सफल पोखरा म्याराथनसँग रोटरीको प्रायोजनको सम्झौता

समाधान संवाददाता २०८० पुष २९ गते ९:१७

पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रिक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । फागुन ५ गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष २ लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने २ पक्ष बिच पोखरामा सम्झौता भएको हो ।

Advertisement


मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रबद्र्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा जोडिदै आर्थिक र सामाजिक पाटर्नरको रुपमा रहेको बताए ।


निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा प्रोजक्टमार्फत प्रस्तुति दिएका थिए । उनले रोटरीसँगको समन्वय महत्वपूर्ण रहेको बताए । गुरुङले रोटरीको क्षेत्र फराकिलो भएकाले यसले म्याराथनलाई आर्थिक, नैतिक र भौतिक रुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए ।

Advertisement


रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले खेलकुदमा प्रतिष्ठित संस्था भूतपूर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाए । उनले रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडिँदा थप उचाई बढेको बताए । ध्वजुले रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र म्याराथनमा समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताए ।


रोटरीले फागुनमा पोखरा सम्मेलन गर्न लागेको र देशभरका रोटरियन पोखरा आउने भएकाले ठूलो समूह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता उनले व्यक्त गरे गरे । मञ्चसँगको सम्बन्धलाई आगामी वर्षहरुमा निरन्तरता दिँदै जाने उनको भनाइ थियो । उनले देशभर रहेका रोटरी क्लबहरुमा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार गर्ने समेत बताए । मञ्चका द्वितीय उपाध्यक्ष खेम गुरुङले २ संस्थाबिचको सम्झौताले एक आपसमा सहयोग आदानप्रदान हुने बताए । उनले म्याराथनलाई सफल बनाउन थप इट्टा थप्ने काम भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया