सम्पादकीयः कोभिडको नयाँ भेरियन्ट र स्वास्थ्य सुरक्षा मापदण्ड

समाधान संवाददाता २०८० पुष २५ गते १२:१५

छिमेकी देशमा फैलिएको कोभिड १९को नयाँ सब–भेरियन्ट नेपालमा पनि देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तर्गतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्ट जेएन. १ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सो भेरियन्ट देखिएको छ । यो सब भेरियन्ट नेपालमा पहिलो पटक भेटिएको हो । अहिले नयाँ सब–भेरिअन्टको संक्रमण पुष्टि भएका व्यक्तिहरू काठमाडौं पोखरा, चितवन, भक्तपुर, धनगढी लगायतका क्षेत्रका हुन् । यसअघि मन्त्रालयले १२ वटा नमुनाहरू परीक्षणका लागि पठाउँदा ती नमुनामा भने उक्त सब–भेरिअन्ट पुष्टि भएको थिएन ।

Advertisement


पछिल्लो समय यो सव भेरियन्ट भारतका विभिन्न प्रान्तमा देखिएको थियो । तीव्र संक्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको छ । सबभन्दा पहिला अमेरिकामा पहिलो पटक पत्ता लागेको यो भेरिअन्ट अहिले त्यहाँ सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र, १५ देखि ३० प्रतिशत संक्रमितहरूमा यो भेरिअन्ट देखिएको छ । नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले त्यहाँ देखिने संक्रमणहरु नेपालमा छिटो देखिने गरेको छ । नयाँ सब–भेरिअन्ट भेटिएपछि सरकारले कोभिड नियन्त्रणका लागि महामारीका बेलामा चालेका सबैखाले कदमहरू चाल्न सुरु गर्नु पर्छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार अहिले यसको जोखिमदर कम रहेको छ । यो भेरिअन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको छैन । तथापी जाडोयाममा श्वासप्रश्वास सम्बन्धी अन्य समस्या पनि बढ्ने गरेको छ । त्यसैले जाडो याममा संक्रमण बढाउन सक्ने भएकोले सतर्कता अपनाउन पर्छ । तर पनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई धेरै असर पर्नसक्ने भएकाले निगरानीलाई बढाउनुपर्ने देखिन्छ ।


नेपालमा सब–भेरिअन्ट जेएन.१ भेटिएपछि नेपाली नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ, निगरानी तथा कडाइ गर्नु आवश्यक छ । पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनः सक्रिय बनाएर काम गर्नु पर्छ । आम नागरिकले व्यक्तिगत रुपमा सतर्क र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नु पर्ने देखिन्छ ।


संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि सबै जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन ध्यान दिन पर्छ । यसअघि कोभिडको नयाँ सब–भेरिअन्ट हुनसक्ने लक्षणसहितका बिरामीहरू भर्ना हुनुपर्नेसम्मको अवस्थामा अस्पताल आइपुगेकोले उपचारको लागि आवश्यक चिकित्सक सहित अस्पतालको व्यवस्थापनमा जोड दिनु पर्छ । रुघाखोकी वा ज्वरोजस्तो कोभिडको लक्षण देखिएका बिरामी तत्काल स्वास्थ्य परीक्षण गर्नु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया