टाइगर कप आजबाट

समाधान संवाददाता २०८० माघ १ गते ११:०६

पोखरा ।
चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र केही सहभागी टिममा विदेशी खेलाडीसमेत सम्मिलित छन् ।


सोमबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ६ गतेसम्म खेल हुनेछ ।


देशकै ठूलो धनराशि पुरस्कार भएको प्रतियोगिताको उद्घाटन खेल दिउँसो साढे १ बजे हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा करिब १० हजार क्षमताको प्यारापिट तयार गरिएको बताए ।

Advertisement


सहभागी सबै महिला तथा पुरुष टिमका खेलाडी पोखरा आइसकेका छन् । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुने छन् ।


नेपाल भलिबल संघको स्वीकृतिमा हुने कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमन्ड स्पोर्टस क्लब, गण्डकी प्रदेशसँगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् ।

Advertisement


पुरुषतर्फ श्रीलंकाको आर्मी टिम पनि पहिलो पटक पोखरा आएको छ । हेल्प नेपाल स्पोर्टस क्लबले समेत तीन पाकिस्तानी खेलाडी भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ संगै तीन विभागिय टोलीले सहभागिता जनाउने छन् ।


लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन माघ १ गते ३ गतेसम्म हरेक दिन महिलातर्फ दुई र पुरुषतर्फ गरी चार खेल हुनेछन् । महिलातर्फ पहिलो दिन माघ १ गते विभागिय टोली एपिएफ क्लवले नेपाल पुलिस क्लबको सामना गर्ने छ भने दोस्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबका बिच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्हमा दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका बिच हुनेछ ।


माघ २ गते महिलातर्फ महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लब र हरियाणा टिम भारतका बिच हुनेछ । पुरुषतर्फको पहिलो लिग खेल श्रीलंका आर्मी टिम र एपिएफ क्लब तथा दोस्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवसँग हुनेछ ।


३ गते महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेश खेल्नेछन् । दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड क्लबले हरियाणा पुलिस क्लबको सामना गर्नेछ । यता पुरुषतर्फ सोही दिन लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिम र दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश आमनेसामने हुनेछन् ।


४ गते महिला र पुरुष दुबैतर्फ समीफाइनलका खेल सञ्चालन हुनेछन् भने माघ ५ गते तेस्रो र चौथो हुने टिमको टुंगो लाग्नेछ । माघ ६ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने छन् ।


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई जनही नगद २५ हजार र ट्रफी प्रदान गरिनेछ ।


अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई एक्सटेपको १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अध्यक्ष शर्माले विश्वास व्यक्त गर्दै सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।


प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोबाइल प्रदान गरिने भएको छ । प्रतियोगिता गर्न १ करोड १५ लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया