पोखरा महोत्सव सुरु

समाधान संवाददाता २०८० पुष २७ गते ६:३१

पोखरा ।
बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि अमरसिंहचोक चौरमा महोत्सव सुरु भएको हो । महोत्सवको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे ।

Advertisement


सभामुख घिमिरेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताए । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद भएको उनको भनाइ थियो ।


‘अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण स्थानीय, प्रदेश र केन्द्र सरकारले पत्ता लगाइ पोखरेली जनतालाई जानकारी दिनुपर्छ,’ उनले भने, ‘के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो, यसमा सरकारले जनतालाई जानकारी दिनुपर्छ ।’

Advertisement


सभामुख देवराज घिमिरेले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई आफ्नो गौरवको योजनामा लिएर अगाडि बढिरहँदा सो काम पनि छिटो सम्पन्न गरी पोखरामा खुला चिडियाखाना सञ्चालन गर्नसमेत गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । सभामुख घिमिरेले महोत्सवको माध्यमबाट युवाहरुलाई देश विकासमा लगाउन सकिन्छ भन्ने कुरा युनाइटेड क्लबले उजागर गरेको बताए ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण सरकारले दिनुपर्छ: सभामुख घिमिरे

Advertisement


गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले राज्यको पहुँच नपुगेको क्षेत्रमा सामजिक काम गरी जनतालाई सहयोग गरेको सुनाइन् ।


प्रतिनिधि सभा सदस्य शिव नेपालीले अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्र्चीले पोखरा महोत्सवले देको कला संस्कृति बचाउने अपेक्षा गरे ।


गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवहरुका बीचमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए । गुरुङले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन सभामुख समक्ष आग्रहसमेत गरे ।


गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लबले गरेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेको विश्वास व्यक्त गरे ।


पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममार्फत उत्कृष्ट काम गरेको सुनाए । अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले पोखरा महोत्सव आफैमा ब्रान्ड बनिसकेको बताए ।


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखे । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथि प्रकाश पारे ।


यसअघि पोखरा रंगशाला गेटबाट सुरु भएको झाँकीमा ३ सय संघसंस्थाको सहभागिता रहेको दाबी आयोजकको छ । महोत्सवमा बिहीबार लोकदोहोरीतर्फ जीवन दाहाल, शिवहरि ढुंगाना, गगन गुरुङ, लक्ष्मी नेपाली, सरिता सारु मगर लगायतको प्रस्तुति थियो । साँझको लाइभब्याण्ड तर्फ दृश्य र ट्रयाङ्क्युलको प्रस्तुति थियो ।


महोत्सवमा शुक्रबार लोक दोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरि ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योति लोहोनी, पूजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुति रहने छ भने साँझको लाइभ ब्यान्डतर्फ स्थानीय ब्याण्डहरु ब्ल्याक फेदर प्रोभर्वस ब्ल्याक ओको प्रस्तुति रहने महोत्सवका प्रचारसंयोजक दिनेश सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया