राष्ट्रिय सभा निर्वाचनमा जिताउन गठबन्धनको वैठक

समाधान संवाददाता २०८० पुष २४ गते १०:२६

पोखरा ।
राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सोमबार नेपाली काँग्रेस गण्डकी प्रदेशको सभाहलमा वैठक सम्पन्न भएको छ ।

Advertisement


वैठकले नेपाली काँग्रेसको नेतृत्व रहने नेपाली काँग्रेस गण्डकी प्रदेशको सभाहलमा आज भएको ५ दलिय गठबन्धनको वैठकबाट मूल आयोजक समिति र उपसमितिहरु गठन गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बाँस्तोला (मधु)ले जानकारी गराए ।


प्रवक्ता बाँस्तोलाका अनुसार नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज राज शर्माको संयोजकत्वमा निर्वाचन मूल समिति गठन भएको छ । जसको सदस्यहरुमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष किरण थापा, जनता समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष गोपाल गुरुङ र संसदीय दलका नेताहरु पदेन सदस्य रहने निर्णय भएको बताए ।


त्यसैगरी नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेकोको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा काँग्रेसको तर्फबाट माधवप्रसाद बास्तोला (मधु), नन्दप्रसाद न्यौपाने, माओवादीको तर्फबाट गुणाखर बस्याल, जगन्नाथ खनाल, कुशुम बुढा, नेकपा एकीकृत समाजवादीका तर्फ कृष्ण बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तर्फबाट रविमोहन ढकाल र नेपाल समाजवादी पार्टीका तर्फबाट चित्र सापकोटा रहेका छन् । वैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचार प्रसार गर्नका लागि जिल्ला जिल्लामा जाने निर्णय समेत गरेको प्रवक्ता बाँस्तोलाले बताए ।


त्यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका २ जना र नेकपा माओवादीको तर्फबाट १ जना उम्मेदवारले आज मनोनयन दर्ता गरेका हुन् ।

Advertisement


जसमा नेपाली काँग्रेसको तर्फबाट अन्यमा किरणबाबु श्रेष्ठ, अल्पसंख्यक वा अपांगतामा पदमबहादुर परियार र माओवादीको तर्फबाट महिलामा मनरुपा शर्माको उम्मेदवारी दर्ता भएको नेपाली काग्रेस गण्डकी प्रदेश सूचना सञ्चार तथा प्रचार–प्रसार विभागका उपप्रमुख शिरोमणि बरालले बताए।


वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेल, एकीकृत समाजवादी गण्डकी प्रदेशका स्थायी कमिटी इन्चार्ज तुलबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया