तीन सिटका लागि गण्डकीमा आठको उम्मेदवारी

सञ्जय रानाभाट २०८० पुष २३ गते १८:१८

पोखरा ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट ३ जना चुनिनेछन् । तीन पदका लागि सोमबार प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा ८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये दुई सिटमा कांग्रेस र एक सिटमा माओवादीका तर्फबाट मनोनयन दर्ता भएको छ । कांग्रेसले अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ र अपांगता÷अल्पसंख्यक क्लस्टरमा तनहुँका पदमबहादुर परियारले मनोनयन दर्ता गरेका हुन् । महिला क्लस्टरमा माओवादीकी मनरुपा शर्माले मनोनयन दर्ता गरेकी हुन् । उनी पर्वत जिल्लाकी हुन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेले तीन वटै क्लस्टमा उम्मेदावरी दिएको छ । अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता÷अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार दिएका हुन् ।

Advertisement


यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदावरी दर्ता भएको छ । अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठले राप्रपाबाट उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ । गण्डकीमा अन्य, महिला र अपांगता÷अल्पसंख्यक गरी तीन क्लस्टरका एक–एकजनाको पद रिक्त हुँदै छ । सोही रिक्त पदमा हुने निर्वाचनका लागि दलहरूका उम्मेदवारले सोमबार आ–आफ्नो मनोनयन दर्ता गरेका हुन् । राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्यहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेको हो । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।


आसन्न राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यहरु र यो प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुन्छ । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ । मतभारको हिसाबले हेर्ने गण्डकीमा सत्ता गठबन्धनको पल्लाभारी छ ।
गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । यो प्रदेशमा ८५ पालिका छन् । पालिकाहरुबाट १ सय ७० मतदाता छन् । प्रदेशसभातर्फ ३ हजार १ सय ८० र स्थानीय तहतर्फ ३ हजार २ सय ३० मतभार छ । प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख÷उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेशम कुल मतभार ६ हजार ४ सय १० छ ।

Advertisement

स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना छन् । यसरी कांग्रेसको मतभार २ हजार ७ सय ४ छ । नेकपा एमालेका २२ प्रदेश सभा सदस्य, पालिका प्रमुख ३५ र उपप्रमुख ३३ जना छन् । एमालेको मतभार २ हजार ४ सय ५८ हुन आउँछ । १४३१ प्रदेशमा माओवादीसँग ८ प्रदेशसभा सदस्य, पालिका प्रमुख ११ र उपप्रमुख १९ जना छन् । माओवादी केन्द्रसँग ९ सय ९४ मतभार देखिन्छ । प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्य र १ नगर प्रमुख छन् । यहाँ समाजवादीसँग ७२ मतभार छ । प्रदेशसभामा प्रतिनिधित्व नरहेको राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख २ र उपप्रमुख १ हुँदा मतभार ५७ छ । २ प्रदेशसभा सदस्य रहेको राप्रपाको १ सय ६ मतभार छ । मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया