पत्रकारलाई विषयवस्तु लेखन सिकाइँदै

समाधान संवाददाता २०८० पुष २३ गते ११:११

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले विषयवस्तु लेखन तालिम सुरु गरेको छ । आइतबारदेखि महासंघको सभाहलमा सुरु भएको तालिम सोमबारसम्म चल्नेछ । तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल छन् । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारहरुले आफ्नो अनुभव समेत सुनाउने छन् ।


आइतबार भएको सेसनमा पत्रकार मोदनाथ ढकालले मिडिया नीति बनाउनुपर्ने आवश्यकतालाई औंल्याए । उनका अनुसार समाजले अपेक्षा गरेका विषयवस्तु मिडियामा आउनुपर्छ । प्रतिस्पर्धाले मिडियामा कन्टेन्टको मागलाई सिर्जना गर्ने उनले बताए । पत्रकारमा सबैभन्दा महत्वपूर्ण कुरा लेख्न सक्ने खुबी हुनुपर्ने धारणा उनको छ । फन्डामेन्टल स्किल नै नभएको पत्रकार काम नभएको उनले उल्लेख गरे ।


‘पत्रकारले के लेख्न सक्छ त्यो महत्वपूर्ण हो,’ उनले भने, ‘तपाईंले सिर्जना गर्ने कन्टेन्टले तपाई बिक्नु हुन्छ ।’ सूचना खोज्न सक्ने खुबी पत्रकारमा हुनुपर्ने ढकालले बताए । स्रोतसँगको सम्बन्ध सबै भन्दा महत्वपूर्ण भएको भनाइ उनको छ । पढ्ने, हेर्ने, सुन्ने मान्छेले पत्रकारलाई पत्याउने गरी कन्टेन्ट तयार पार्नुपर्ने उनले बताए ।

Advertisement


पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विषयवस्तुको लेखन सम्बन्धि तालिम आवश्यक रहेकाले आयोजना गरिएको जानकारी गराइन् । ‘पत्रकारितामा आजको समय भनेको विषयवस्तुको खोजी हो,’ उनले भनिन्, ‘जसमा हामी कतिपय पत्रकार कमजोर छौं । यो तालिमले विषयवस्तुको पहिचान र छनोट गर्न सहज बनाउने छ ।’


भण्डारीले पत्रकारितालाई निखार्न विषयवस्तु सम्बन्धी २ दिने तालिम गरिएको बताइन् । पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले विषयवस्तु लेखन सम्बन्धी तालिमको आयोजना गरेर पत्रकार महासंघ कास्कीले सह्रानीय काम गरेको उल्लेख गरे । उनका अनुसार आजको समय विषयवस्तुको छनोट मूल कुरा हो ।

Advertisement


तालिम संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको तालिमको पहिलो दिन सोमबार पोखराका क्रियाशील पत्रकार भरत कोइराला (आदर्श समाज), केशवशरण लामिछाने (अन्नपूर्ण पोस्ट दैनिक/समाधान दैनिक), बासुदेव मिश्र (नेपाल खबर), दीपक परियार (कान्तिपुर दैनिक) ले आफ्नो अनुभव सुनाएका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया