रुपा गाउँपालिकामा लोकल रक्सीलाई वैधता दिने कानुन !

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले स्थानीय मदिरा (लोकल रक्सी) वैधता दिई ब्रान्डिङ गर्ने कानुनको तयारी गरेको छ । त्यस सम्बन्धी विधेयक गाउँपालिकाको बिहीबार सुरु हिउँदे अधिवेशनमा पेस भएको छ ।
जनताले परम्परागत रुपमा प्रयोग गर्दै आइरहेको स्थानीय कोदो मार्फत बनाइने कोदोको रक्सीलाई व्यावसायिक रुपमा उत्पादन गर्न गाउँपालिकाको तर्फबाट कानुन बनाई लोकल रक्सीलाई ब्रान्डिङ गर्ने ऐन गाउँसभामा पास गरी आवश्यक संरचनाको तयारी गरिने जानकारी बिहीबार सुरु गाउँसभामा अध्यक्ष नवराज ओझाले दिएका हुन् । स्थानीय मदिरालाई मापदण्डअनुसार उत्पादन गरी कानुनी मान्यता दिन सके गाउँपालिकाका बेरोजागर महिला तथा युवाको रोजगारीमा टेवा पुग्ने विश्वास ओझाले व्यक्त गरे ।
‘विधेयक गाउँसभामा पेस गरेका छौं,’ ओझाले समाधानसँग भने, ‘छलफल गरी पारित गर्ने छौं ।’ उनले संघीय सरकारसँग समन्वय गरी स्थानीय मदिराको मापदण्ड र त्यसको गुणस्तर मापन गर्ने प्रयोगशाला लगायत संरचनाको तयारीमा जुट्ने जानकारी दिए । उनले मदिरामा लाग्ने कर अन्तशुल्कको विषयमा पनि संघसँगै समन्वय गर्नुपर्ने बताए ।
‘हाम्रो परम्परादेखि चल्दै आएको चिज, हाम्रा पूजाआजा र धार्मिक कार्यमा पनि आवश्यक छ र स्थानीय वस्तु नै प्रयोग गर्दा राम्रो हुन्छ भने किन नगर्ने भन्ने हो,’ अध्यक्ष ओझाले भने । स्थानीयले उत्पादन गरेको मदिरा अखाद्यवस्तु नहुनुपर्ने र मापदण्ड तथा गुणस्तर कायम हुनुपर्नेमा गाउँपालिकाले सोही अनुसार तयारी गर्ने पनि उनले बताए ।
लोकल रक्सीलाई ब्रान्डिङ गर्ने ऐन गाउँसभामा पेस, यसै पालि पास गर्ने र आवश्यक संरचनाको तयारी गरिने
गण्डकी प्रदेश सरकार पनि स्थानीय मदिरालाई वैधता दिने कानुनको तयारीमा छ । अरु प्रदेश सरकारहरुले पनि यो विषयलाई उठाएका छन् । तर अझैसम्म पनि त्यस्तो कानुन भने कहिँ बनिसकेको छैन । रुपा गाउँपालिकाले यसै वर्ष उक्त ऐन कार्यान्वयनमा लैजाने तयारी गरेको छ । मदिरासम्बन्धी कानुनी व्यवस्था पालिकाले गर्न सक्छ र ? भन्ने प्रश्नमा अध्यक्ष ओझाले सक्ने जानकारी दिए ।
रुपा गाउँपालिकाले यो वर्षको गौरवको योजनाका रुपमा एकघर एक घार मौरीपालन कार्यक्रमको कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ । मह उत्पादनमा उल्लेख्य रुपमा वृद्वि भई स्वरोजगार सिर्जना हुने विश्वास ओझाले व्यक्त गरे ।
अध्यक्ष ओझाले गाउँसभामा बताए अनुसार गाउँपालिकाको भवन निर्माणको टेन्डर अन्तिमा चरणमा छ । यसै वर्षमा निर्माणको काम सुरु गरिने उनले बताए । ‘शिवचण्डी मोटर बाटो गाउँपालिकाले नै बनाउने गरी डिपिआर र आइइईसमेत स्वीकृत गरी टेन्डरका लागि सबै प्रक्रिया पूरा गरिएको छ,’ उनले भने ।
देशकै अर्थतन्त्र खस्कँदो रहेको अवस्थामा रूपाबासीको समृद्धिलाई आत्मसात् गरी आर्थिक वृद्धिलाई सकारात्मक दिशामा अगाडि बढाइ उत्पादन र उत्पादकत्वमा वृद्धि गरी हितकारी कार्यक्रम र योजनाहरूको कार्यान्वयनमा ल्याइएको अध्यक्ष ओझाको भनाइ थियो ।
अध्यक्ष ओझाले गाउँपालिकाको तालबेशीको चोरगौंडा झोलुंगे पुल र रुपा १ को तिनढुंगे झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । ‘प्रदेश सरकार र संघीय सरकारको समपूरक योजना अन्तर्गत रुपाको रिङ्गरोड सडकको टेण्डर प्रदेश सरकारद्वारा अन्तिम चरणमा छ,’ उनले भने, ‘यसमा रामकोट, हंसपुर, हाँसपोखरी, ठूलीबेसी, स्यास्त्री, देउपुरबेसीदेखि पोल्याङटारसम्मका जनताहरुले सेवा पाउनेछन् । तालबेशी रामकोट सडकको काम अगाडि बढिरहेको छ भने रुपाताल परियोजनाको काम द्रुत गतिले अगाडी बढिरहेको छ ।’
गाउँपालिका अन्तर्गत रहेको १५ शड्ढयाको रुपाकोट अस्पताल निर्माणको डिपिआर मन्त्रालयबाट रिभ्युको चरणमा रहेको पनि अध्यक्ष ओझाले सुनाए ।
सभामा बताइएअनुसार सम्पूर्ण वडाहरुबाट व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत सञ्चालनमा आएको, २०८८ घरधुरी किसान सूचीकरण प्रणालीमा प्रविष्टि भएको, विभिन्न वडाहरुमा गरी ३३ हजार केजी खायन आलु बिउ यस वर्ष पनि वितरण गरिएको छ ।
विभिन्न वडाहरुमा गरी ५ वटा रसायनिक मल वितरण डिपो सिफारिस गरिएको पनि सभामा सुनाइएको थियो । ‘कृषकको फोनकै आधारमा गोठ, खोरमा नै गई पशुपंक्षीहरुको मेडिकल उपचार सेवा ४३८, माइनर सर्जिकल उपचार २३८ र गाइनोकोलोजिकल उपचार २६ वटा गरिएको छ,’ ओझाले भने ।
पालिकामा हालसम्म दर्ता भएका ९४ वटा विभिन्न प्रकृतिका मुद्दामध्ये ८७ मुद्दाहरु मेलमिलाप र निरुपण भएको, ३ वटा मुद्दाहरु प्रक्रियामा रहेको ४ वटा मुद्दाहरु फिर्ता भएको जानकारी पनि अध्यक्ष ओझाले दिए ।
‘स्वास्थ्य संस्थाहरुमा एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई डिजिटाइजेसनका लागि अभिमुखीकरण तालिम, स्वास्थ्य कार्यक्रमहरुको मासिक समिक्षा एवं कार्ययोजना तयार, गर्भवती महिलाहरुलाई क्याल्सियम खरिद तथा वितरण, प्रजनन रुग्णता सम्बन्धी रुपाकोट अस्पताल र देउराली स्वास्थ चौकीमा शिविर सञ्चालन कार्यक्रमहरु सम्पन्न भएका छन्,’ उनले भने, ‘आव २०८०/८१ का लागि आवश्यक औषधी एवं औषधीजन्य सामाग्रीहरुको खरिदका लागि विद्युतीय बोलपत्र आह्वान गरिएकोछ । नियमित स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ ।’
रुपाले भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोबासी भएका माग निवेदन अनुसार जम्मा भूमिहीन सुकुम्बासी ७५ र अव्यवस्थित बसोबासी ५३८ फारमहरु संकलन भई निस्सा वितरणको प्रक्रियामा लगेको छ । गाउँपालिका भित्रका जग्गा वर्गीकरणको काम तिब्र रुपमा अगाडि बढेको छ ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया