि उपज पनि हामी भारतबाट किनेर खान्छौं । यही नियती बदल्ने हो भने कृषिमा यान्त्रिकीकरण, व्यावसायीकरण जरुरी छ । निजी क्षेत्रले आयोजना गरेको मेलाले पनि पक्कै त्यसमा सघाउँछ नै । सरकारले नीति नियममा सहजीकरण गरी कृषिमा यान्त्रिकीकरण गर्न लागिपरेकाहरुलाई अनुकुल वातावरण बनाइदिन जरुरी छ । कृषिलाई सम्मानित पेसाको रुपमा विकास गर्न जरुरी छ ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया