भलिबल खेलाडी गुरुङ सम्मानित

पोखरा ।
राष्ट्रिय भलिबल टिमकी खेलाडी लक्ष्मी गुरुङ बाटुलेचौरमा सम्मानित भएकी छिन् । हिमालय क्लबको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा क्लबद्वारा स्थापित स्व उदयबहादुर बस्नेत स्मृति भलिबल खेलाडी पुरस्कारबाट गुरुङलाई सम्मान गरिएको हो ।
गुरुङलाई स्व उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेश कुमारी बस्नेत, क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ, मानार्थ सदस्य कुमार खड्काले सल, प्रमाणपत्र र नगद १० हजार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि तामाङले भलिबल खेलबाटै उदाएको क्लबले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।
क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बेनीबहादुर बस्नेत, निवर्तमान अध्यक्ष मोहन थापा, पूर्व अध्यक्ष ताराप्रसाद तिमिल्सिना, सहसचिव तुलबहादुर बस्नेत, सहकोषाध्यक्ष लक्ष्मी पौडेल लगायतले बोलेका थिए । कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रम सञ्चालन सचिव शिवराज देवकोटाले गरेका थिए ।
तपाईको प्रतिक्रिया