तीन गाउँले थकालीले मनाए नयाँ वर्ष

समाधान संवाददाता २०८० पुष २९ गते ११:३२

जोमसोम ।
मुस्ताङको घरपझोङ ३ स्याङका तीन गाउँले थकालीले शुक्रबार थकालीको नयाँ वर्ष ढुक्ल्हो अर्थात ड्रागन वर्ष मनाएका छन् । स्याङ गाउँ समाजको आयोजना तथा आदिवासी जनजाती गैरसकारी संस्था महासंघ नेपालको सहआयोजनामा विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो ।

Advertisement


योसँगै तीन गाउँले थकाली समुदायको ढुक्ल्हो (ड्रागन) वर्ष शुक्रबारदेखि सुरु भएको छ । सो अवसरमा मुस्ताङका तीन गाउँले थकालीले आपसमा खुसीयाली साटासाट गर्दै धर्म, संकृति र परम्परा लोप हुन नदिन विभिन्न अभ्यास गरे । उनीहरुले पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको थकाली भाषा, सभ्यता र मौलिक संस्कृतिबारे चिन्तन गरेको गाउँ मुखिया आशबहादुर थकालीले बताए ।


कार्यक्रममा स्याङ गाउँका थकालीले त्युङ्ला पर्वमा गाइने थकाली गीत, थकाली भाषा अनुवाद प्रतियोगिता, थकाली भेषभूषा प्रदर्शन तथा थकाली नृत्य, उन कात्ने, फालो पर्वमा देखाइने नाटक र परम्परागत तारो हान्ने खेल भएका थिए ।

Advertisement


बढ्दो आधुनिकता, बसाइसराइ र विदेश पलालयन कारण भाषा साहित्य र संस्कृति लोपोन्मुख अवस्थामा रहेकाले पूरापूर्व कालदेखि संस्थागत रुपमा विकास भएको थकाली समुदायको पहिचान जोगाउन आवश्यक रहेको घरपझोङ ३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले उल्लेख गरे । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत ठिनी, स्याङ र चिमाङमा बसोबास गर्ने थकालीलाई तीन गाउँले थकाली समुदायको रुपमा स्थापित गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया